गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी लैजान प्रधानमन्त्रीको आग्रह

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी लैजान आग्रह गरेका छन् ।

‘कोप २६’ विश्व सम्मेलनमा भाग लिन बेलायत आइपुगेका प्रधानमन्त्री देउवाले आज नेपाली दुताबास लण्डनमा गैरआवासीय नेपाली संघ युकेका पदाधिकारीहरु तथा सदस्यहरुसितको कार्यक्रममा सो आग्रह गरेका हुन् ।

उनले नेपालमा लगानी लैजानका लागि विद्यमान अफ्ठेराहरुलाई समाधान गर्ने पनि आश्वासन दिए । लगानीकर्ताहरुलाई नेपालमा प्रवेशाज्ञा लगायतका समस्याका बारेमा सरलीकरण गरिने पनि उनले वचन दिए ।

संसारका विभिन्न ठाउँमा नेपालीहरुले इमानदारितापूर्वक काम गर्छन् भन्ने परिचय बनिसकेको उल्लेख गर्दै उनले बेलायतमा रहेका नेपालीहरुलाई पनि सोहीअनुसार काम गर्न अपील गरे ।

गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा बेलायती सांसदहरुसित पनि कुरा उठाइसकेको र बेलायती सरकारी तथा संसदीय टोलीसित आफूले कुरा राख्ने जानकारी उनले दिए । गोरखाहरुको हकहितका लागि सरकार हर हालतमा लागि पर्ने पनि उनले दृढता व्यक्त गरे ।

बेलायतबाट नेपालमा कोरोना नियन्त्रणका लागि गरिएको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी चैत सम्ममा नेपाल कोरोनामुक्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली स‌ंघ युकेका अध्यक्ष प्रेम गाहा, एनआरएनए आइसिसी सल्लाहकार कुल आचार्य, युके संरक्षक शेर सुनार, एनसिसी युकेका उपाध्यक्ष गोविन्द खरेल लगायतले बोलेका थिए । सो अवसरमा एनआरएनए युकेका तर्फबाट ज्ञापन पत्र पनि बुझाइएको थियो ।

यसैबीच प्रधानमन्त्री देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् । समाजका अध्यक्ष तथा नेपालका लागि बेलायतका पूर्व राजदुत आन्ड्रयू स्पार्कको नेतृत्वमा आएको प्रतिनिधि टोलीले समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो । प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन समाजलाई सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभयो । भेटमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत भ्रमणदलका सदस्य सहभागी हुनुुहुन्थ्यो ।

यस्तै, प्रधानमन्त्री देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ । नेपाली राजदूतावासमा भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री देउवासित शनिबार नै बेलायतस्थित नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिको प्रतिनिधि टोलीले पनि भेट गरेको छ ।

तस्वीरहरु रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री