पत्रकार महासंघ युकेले स्वास्थ्य सचेतना कार्यक्रम गर्ने

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले कोभिड महामारीको संक्रमण फेरि बढ्दै गएको तथा नयाँ भेरियन्टहरुको सन्त्रास फैलिरहेकोले बेलायतस्थित नेपाली समुदायमा आवश्यक सचेतना, सूचना एवम् जानकारीहरु प्रवाह गर्न विज्ञ एवम् स्वास्थकर्मीहरुको सहभागितामा  ‘स्वास्थ्य सचेतना’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नेप्लिज डक्टर्स् एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोसिएसन यूकेसँगको सहकार्यमा भर्चुअल र पाक्षिक रुपमा सञ्चालन गरिने कार्यक्रमको संयोजन शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियारले गर्ने भएका छन् ।

यस्तै बेलायतस्थित नेपाली समुदाय एवम् संघसंस्थाहरुको मिडियामा पहुँचलाई सहज पार्न संघसंस्थाका प्रतिनिधिहरुलाई प्रेस नोट/ प्रेस रिलिज तयार पार्न सिकाउने उद्देश्यले सन् २०२२ जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल कार्यशाला आयोजना गर्ने निर्णय शाखाले गरेको छ। सो कार्यक्रमको संयोजन महासचिव नरेन्द्र बस्नेतले गर्ने भएका छन्।

शाखाको आइतबार भर्चुअल रुपमा बसेको तेस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो ।

यस्तै शाखाका सदस्यहरुबाट भएका अनुशासन उल्लंघनका सम्बन्धमा आवश्यक अध्ययन, छानबिन गरी प्रमाण संकलन तथा आवश्यक कदमको सिफारिश गर्न शाखाका संस्थापक अध्यक्ष नवीन पोख्रेलको संयोजकत्वमा पूर्व अध्यक्ष चिरन शर्मा र निवर्तमान अध्यक्ष नरेश खपांगीमगर सदस्य रहेको एक अनुशासन छानबिन समिति गठन गरिएको छ । समितिले संस्थाको नाम, लोगो, लेटरहेड दुरुपयोग एवम् अनुशासन उल्लंघनजनक गरिएकोमा प्राप्त उजुरी र गुनासोहरुबारे छानबिन गरी आवश्यक कदम सिफारिश गर्ने बताइएको छ ।

बैठकले शाखाको वेबसाइट रिडिजाइन गर्ने र सोको समन्वय कोषाध्यक्ष एसके गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङनामको सहयोगमा अध्यक्ष ध्रुवराज अर्यालले गर्ने छन्।

अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीले सम्बोधन गरेका थिए । त्यस्तै, अतिथिको रुपमा संस्थापक अध्यक्ष नवीन पोख्रेल एवम् पूर्व अध्यक्ष चिरन शर्मा र निवर्तमान अध्यक्ष नरेश खपांगीमगरले शुभकामना मन्तव्य राखेका थिए ।

बैठकमा कार्यसमितिका अध्यक्ष ध्रुवराज अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवहरु मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा कार्यसमिति सदस्यहरु गोमा राना, नगेन्द्र नेम्वाङ, मिलन तमु, बम थापा सुर्यवंशी र बाचस्पति रेग्मीसहित कार्यसमितिका अधिकांश पदाधिकारीको उपस्थिति थियो ।

बैठकमा विशेष अतिथिका रुपमा सम्बोधन गर्नुहुने महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन  पुरीप्रति आभार प्रकट गर्दै अतिथिको रुपमा उपस्थित संस्थापक अध्यक्ष नवीन पोख्रेल एवम् पूर्व अध्यक्ष चिरन शर्मा र निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई पनि धन्यवाद ज्ञापन गरिएको थियो ।

शाखाकी उपाध्यक्ष प्रमिला लावुङ राईका पिता स्वर्गीय बलबहादुर लिम्बू लावुङ र केन्द्रीय प्रतिनिधि विमला सेनेकी आमा स्वर्गीय दाउमन्ती पयांगु सेनेको दु:खद निधनमा दु:ख व्यक्त गर्दै शाखाको तर्फबाट शोक प्रस्ताव पारित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री