एकपटक नेपाल नआई मेरो मन मान्दैन : प्रख्यात पर्वतारोही मेस्नर

काठमाडौँ । सन् १९४४ मा इटालीमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । विश्वका आठ हजार मिटर (२६ हजार फीट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसक्नुभएका उहाँ नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया गर्ने व्यक्तित्व हुनुहुन्छ । ७७ वर्षीय मेस्नर अहिले पनि नेपालको पर्वतीय पदयात्रामा गहिरो अभिरुचि राख्नुहुन्छ । नेपाललाई अति मन पराउने उहाँले अहिलेसम्म ५० पटक यहाँको भ्रमण गरिसक्नुभएको छ ।

सन् १९७० देखि हिमाल आरोहण गर्न शुरु गर्नुभएका उहाँले पहिलो पटक सगरमाथाको एकल तथा विनाअक्सिजन पिटर हाबेलरसँग मिलेर अर्काे आरोहण गर्नुभएको थियो । उहाँले सन् १९७० र १९७८ मा मा नङ्गा पर्वत (८,१२५ मि), १९७२ मा मनास्लु (८,१६३ मि), १९७५ र १९८४ मा गाशेरब्रम प्रथम (८,०८० मि), १९७८ र १९८० मा सगरमाथा (८,८४८ मि), १९७९ मा के टु (८,६११ मि) र १९८१ म शिशपाङ्मा (८,०२७ मि) को सफल आरोहण गर्नुभएको थियो । यस्तै १९८२ र १९८४ मा कञ्चनजङ्घा (८,५८६ मि), १९८४ मा गाशेरब्रम दोस्रो (८,०३४ मि) र ब्रोड पीक (८,०५१ मि), १९८३ मा चो ओयु (८,१८८ मि), १९८५ मा अन्नपूर्ण (८,०९१ मि ), धौलागिरि (८,१६७ मि) तथा १९८६ मा मकालु (८,४८५ मि) र ल्होत्से (८,५१६ मि) को आरोहण गर्नुभएको थियो । अन्टार्कटिका र ग्रीनल्याण्ड पार गर्ने पहिलो नागरिक उहाँले गोबी मरुभूमि पनि एक्लै पार गर्नुभएको थियो । उहाँका आरोहण र अन्वेषणका क्रममा आफ्ना अनुभवबारेका ८० भन्दा बढी पुस्तक प्रकाशित छन् । श्रीमती डायने छुमाछेरसँग सन् २०२२ को नयाँ वर्ष मनाउने क्रममा नेपाल आउनुभएका उहाँ केही दिन नाम्चे बसेर काठमाडौँ फर्किनुभएको थियो । ठमेलस्थित काठमाडौँ गेष्ट हाउसमा बस्नुभएका उहाँसँग आजै स्वदेश फर्किनुअघि राससका कृष्ण अधिकारीले गरेको सङ्क्षिप्त कुराकानी :

 

तपाईँलाई के कुराले नेपालको भ्रमण गर्न प्रेरित गर्छ ?

जतिबेला नेपालका हिमाल आरोहण गर्ने लक्ष्य लिएर म नेपाल आएँ, त्यसबेलादेखि नै मलाई यहाँको प्राकृतिक सौन्दर्यसँगै नेपालीको व्यवहारले लोभ्यायो । पहिलोपटक सन् १९७८ मा सगरमाथाको आरोहण गरेपछि नेपालका अन्य हिमाल पनि आरोहण गर्ने चाहना ममा बढेर आयो । यहाँका हिमाल आरोहण गरेपछि नेपाली जनतालाई पनि बुझ्न पछि आएँ । नेपाललाई पर्यटन प्रवर्धन गराउन पाएकोमा म आभारी छु । मेरो आरोहण सफलताको श्रेय नेपाललाई नै दिन चाहन्छु । नेपाली कला, संस्कृतिबाट म निकै प्रभावित छु । यहाँको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यबाट म निकै प्रभावित भएको छु । नेपाल त स्वर्गको टुक्रा नै हो, यहाँका बासिन्दा, हिमाल र प्राकृतिक सौन्दर्यको जति वर्णन गरे पनि सकिँदैन । नेपालीहरूको सरल व्यवहार र हँसिलो अनुहारलाई बिर्सन सक्दिनँ । त्यही मोहले मलाई बर्सेनी नेपाल भ्रमण गराउन प्रेरित गर्ने गरेको छ । वर्षमा कम्तीमा एकपटक नेपाल नआई मेरो मनै मान्दैन ।

तपाईँ नेपालका हिमाल आरोहण गर्दा र अहिलेका अवस्थामा के फरक देख्नुहुन्छ ?

५० वर्षअघि मैले नेपालका विभिन्न हिमशृङ्खलाको आरोहण गर्दा र अहिलेका अवस्थामा धेरै परिवर्तन भएको मैले महसुस गरेको छु । त्यतिबेला हिमालका बारेमा आरोहीहरूलाई कुनै जानकारी थिएन । कुन हिमालको अवस्थिति कस्तो छ, कुन समयमा कुन रुटबाट कसरी आरोहण गर्ने भन्ने ज्ञान थिएन, के कस्ता सामग्री लैजानुपर्ने हो र कुन रुट प्रयोग गर्ने भन्ने जानकारी नभएको अवस्थामा आरोहण गर्नु निकै चुनौतीपूर्ण थियो । हामी आरोहीका साथ जाने शेर्पाहरूमा पनि आरोहणको अनुभव थिएन तर अहिले आरोहणका बारेमा पर्याप्त जानकारी र सूचना पाउन सकिन्छ, शेर्पाहरूबाट पूर्ण सहयोग हुन्छ ।

नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव देखिन थालेकै हो ?

हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून रहे पनि त्यसबाट सिर्जित जलवायु परिवर्तनको असरबाट बढी नै प्रभावित बनेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालको हिमालय क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । अमादब्लम, मनास्लुलगायत हिमालयहरूमा पहिलेको तुलनामा निकै कम हिउँ पर्ने गरेको छ । हिजो वर्षैभरि हिउँले ढाक्ने चुचुराहरू पनि अहिले काला पहाड बनेका छन् । बिस्तारै हिमाली क्षेत्रको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्न जाँदा हिमताल फुट्ने, हिमनदी पग्लिने र हिमालहरूमा हिउँ पर्ने क्रममा निकै ह्रास आएकाले हिमालय क्षेत्रको पर्यावरणमा निकै फेरबदल भएको छ । जलवायु परिवर्तनले मनसुनको ढाँचा र वायु प्रणालीले हिमालय आरोहणलाई थप जोखिम बनाएको छ । केही वर्षयता हिमाली भेगमा हिमपहिरो, हिमआँधीजस्ता विपद्हरूको क्रम बढ्दो छ ।

यस्ता घटना न्यूनीकरण गर्न के कुरामा ध्यान दिनुपर्ला ?

औद्योगीकीकरण, सवारी साधनको व्यापक प्रयोग, खनिज इन्धन र उपभोक्तावादका कारण सम्पूर्ण जलवायु प्रणाली सन्तुलनमा नरहेका कारण यस्ता चुनौती बढेका हुन् । हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनका प्रभावका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनाका साथै आन्तरिक रूपमा पनि केही कामहरू गर्नुपर्ने हुन्छ । व्यवस्थित शहरीकरण, स्वच्छ ऊर्जाको प्रयोग र जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ ।

नेपालमा पर्वतीय पर्यटनको सम्भावना कत्तिको देख्नुहुन्छ ?

नेपालमा पर्वतीय पर्यटनको प्रचूर सम्भावना रहेकाले यसको विकासका लागि रणनीतिक योजनासहितका कार्यक्रम तय हुनुपर्ने देखिन्छ । नेपाल ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ले भरिपूर्ण रहेकाले योजनावद्ध र दीगो तवरबाट विकासमा ध्यान दिन सकेमा नेपालले पर्यटनबाट धेरै फाइदा लिन सक्छ । देशको ८० प्रतिशतभन्दा बढी भाग पहाड र उच्च हिमाली भेगले ढाकेको, यहीँ विश्वका आठ हजार मिटर माथिका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित अधिकांश रहेको र विश्वको सबैभन्दा लामो पर्वतमाला हिमालयको मुख्य भाग पनि रहेकाले पर्वतीय पर्यटनका लागि नेपाल विश्वकै अद्वितीय गन्तव्यका रूपमा परिचित छ । देशको समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक छ ।

नेपालको पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गराउन तपाईँको ठूलो योगदान छ । आगामी दिनमा यसलाई अझ विस्तार गर्न यहाँले केही सोच्नुभएको छ कि ?

नेपालका आठ हजार मिटरभन्दा बढी उचाइका हिमालहरू आरोहण गर्दाका अनुभव र उहाँको पर्वतीय पर्यटनका बारेमा झण्डै ८० भन्दा बढी पुस्तक तथा जर्नलमा मेरा लेखहरू प्रकाशन भएका छन् । मैले निर्माण गरेका थुप्रै वृत्तचित्रले अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउन मद्दत पुगेको नै छ । नेपालको सद्भावना दूतका रुपमा मैले आफ्नो जन्म देश इटालीलगायत युरोपका अन्य देश र विश्वका धेरै देशमा नेपालको पर्यटन र हिमालका बारेमा प्रवचन दिँदै आएको छु । मैले इटालीकै विभिन्न शहरमा नेपाली कला, संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरेको छु । अहिले म सोलुखुम्बुको नाम्चेमा कला सङ्ग्रहालय निर्माण गर्न लागिपरेको छु । विश्वकै उच्च स्थानमा रहने सङ्ग्रहालय आगामी वर्ष उद्घाटन गर्ने तयारी भएको छ । नेपालको पर्यटनसँग मेरो गहिरो सम्बन्ध रहेकाले आजीवन अन्तर्राष्ट्रिय जगत्मा नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्धन गर्ने नै मेरो सोचाइ छ ।

नेपाली पर्यटन प्रवर्धनका लागि नेपाल सरकार, पर्यटन व्यवसायी र नागरिकका तर्फबाट गरिनुपर्ने केही मूलभूत सुझावहरू छन् कि ?

पर्यटकहरू औसत नभई विशिष्ट अनुभव लिनका लागि नेपाल घुम्न आएका हुन्छन् । पर्यटकलाई मन पर्ने ढङ्गबाट यहाँका ऐतिहासिक धरोहर, सांस्कृतिक–परम्परा, प्राकृतिक सौन्दर्य, आतिथ्य–सत्कार, साहसिक गतिविधि र खेल एवं नौला ठाउँ अवलोकनका अवसरहरू व्यवस्थित गर्न सक्नुपर्छ । नेपालका हिमशिखरहरू आरोहण गर्न आउने अधिकांश आरोहीहरू काठमाडौँ उत्रिएलगत्तै हिमालका आधार शिविरतर्फ लाग्ने र त्यहाँबाट काठमाडौँ हुँदै सिधै स्वदेश फर्किने गरेकाले तिनलाई यहाँको पदयात्रासँगै कला, संस्कृति र विविधताका बारेमा पनि अवगत गराउन सकिएमा नेपालको पर्यटन प्रवर्धनमा धेरै सहयोग पुग्ने छ । पछिल्लो समय विश्वका विकसित देशका नागरिकजस्तै नेपालीमा पनि मोबाइल फोनको बढ्दो प्रयोगले गर्दा विदेशी पाहुनासँग खुलेर कुरा गर्ने, अभिवादन गर्नेजस्ता क्रियाकलाप क्रमशः घट्दै गएको देख्दा मलाई चिन्ता लागेको छ । यसबीचमा पर्यटकीय पूर्वाधारका क्षेत्रमा धेरै कामहरू भएका छन् तर पनि अझै धेरै ठाउँमा सुरक्षित र व्यवस्थित हवाइ उडान, पदयात्रा निर्माण, होटलको सुविधा, कला संस्कृतिको जगेर्ना र जैविक विविधताको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री