अस्ताउन लागेको एउटा जुन

घर छेउमा एउटा सानो करेसाबारी थियो । बेलायती हिउँदले बिदा लिएपछि करेसाबारीका बिरुवाहरुमा स-साना पातका मुनाहरु पलाउन थालेका थिए । हिउँदमा पात झर्ने र वर्षामा पलाउने प्रकृतिको नियमलाई मानवले खास्सै तोडमोड गर्न सक्त्तै सक्त्तैनन् । त्यसबेला मार्च महिनाको समय थियो । मार्चको पारिलो घामसँग बरालिदै मेरा पाइतालाहरु एकदिन बानबुरी-अक्सफोर्ड नहरमा पुगेर ठोकिएका थिए । आइरिस सागरबाट उत्पन्न हुने चिसो बतास नहरसँग लुकामारी खेल्दैखेल्दै अक्सफोर्डसायरसम्म आइपुग्दथ्यो । त्यसैले बिहानीको मौसम निक्कै चिसो हुन्थ्यो । तिनै चिसो मौसमको कुनै पर्वाह नगरी आधाघण्टा जति हिँडेर म बानबुरी रेल स्टेसनमा टुप्लुकै झुल्केको थिएँ ।

बानबुरी रेल स्टेसनमा पुग्दा जाडोले मेरो नाकबाट तपतप सिँगान चुहिरहेको थियो । घाँटीमा झुण्डिरहेको गलबन्दीले सिँगानलाई स्वाट्टै एकचोटी पुछेँ । र, सुस्तरी पर्खालको भित्तामा रहेको घडीतर्फ दृष्टीगोचर गरें । भित्ते घडीले बिहानीको समय ९ बजाएको थियो । घडीदेखि नजर हटाएपश्चात् दुई/चार कदम अगाडि बढेँ र कसैलाई हेर्दै नहेरी खुरुखुरु स्टेसनको सिँढी चढ्न थालें । त्यसरी सिँढी चढ्ने क्रममा अनायसै मेरो मनमा रिचार्ड ट्रेभिथिकको बेस्सरी याद आयो । किनभने उनी तिनै महामानव हुन् । जस्ले करिब २ सय ५० वर्ष पहिले फलाम बोक्नको लागि पहिलो चोटी ‘लोकोमोटिभ’ इन्जिनको निर्माण गरेका थिए । त्यस्को विकसित रुप नै आज विश्वभरि पाइने आरामदायी रेलको मुख्य श्रोत हुन् भन्ने मनमनै सोचें ।

केहीबेरमा म रेल स्टेसनको माथिल्लो तलामा पुगेको थिएँ । माथि पुग्ने बितिक्कै मेरो नयनहरु स्टेसी डाल्टनको नयनहरुसँग मज्जाले साटिन पुगे । उनी लगभग साँढे पाँच फिट जति अग्ली थिइन् । त्यहीमाथि टलक्कै टल्कने चम्किलो मुहार, कैली केस, घुर्माइलो आखाँ, बुभूक्षित ओष्ठ र पातलो शरीरमा बेस्कन उठेको एकजोडी आकर्षक छातीले मेरो मात्र होइन यस धर्तीमा भएका हरेक युवाहरुको ध्यान सजिलै खिच्न सक्दथिन् । उनी एल्सबरी भन्ने सानो अङ्ग्रेजी गाउँमा जन्मेर हुर्केकी थिइन् । तैपनि रोजिरोटीको लागि हरेक दिन बानबुरी धाउने गर्दथिन् ।

उनको युनिफर्म पूरै नीलो रङ्गको थियो र छातीदेखि सुरु भएर घुँडासम्म पुगेर सकिन्थ्यो । त्यति लोभलाग्दो शरीरकी धनी स्टेसीको मुख्य काम स्टेसनको गेटमा उभिएर यात्रुहरुको टिकट जाँच गर्नु नै हो । तर जतिबेला उनी टिकट जाँच्नमा ब्यस्त हुँन्थिन्, त्यतिबेला आफ्नो जीवन सङ्गिनीहरुसँग शारिरीक सम्पर्क गर्न नपाएका पापी नयनहरु उनको जिउडाल भरी नाचिरहेका त्यसबेला दृश्य गर्न सकिन्थ्यो ।

समय समयमा सौचालयको प्रयोग र चिया छुट्टीको बेला उनले मानिसहरु छिर्ने गेटहरुलाई ह्वाङ्गै खुला छाडेर जान्थिन् नत्रभने बिहानको ६ बजेदेखि दिउँसोको २ बजेसम्म यात्रीहरुसँग गल्याङमल्याङ गर्न उनको दिनचर्या जस्तै थियो । हुनत रेल स्टेसनमा यात्राको लागि खरिद गरिएका टिकट छिराउने बितिक्कै आफैँ खोलिने केही स्वचालित गेटहरु पनि स्टेसनमा उपलब्ध थिए । तैपनि कतिपय समयमा स्वचालित गेटले झन्झट दिइरहने गर्थ्यो । त्यसैले यात्रीहरु मधुर मुस्कानसहित उनको सामू पुगी हाल्ने गर्दथे ।

हरेक बिहान नक्कली मुस्कान लिएर बाँच्न पर्ने स्टेसी उनको जिन्दगीसँग पटक्कै खुसी थिइनन् । तर अफसोच बेलायती जीवनशैली अन्य अविकसित राष्ट्रहरुको भन्दा बिल्कुल फरक रहेका छन् । त्यसैले १८ वर्ष पार गरेका हरेक युवायुवतीहरु आफ्नो परिवारदेखि निस्केर घर बाहिर बस्ने गर्दछन् । त्यसरी आफूखुसी बस्नुपर्दा खान र लाउनको लागि सबैकुरो आफैँले व्यवस्था गर्नु पर्ने हुन्छ । तिनै बाध्यात्मक परिस्थितिले गर्दा उनको मुहारमा सदैव कालो बादल मडारिरहेको देखिन्छ । तिनै मलिन मुहारलाई मैले विगत एक वर्षदेखि राम्ररी नियालिरहेको थिएँ । तर त्यसदिन उनको कानको नजिकै पुगेर सुटुक्कै –

“स्टेसी ! ठिक्कै त छ नि, होइन ?” सानो स्वरमा भनें ।

“खै ! ठीक कि बेठीक भन्नु जेनतेन बाँचिरहेको छु,” छोटो उत्तर फर्काइन् ।

उनको कुरो सुनेर मलाई दोश्रोचोटी बोल्न पटक्कै मन लागेर आएन । त्यसैले सरासर मेरा कदमहरु अगाडि बढाएँ । उनी सधै उभिरहने गेटभन्दा करिब ५० मिटर जति टाढा तर ठीक विपरित दिशामा मानिसहरु छिर्ने अन्य गेटहरु पनि रहेका छन् । गेटहरु त्यहाँ राख्नको मुख्य कारण कुनै कुनै यात्रीहरुले तलैतला भएको कार पार्कमा कार पार्क गरेर तिनै गेटहरुको प्रयोग गरेर स्टेसनभित्र छिर्ने गर्दछन् ।

गेटहरुको कुनामा एउटा सानो रेलको कार्यालय रहेको छ । कार्यालयदेखि एकजना एसियन मूलका मानिसले हरेक बिहान टिकट बिक्री गर्ने गर्दछन् । उनको बोलिको लवज, रुप र रङ्ग हेर्दा निश्चय पनि दक्षिणी भारत वा श्रीलङ्कादेखि आएको हुनुपर्छ भन्ने मैले ठम्याएको थिएँ । तर हेर्दै सधैँ बेखुसी देखिने ती कर्मचारीसँग धेरै यात्रुहरु उनको नजिक जाने प्रयत्न गर्दैनथे । बरु उनको सामुन्ने रहेको स्वचालित भेन्डिङ् मेसिनदेखि खुन्द्रुङ्गै टिकट आफैँ झार्ने गर्दथे ।

स्टेसनको माथिलो तल्लामा केही समय नष्ट गरेपछि सुस्तरी कदम चाल्दै मुनी तलामा रहेको प्लेटफर्ममा झर्न सुरु गरेको थिएँ । बानबुरी स्टेसनको मुनी तलामा जम्मा ४ वटा प्लेटफर्महरु रहेका छन् । प्लेटफर्म २ देखि प्रायजसो रेलहरु बर्मिङ्घाम र म्यानचेष्टर सहरतर्फ जान्छन् भने प्लेटफर्म ३ देखि बर्नमाउथ र लण्डनतर्फ जान्छन् । म्यानचेष्टर र बर्नमाउथ जोडने रेल वे कम्पनी चाहिँ क्रसकन्ट्री रेल वे हो ।

तर म चाहिँ बर्मिङ्घामदेखि लण्डन जाँदै गरेको रेललाई समात्न गइरहेको थिएँ । त्यसरी रेल लण्डन जाने क्रममा हाइवेकम सहरदेखि नजिकै रहेको एउटा रमाइलो डाँडा पार गर्नुपर्दछ । त्यो डाँडाको नाम ‘चिल्टर्न पर्वत’ हो र त्यसै डाँडाको सम्झनामा त्यस रेल वे कम्पनीको नाम चिल्टर्न भनेर स्थापना गरिएको छ । अहिलेसम्म ३२ वटा रेल स्टेसनहरु रहेको चिल्टर्न रेलले बेलायती ठूलो बाटो एम ४० को काखैकाख भएर सन् १९९६ देखि क्रमशः सेवा प्रदान गरिरहेको छ ।

त्यसबेला बिहानको समय ९ बजेर ३३ मिनेट गएको थियो । ठीक समयमा चिल्टर्नको एउटा रेलले मेरो सामुन्ने आएर हाजिर दियो । रेल रोकिने बितिक्कै म हतारहतार दोश्रो डिब्बामा चढिहालें । त्यसपछि दुई-चार कदम अगाडि बढेँ र झ्यालको छेउमा पुगेँ । अनि कसैलाई हेर्दै नहेरी बायाँ सिटमा थपक्कै बसें । रेलभित्रका यात्रीहरु यस्सै पातलो थिए । त्यसैले धेरैजसो सिटहरु खाली नै देखिन्थ्यो । म सिटमा बसेको मात्र के थिएँ प्लेटफर्ममा उभिरहेकी लुसी बेकरले तिरिरी सिठी फुकी हालिन् र रेललाई हिँड्ने संकेत गरिन् ।

उनले सिठी बजाएर संकेत दिने बितिक्कै रेलले आफ्नो गति लिन थाल्यो । रेल हिँडेको केहीबेरमा सय किलोमिटर प्रतिघण्टाको गतिमा दगुर्न सुरु गर्यो । र, एक्कैछिनमा किङ्स सटन उपत्यकालाई पार गर्यो । अनि उत्तर बिष्टर स्टेसनमा पुगेर घन्द्रङ् आवाज निकाल्दै रोकियो । उत्तर बिष्टरमा रेल रोकिने बितिक्कै मेरो अगाडि र पछाडि डिब्बामा बसेका हुलका हुल चिनियाँ यात्रुहरु खाली सुटकेस गुडाउँदै रेलदेखि बाहिर निस्किन थालेको रमाइलो दृश्य देखा पर्यो ।

एक्कैछाँटका तर त्यति धेरै विद्यार्थी यात्रुहरु देखापर्दा मलाई जिन्दगीप्रति थोरै लोभ लागेर आइरहेको थियो । तर के गर्ने मेरो जिन्दगी लगभग सल्केर सकिन लागेको चुरोटको अन्तिम सर्को झैँ थोरै मात्र बाँकी रहेको थियो ।

हुन त यस धर्तीमा भएका हरेक मानिसहरु उनीहरु जस्तो भाग्यमानी के हुन सक्थे होला र ? अझै लिभरपुल, म्यानचेष्टर र बर्मिङ्घाम युनिभर्सिटीमा अध्ययन गर्ने अवसर के पाउन सक्थे होला र ? साँच्चै अचम्मै भएको छ । केही वर्षदेखि यता चीनले आर्थिक अवस्थामा अचाक्ली सुधार गरेको छ । त्यसैले विद्यार्थीहरुसँग प्रशस्त पैसा भएको हुनाले त्यति टाढादेखि उनीहरु बिष्टर भिलेजमा समान खरिद गर्नको लागि आउने गर्दछन् । बिष्टर भिलेज डिजाइनर दोकानहरुको व्यवस्थापन चाहिँ भ्यालु रिटेल कम्पनीले गर्दछ । तिनै बिष्टर भिलेजमा रहेका विश्वका अति प्रख्यात १ सय ६० वटा डिजाइनर दोकानहरुको मालिक चाहिँ अमेरिकन अर्वपति एबम सफल ब्यापारी स्कट डेभिड मालकिन हुन् ।

चिनियाँ यात्रुहरुलाई त्यही छाडी राखेर रेलले पुनः गति लिन सुरु गर्यो । केहीबेरमा रेल हेडेनहाममा पुगेर दोश्रो चोटी रोकिएको थियो । रेल बाहिरको मौसम घिनलाग्दो थियो किनभने बेस्सरी पानी पर्न सुरु गरेको थियो । बेलायती हिउँदे महिनामा घरिघरि पानी परिरहँदा मेरो मन यस्सै पनि खिन्न भइरहने गर्दथ्यो । त्यति नराम्रो मौसमको बाबजुद मैले झ्याल बाहिर देखिएको हेडेनहाम रेलको सानो कार्यालयलाई मुस्किलले हेर्न सकें । त्यसपछि तिनै कार्यलयभित्र दिनहुँ हुने हर्कतसँग मेरो मन बिरमाईलो तरिकाले चलायमान हुन थाल्यो । किनभने त्यस स्टेसनमा मिसाइल र केरीमध्ये एकजनाले हरेक बिहानको ६ बजेदेखि दिउँसोको १ बजेसम्म र अर्कीले बेलुकी ७ बजेसम्म पालैपालो रेलको टिकट बेचिरहेका हुन्थे ।

उनीहरुले जुन स्थानमा बसेर टिकट बेच्ने गर्दथे । त्यसको सीधै अगाडि १८० डिग्री कोणमा एकजना सुरक्षा अधिकृत उभिरहेका बिरमाइलो दृश्य त्यहाँ हरदम देख्न सकिन्थ्यो । तिनै दुखी आइरिस सुरक्षा अधिकृतको नाम चाहिँ माइकल ओब्राइन हुन् । उनको अनुहार गोलो तर असाध्यै गोरो थियो । उनको जिउडाल गाण्टेमुला जस्तै भएतापनि सैनिक जस्तो छोटो केश काटेका थिए । उनले नचाहिँदो तरिकाले एकातिरको कानमा एउटा मुन्द्री झुण्डाइ रहेको हुन्थ्यो र हप्तौँ नधोएको सेतो सर्ट अनि कालो पतलुङ पहिरन गरेर कर्तव्य पथमा लम्किरहन्थ्यो । तर उनको शारिरीक बनावट जस्तोसुकै बयान गरेतापनि छातीमा टलल टल्किरहने ‘एमुलेट सेक्युरिटी’ लेखेको ब्याजले चाहिँ उनलाई निक्कै शोभायमान दिइरहेको मलाई भान पर्दथ्यो ।

कथाकार भीम राई

हरेक समयमा दुवै हात पछाडी बाँधेर माइकलले टिकट अधिकृतको कार्यकक्ष नियालिरहेको हुन्थ्यो र ‘माइकल’ भन्ने शब्दको प्रतीक्षा गरिरहने गर्दथ्यो । मलाई उनको जिन्दगी देखेर बेलायती कुकुरहरुको जिन्दगीभन्दा झन् खराब लाग्ने गर्दथ्यो र एकदम बैराग्य चलेर आउँथ्यो । माइकलले विगत दुई दशकदेखि तिनै मिसाइल र केरीको सेवा गर्दागर्दै उनको विवाह पनि असफल भएको थियो । उनको पारपाचुके भइसकेपछि छोरा र छोरी दुवैजनाले आमालाई साथ दिएका थिए । अझै त्यति मात्र कहाँ हुनु र ? उनले जिन्दगीभरि कमाएको श्रीसम्पत्ति सबै लगेर उनीहरु डब्लिन बसाइँ सरिसकेका थिए ।

त्यसपछिको उजाड जिन्दगीलाई माइकलले तिनै हेडेनहाम रेल स्टेसनमा हाम फालेर झण्डै नष्ट गर्न खोजेका थिए । तैपनि ती दुवै अङ्ग्रेजी महिलाहरुको म्याराथुन सम्झाइ बुझाइले चित्त बुझाएर अहिले एउटा कोठा भाडामा लिएर देम भन्ने गाउँमा एक्लै बस्ने गरेका थिए । मानिसहरुले अवसर पायो भने कति कठोर, क्रुर, नीच, घृणित र अन्यायपूर्ण ब्यवहार गर्दछन् भन्ने कुरो तिनै आइरिस माइकलको जिन्दगीलाई हेरेर मज्जाले चाल पाउन सकिन्थ्यो । मलाई घरिघरि यस्तो लाग्थ्यो, त्यति धेरै त्रास, उकुसमुकुस र छटपटीको साथमा बिताइरहेको उनको जिन्दगीले सपनीमा पनि यदाकदा मिसाइललाई देख्दा तर्सिरहेको हुन्छ होला कि ?

रेलले एकचोटी लामो हर्न बजायो र हेडेनहामदेखि बिदा लियो । रेल हिँडेको केहीबेरमा प्रिन्सेस् रिसबोरोको क्षितिजसम्म रमाइला फाँटहरु देखा पर्न सुरु गरे । सान्डरटन स्टेसन नपुगिन्जेलसम्म देखिएको त्यति फराकिला नागीहरुले मेरो ध्यान सर्लक्कै खिचिरहेको थियो । अनि तिनै रमाइला नागीहरुमा हेयरफर्ड गाईहरु र सफोल्क भेडाहरु आनन्दित हुँदै मज्जाले चरिरहेको देख्दा मेरो मनै प्रफुल्लित भइरहेको थियो ।

तर त्यति लोभलाग्दो हरियाली मैदानमा स्व-स्फूर्तको साथ चरिरहेका चौपायाहरुको जिन्दगी देखेर सायद उनीहरुको जिन्दगी त माइकलको भन्दा उत्तम छ कि के हो भन्ने मलाई भान परिरहेको थियो । वास्तवमा मानिस र जनावरको जिन्दगीमा के फरक छन् होला ? अनायसै मेरो दिलको कुनादेखि त्यो एउटा प्रश्न खड्केर आयो । यदि ती दुईमा केही कुरोको फरक छन् भने त्यो निश्चय पनि सोच्ने शक्त्ति नै हुनुपर्छ । तैपनि सबैभन्दा चेतनशील प्राणी मानिस भएको हुनाले उनले गर्ने सोच र विचार पनि पशुपक्षीको भन्दा कमी भयो भने त के फाइदा हुन्छ होला र ? तिनै प्रश्नले मलाई निक्कै गहिराइमा डुबाइरहेका थिए ।

त्यति रमाइला पाखाभरि देखिएका भेडाहरुसँग मन बहकाउँदै यात्रा गर्दा रेल हाइवेकम स्टेसनमा पुगेर रोकिएको मलाई पत्तै भएको थिएन । अचानक मानिसहरु आ-आफ्नो सिटदेखि उठेको देखेपछि पो झसङ्गै भएको थिएँ । रेल जुन स्थानमा रोकिएको थियो त्यसको ठीक दाहिनेतिर अर्को प्लेटफर्म नम्बर २ देखा परिरहेको थियो । तिनै प्लेटफर्मको गेट अगाडि बिरक्त्तलाग्दो अनुहार लिएर एकजना कर्मचारी उभिरहेका थिए । उनको एउटा हातमा मोबाइल र अर्को हातमा वाकिटकी रेडियो देखिन्थ्यो । त्यसरी खडा भएर पहरेदार दिइरहेका कर्मचारीको नाम सेवास्चियन कोवाल्स्कि हुन् । उज्वल भविष्यको खोजी गर्दै क्राकोफ, पोल्याण्डदेखि केही वर्ष अगाडि बसाइँ सरेर बेलायत आएका उनी त्यहाँका सहायक टिकट बिक्रेता हुन् ।

सेवास्चियन जहाँ उभिरहेका थिए उनको नजिकै ४-५ जना अश्वेत मूलका किशोरहरु पनि उभिरहेका देखिन्थे । यदि त्यहाँको वातावरणलाई सरसर्ती अध्ययन गर्ने हो भने सायद उनीहरु बिना टिकट जबरजस्ती रेलको यात्रा गर्न प्रयास गरिरहेका होला भनेर मज्जाले आँकलन लगाउन सकिन्थ्यो । हरेक दिन गजेंडीहरुसँग झगडा गर्नुपर्ने र घरिघरि बेलायती यातायात प्रहरीलाई बोलाइरहनु पर्ने भएकोले उनी आफ्नो कामदेखि पटक्कै खुसी थिएनन् ।

अझै उनको नजिकै सुन्तला रङ्गको चम्किलो फ्लोरोसेन्ट ज्याकेट पहिरन गरेका अर्को एकजना मानिस पनि देखिन्थे । सेताम्मे दाह्री  तर छातीसम्म झरेका ती मानिसले हातमा झाडुको डण्डा समातिरहेका थिए । स्टेसनका कर्मचारीहरुले उनलाई इमरान महमद भनेर चिन्दथे । विगत १५ वर्षदेखि इमरानले हाइवेकम स्टेसनको प्लेटफर्महरु र सौचालयहरु राजकीय भ्रमणको लागि तयार पारेझैँ टलक्कै टल्काइ रहने गर्दथे । तर हाइवेकम सहरको टोले गुण्डा, दुर्व्यसनी, गँजडीहरु र घरबारविहिन मानिसहरुसँग वाकदिक मानेर सधैको लागि लाहोर नै फिरौ कि कसो भन्ने गुनासो जहिले पनि उनले सुनाइरहने गर्दथे ।

एकछिन पछि हाइवेकमलाई त्यही छाडी रेलले पुनः नयाँ यात्रा सुरु गर्न थाल्यो । केहीबेरमा बेकन्स फिल्ड र अर्को चोटी जेराड क्रस स्टेसनमा पुगेर रेल रोकियो । जेराड क्रसमा रेल रोकिने बितिक्कै मेरो नजर स्टेसनको कार पार्कमा पुगेर झ्याम्मै ठोकियो । त्यस कारपार्कमा लहरै मिलाएर फरारी, लेम्बर्गिनी, बुगाटी, बेन्टली, रोल्स रोयस, मर्सिडिज र पोर्स कारहरु पार्क गरेर राखेको रमाइलो दृश्य देख्न सकिन्थे । त्यति महङ्गा कारहरु चढने घनाढ्य मानवहरु के कति खुसीका साथ बाँचेका होलान् भनेर मेरो मन सामुन्द्रिक ज्वारभाटा झैँ उथलपुथल हुन थालिसकेको थियो ।

त्यसबेलासम्म प्रायः सबैजसो रेलको सिटहरु भरिसकिएको थियो । त्यसैले एकजना भारतीय मूलको जस्ती देखिने युवती सुस्तरी हिँडदै म बसेको सिटमा आइन् र मसँगै सर्लक्कै टाँसिएर बसिन् । उनी त्यसरी टाँसिने बितिक्कै मैले एकझलक उनको अनुहारलाई हेरें तर एक्कै शब्द नबोली बसिरहें । मेरा लोभी नयनहरु उनको नजरबाट सुस्तरी फर्काउन पाउँदा नपाउँदै रेल डेनहाम गल्फ कोर्सतर्फ लाग्यो र केहीबेरमा स्टेसनमा पुगेर रोकियो । रेल रोकिने बितिक्कै एकजोडी अङ्ग्रेज युवा गल्फ खेलाडीहरु गल्फको ट्रली तान्दैतान्दै रेलदेखि झरेको दृश्य देखियो ।

अर्को एकजोडी निवृत्त गल्फर बूढाहरु प्लेटफर्ममा उभिरहेका देखिन्थे । रेलको ढोका खोल्ने बितिक्कै उनीहरुभित्र पसे र सरासर मेरो पछाडि खाली रहेको सिटमा आएर थपकथपक बसे । उनीहरु रेलभित्र पस्ने बितिक्कै बोगी, पार, बर्डी, ह्यण्डिक्याप र ओभरका कुरोहरु गर्न थालिहाले । जब रेलले गति लिन सुरु गरे तब त्यसदिनको खेल बिग्रनुको मुख्य कारण हावा, हुन्डरी र बर्सात नै हो भनेर एकअर्कालाई माफ दिँदै उनीहरुको मुख बन्द भयो । उनीहरु चुपचाप भएको केहीबेरमा अर्को स्टेसनमा रेल पुग्न अगावै पुनः रेल रोकियो ।

उच्च गतिमा गुड्दै गरेको रेल अचानक बीच बाटोमै रोकिएपछि किन रोकियो होला भनेर सबै यात्रुहरु एकअर्कामा हेराहेर गर्न थाले । त्यसरी रेल रोकिएको करिब ५ मिनेट जति भएको थियो । चालकले डेनहाम र पश्चिमी रुइस्लिपको बिचमा एउटा अप्रिय घटना घटेको हुनाले रेल निक्कै लामो समयसम्म रोकिने जानकारी दिए । रेल रोकिएको १५ मिनेट जति भएपछि चालकले पुनः दोश्रोचोटी उदघोषण गर्यो । एकजना युवतीले दगुरिरहेको रेलको अगाडि हाम फालेर देहत्याग गरेको हुनाले अर्को १ घण्टासम्म हामी यही रोकिने छौं र बेलायती यातायात प्रहरीले छानबिन गरिसकेपछि मात्र हाम्रो यात्रा क्रमशः अगाडि बढ्नेछ भन्ने जानकारी गराए ।

चालकको कुरो सकिने बितिक्कै मसँग सङ्गै बसेकी युवतीको आँखाबाट सरर आँसु बहन थाल्यो । मैले केहीबेर उनको राताराता नयनहरुलाई मज्जाले पढें । त्यसपछि –

“के तपाईलाई ठीक छ  ?” भनेर सानो प्रश्न गरे ।

“अहँ ! म पटक्कै ठीक छैन् । किनभने आजपनि म काममा ढिलो पुगेँ भने मलाई नोकरीबाट बर्खास्त गरिने छ । यो मेरो तेश्रो चोटी हो र म अन्तिम चेतावनीमा पनि छु,” आँखा मिच्दैमिच्दै उनी बोलिन् ।

“सुर्ता नगर्नोस् ! एउटा ढोका बन्द भयो भने अर्को ढोका खुल्ने छ । तर मेरो त जिन्दगी नै बन्द हुँदैछ । त्यसकारण अर्को ढोका खुल्नेवाला छैन, तैपनि म खुसी नै छु” मैले सानो स्वरमा उनलाई सहानुभूति दिने प्रयत्न गरें ।

मेरो कुरो सुनेर उनी एकछिन अमुक बनिन् अनि फेरि उनैले मुख खोलिन्, “तर, कसरी ?”

“६ महिना अगाडि मलाई आमाशयमा क्यान्सर भयो । त्यसपछि म दुई महिना जति अस्पतालमा बसेको थिएँ । मेरो लागि चिकित्सकहरुले सबै प्रयत्नहरु गरे । अहिले क्यान्सर फैलिएर ठूलोआन्द्रा र सानोआन्द्रा पूरै जेलिएका छन् । उनीहरुले मलाई अर्को दुई हप्तासम्म बाँच्ने आश्वासन दिएका छन् । तैपनि मेरो मृत्यु हुनुभन्दा अगाडिको अन्तिम इच्छा पूरा गर्न मलाई बानबुरीदेखि लण्डनसम्मको रेलयात्रा गर्न आज छुट दिइएको छ । मेरो इच्छा पूरा भएपछि अस्पतालमा गएर १५ दिनसम्म मृत्युलाई पर्खेर बस्नेछु ।”

त्यति भनिसकेपछि म केहीबेर भावुक बनेको थिएँ । मेरो त्यस्तो दुखद कुरो सुनेर पनि उनको आँखादेखि आँसु आउन सकेका थिएनन् किनभने उनको आँसु केहीबेर अगाडि नै रितिसकेको थियो । तैपनि उनैले फेरि प्रश्न गरिन् –

“के तपाइलाई मर्नसँग डर लागेन ?”

हुनत मर्न कसैलाई रहर हुदैन । तैपनि पहिले पहिले ज्यादै नै डराएको थिएँ तर अहिले डर लागेको छैन । किनभने यस धर्तीमा भएका सबै मानिसहरु त्यति धेरै भाग्यमानी कहाँ हुन सक्छन् र ? तैपनि सबैभन्दा अभागी मानिसहरु मध्येको एकजना पात्र म पनि हुँ । किनभने म जन्मने बितिक्कै माओवादीले सुराकीको उपाधी दिएर मेरो बुवालाई जङ्गलमा लगेर हत्या गरेका थिए । बाबुको हत्या भएपछि आमा मर्नसँग असाध्यै डराइन् । र, मलाई मध्यरातमा छिमेकीको घरमा छाडी राखेर उनको जीवन बचाउन गाउँ छाडेर सधैँको लागि बिदा भइन् । त्यसपछि म हुर्केर अलिक ठूलो भएपछि अरुको घरमा गोठालो बसेर जीवनयापन गर्न सुरु गरेको थिएँ ।

त्यसपछिको समय आफ्नै गतिमा बहिरहेको थियो । धेरै लामो समयको प्रयत्नपछि मुस्किलले शरणार्थी बनेर ३० वर्षको उमेरमा बेलायत छिरेको थिएँ । बेलायतमा आएर प्रशस्त पैसा आर्जन गर्छु र सुन्दर भविष्यको निर्माण गर्नेछु भन्ने सपना बुनेका थिएँ । तर मैले जे सोचेको थिएँ, त्यसको ठीक उल्टो भइदियो । यहाँ आएको ५ वर्षसम्म भारतीय रेष्टुँरामा दिनको दुई बोरा प्याज काट्दै जीवन गुजारा गरें । तर के गर्ने ? विधिको नियम कसैले परिवर्तन गर्न नसकिँदो रहेछ । ३५ वर्ष लाग्ने बितिक्कै क्यान्सरको बिमारी भएँ । त्यसपछिको बिरमाइलो दिनहरुलाई सृष्टीको उपहार सम्झेर हरेक मिनेटसँग मज्जाले मनोरन्जन लिन सुरु गरेको छु । हुनत यस ब्रम्हाण्डमा हुने कुनै पनि चिज स्थायी हुँदैन र हामी पनि छैनौं । आखिर विधिको नियति यस्तै प्रकारले भोग्नु पर्ने रहेछ – जिन्दगी आउँछ र जान्छ, त्यही सोचेर सन्तोष मानिरहेको छु ।

मैले निक्कै लामो समय लिएर बोलिरहेको थिएँ किनभने म जिन्दगीको एउटा भयङ्कर ठूलो रातलाई पार गरिसकेको अस्ताउँदै गरेको एउटा जुन झै थिएँ । करिब एकघण्टा समय बितेपछि रेलले पुनः गति लिन सुरु गरेको थियो । मार्लिवन, लण्डनको प्लेटफर्म ३ मा पुगेर रेल अन्तिम चोटि रोकियो । रेल रोकिने बितिक्कै सबै यात्रुहरु रेलबाट झर्न थाले । ती युवती पनि अरु यात्रुहरुसँगसँगै रेलदेखि झरिन् । अबदेखि उप्रान्त उनीसँग मेरो भेट हुन सक्त्तैन भनेर मैले उनको नाम सोध्ने रहर पनि गरेको थिइनँ । आखिर म मरिहाल्ने रहेछु भन्ने जानकारी पाएपछि मेरो खास्सै परिचय उनले पनि माग्दै मागिनन् ।

सबै यात्रुहरु झरिसकेपछि रेलभित्र म मात्र एकाध बसिरहेको थिएँ । १५ मिनेटपछि सोही रेल फर्केर बानबुरीतर्फ आउँदै थियो । ती युवती रेलदेखि झरेर बाहिर निस्केपछि म बसेको झ्यालबाहिर आएर ठिङ्गै उभिरहिन् । उनी केहीबेर अगाडिसम्म काममा जान ढिलो भयो भनेर धुरुधुरु रोइरहेकी थिइन् । तर अहिले समयको ख्याल नगर्दा मेरो मृत्यु अगाडिको यात्रालाई सम्झेर केही राहत मिलेको हुनुपर्छ भन्ने मलाई मनमनै लागिरह्यो ।

उनले क्रमशः एक्कै डेक चल्दै नचली १५ मिनेटसम्म त्यहाँ एक्लै उभिएर मलाई क्वारक्वार्ती हेरिरहेकी थिइन् । रेलले बानबुरीतर्फ बाटो लाग्दै गर्दा उनले माथि आकाशतिर हात उचालेर मलाई सधैँको लागि बिदा गरिरहेकी थिइन् । मेरो दुवै हातहरु चिउँडोमा मज्जाले आराम गरिरहेको थियो र दुर्भाग्यवश मेरो हृदयले हात उचाल्न मानिरहेको छँदै थिएनन् ।

अक्सफोर्डसायर ।

 

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री