ग्लास्गो पुगे देउवा, ‘कोप २६’ लाई आज सम्बोधन गर्दै

फाइल फोटो

स्कटल्याण्ड । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ग्लास्गो पुगेका छन् ।

प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट हवाइ उडानमार्फत स्कटल्याण्डको इडिनवरा हुँदै ग्लास्गो पुगेका हुन् ।

देउवा सोमबार दिउँसो हुने सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुने र सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

शिखर सम्मेलनमा प्रधानमन्त्री देउवाले पेरिस सम्झौताको कार्यान्वयनमा नेपाल दृढतापूर्वक प्रतिबद्ध भएर लागेको र जलवायु परिवर्तनका जोखिम घटाउने राष्ट्रय नीति योजना र कार्यक्रमबारे जानकारी गराउनुहुनेछ ।

सम्मेलनलाई नेपालले जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्यका लागि महत्वपूर्ण अवसरको रुपमा लिएको प्रधानमन्त्रीले बताउने र यही कात्तिक ११ गते मन्त्रिपरिषद् बैठकबाट ‘नेपालको राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०)’, ‘खुद शून्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति’ र ‘जलवायुजन्य हानी नोक्सानीसम्बन्धी राष्ट्रिय कार्यढाँचा’ महत्वपूर्ण कार्ययोजना पारित गरेको जानकारी गराउनु हुने छ । यी नीतिगत दस्तावेज र कार्ययोजना अन्तर्राष्ट्रिय समुदायसँग समन्वय, सहकार्य र ज्ञानसीप आदानप्रदानका लागि सम्मेलनमा समेत उच्च प्राथमिकताका साथ प्रस्तुत गरिनेछन् ।

सम्मेलनमा प्रधानमन्त्री देउवाले सन् २०४५ सम्ममा नेट शून्य उत्सर्जनमा पुग्ने लक्ष्यसहितको नेपालको राष्ट्रिय प्रतिबद्धताका बारेमा अवगत गराउनुहुने बुझिएको छ । नेपालले कूल ऊर्जाको मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट आपूर्ति गर्ने र सन् २०३० सम्ममा मुलुकको ४५ प्रतिशत वनअन्तर्गत राख्ने सुनिश्चिता गरेको छ ।

यस्तै स्थानीय जलवायु कार्यलाई समर्थन गर्न उपलब्ध जलवायु वित्तको कम्तीमा ८० प्रतिशत खर्च गर्ने नेपालको नीति छ । प्रचुर मात्रामा जल, वन र जैविक विविधताका स्रोतले नेपाल यस क्षेत्रमा स्वच्छ, हरियाली र प्रकृतिमा आधारित जलवायु समाधान बाँडफाँट गर्न अग्रणी हुनसक्ने अपेक्षा गरिएको छ ।

साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ । भ्रमणका दौरान उहाँले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सोही दिन उहाँले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्नुहुनेछ ।
अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री