बेलायतमा पनि घरधनीले थाहै नपाई घर बिक्री

बेचिएको घर । तस्वीर बीबीसी

लण्डन । नेपालमा वास्तविक धनीले थाहै नपाई घर जग्गा बिक्री हुने गरेको घटना नौलो होइन तर बेलायतमा पनि घर धनीले थाहै नपाई अरुले नक्कली घरधनी बनी घर बिक्री गरेको पाइएको छ ।

माइक हलको घर लुटोनमा थियो तर उनी कामको सिलसिलामा बेलायतकै उत्तरी वेल्समा बसोबास गर्दथे । एकदिन उनका छिमेकीले उनको घरमा कोही पसेको र बत्ती बलेको बताएपछि उनी भोलिपल्ट आफ्नो घर आए । घरको मूलढोका उनको साँचोले खुलेन । घरभित्र काम गर्दै गरेका व्यक्तिले उनलाई ढोका खोलिदिए । ढोका खोल्ने व्यक्तिलाई पन्छाउँदै उनी घरभित्र पसे । त्यहाँको दृश्य देखेर उनी चकित भए । उनका फर्निचरहरु, कार्पेट, पर्दा सबै हटाइएको थियो ।

‘मैले यो घर बेचेको छैन । यो मेरो घर हो’ उनले काम गर्दै गरेका मानिसलाई भने । उनले प्रहरीलाई पनि फोन गरे । उता घरमा काम गरिरहेका व्यक्तिले भने नयाँ घरधनीका बाबुलाई लिएर आए । नयाँ घरधनीका बाबुले उनलाई सो घर आफूले जुलाई महिनामा किनेको र अनुमतिबिना अर्काको घरभित्र पसेकोमा पुराना घरधनीलाई घरबाहिर निस्कन भने ।

सो स्थलमा आएका प्रहरीले पनि सो घर किनबेचमा घोटाला नभएको र प्रहरीले केही गर्न नसक्ने बताए । प्रहरीले उनलाई घरबाट बाहिर निस्कन र यो विषय आपराधिक विषय नभएकाले वकिललाई सम्पर्क गर्न सुझाव दिए । उनले प्रहरीलाई अनलाइनबाट सम्पर्क गरे तर जवाफ उही आयो ।

‘जब प्रहरीले आपराधिक घटना नभएको बतायो त्यो मलाई विश्वास गर्नै गाह्रो परिरहेको थियो’ हलले भने ।

बीबीसीले सो घटनाका बारेमा अनुसन्धान गर्दा हलको परिचयपत्र चोरी गरी उनको घर बिक्री गरेको पाएको छ । बीबीसीका अनुसार सो घटनाको अहिले बेडफोर्डसायर प्रहरीको फ्रड स्क्वाडले अनुसन्धान गरिरहेको छ । तथापि अहिलेसम्म कसैलाई गिरफ्तार भने गरिसकिएको छैन ।

बीबीसीको अनुसन्धानबाट हलको सवारीचालक अनुमति पत्र प्रयोग गरी नक्कली व्यक्ति बनी बैँक खाता खोलिएको पाइएको छ जसमा घर बिक्रीवापतको पैसा जम्मा भएको थियो । यसैगरी हलको फोनको रेकर्ड पनि चोरिएको पाइएको छ ।

नयाँ घरधनीले सो घर १ लाख ३१ हजार पाउण्डमा किनेको पाइएको छ र ल्याण्ड रजिष्ट्रीमा अगष्ट ४ का दिन नयाँ घरधनीको नाममा सो घर दर्ता भएको भेटिएको छ ।

सो घरको बिक्रीमा संलग्न सोलिसिटर फर्मले यो विषय अहिले प्रहरीको अनुसन्धानमा रहेको भन्दै बीबीसीलाई प्रतिक्रिया दिन मानेनन् । उनले प्रहरीको अनुसन्धानलाई पूर्ण सहयोग गर्ने र व्यावसायिक धर्म पालना गर्ने बताए ।

ल्याण्ड रजिष्ट्रीले गतवर्ष मात्र घोटाला गरी बिक्री गरिएको घरजग्गाका लागि साढे तीन मिलियन पाउण्ड क्षतिपूर्ति दिनुपरेको बताएको छ ।

घरजग्गा किनबेचमा कसैले जालझेल घोटाला गरेर बिक्री गरे नगरेको हेर्ने कन्भेयान्सर र वकिलहरुको कार्य क्षेत्रभित्र पर्दछ ।

हरेक वर्ष सानो संख्यामा जालझेल गरेर नक्कली घरधनी बनी अर्कैको घरजग्गा बिक्री हुने गरेको ल्याण्ड रजिष्ट्रीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री