बेलायती स्पेशल फोर्सका १०० भन्दा बढी सैनिक युक्रेनमा

लण्डन । बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् ।

उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरु त्यहाँ पुगेका हुन् ।

युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफूहरूले १०० जनाभन्दा बढी सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका छन् ।

रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघि देखिएको हो । त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो ।

रुसले पूर्वी डोनबस क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् भने रूसले यसलाई अस्वीकार गर्दै आएको छ । त्यही क्षेत्रमा रुसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको बताइएको छ ।

सैनिक तैनाथ भएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको दावी यूरोप तथा कतिपय अमेरिकी मुलुकहरूले गरिरहेका छन् । तर रुसले उनीहरूको दावीमा सत्यता नरहेको भन्दै आक्रमण गर्ने तयारी नभएको बताउँदै आएको छ ।
बेलायतको स्पेशल फोर्स एलिट सैनिक फोर्स मानिन्छ । सो फोर्सभित्र हवाइ, जल र स्थल तीनै क्षेत्रका अति नै दक्ष सैनिकहरु रहने गर्दछन् ।

उनीहरुले विश्वका दुर्लभ अपरेसनहरुमा काम गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री