मातृभाषा साहित्य उत्सवमा १९ भाषाका गीतहरू प्रस्तुत हुँदै

लन्डन । बेलायतमा हुन लागिरहेको मातृभाषा साहित्य उत्सवमा यसपटक अल्पसंख्यक समुदायको पनि विशेष सहभागिता रहने भएको छ । धेरै जनसंख्यामा रहेका जातीय समूहसँगै अल्पसंख्यक समुदायको पहिचानलाई समेत सम्बोधन गर्न उत्सवमा विशेष सहभागिता रहन लागेको हो ।
बेलायतमा यहीँ आउँदो शनिबार २३ औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसर पारेर विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूके र पश्चिम यूकेले संयुक्त रूपमा मातृभाषा साहित्य उत्सव आयोजना गरिरहेको छ । दोस्रो पटक हुन लागेको उत्सवको सहआयोजकहरूमा आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ यूके र प्रवासी साहित्य समाज रहेका छन् ।
बेलायतमा पहिलोपटक सन् २०२१ बाट बहुभाषिक साहित्य गोष्ठी सुरु भएको हो ।
भर्चुअल रूपमा हुने उत्सवमा पूर्वी तराईमा रहेका आदिवासी समुदायको प्रतिनिधित्व गर्दै डा. सोमबहादुर धिमाल प्रमुख वक्ता एवम् अतिथिका रूपमा उपस्थित हुन लागेको अयोजक विनेसाम पश्चिम यूकेका अध्यक्ष लालसुन्दर राईले बताए । उनले मातृभाषाको विकासमा साहित्य, शिक्षा र पत्रकारितामा लामो समयदेखि योगदान दिएको व्यक्तित्व र अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने कारण डा. धिमाललाई उत्सवको मुुख्य अतिथिका रूपमा डाकेको उनले जनाए । डा.सोमबहादुर आदिवासी धिमाल समुदायमै विद्याविारिधि गर्ने पहिलो व्यक्ति हुन् । मोरङको पथरी शनिश्चरे नगरपालिका घर भएका धिमालले सन् २०१८ मा आइएफटिएस कलेज जर्मनी र युनिभर्सिटी अफ अमेरिकाबाट ‘धिमाल भाषा र संस्कृतिको सम्बन्धको अन्वेषण’ शीर्षकमा पीएचडी उपाधि हासिल गरेका हुन् । उनले समाजशास्त्र र अंग्रेजी गरेर दुई विषयमा स्नाताकोत्तर समेत गरेका छन् । १३ पुस्तक लेखिसकेका धिमाल गोरखापत्र दैनिकमा धिमाल भाषा पृष्ठका सम्पादक समेत हुन् ।
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको समेत विशेष उपस्थिति रहनेछ । सन् २००० देखि संयुक्त राष्ट्र संघको साँस्कृतिक निकाय यूनेस्कोको आह्वानमा प्रत्येक वर्ष फेब्रुअरी २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउन थालिएको हो । विश्वमा ७ हजार १३९ भाषाहरू अस्तित्वमा रहेका छन् । नेपालमा भाषा आयोगले १३१ भाषाहरूको पहिचान गरेको तथ्याङ्क छ ।
यसैगरी, साहित्य उत्सवको तयारी अन्तिम चरणमा पुगेको भन्दै बहुभाषिक गीत वाचन कार्यक्रममा १९ भाषाका साढे तीन दर्जन बढी गीतकारहरूले नाम दर्ता गराएको उत्सव संयोजक अमित थेवेले जनाए । उनले बेलायत, नेपाल, हङकङ, दक्षिण कोरियाबाट साढे तीन दर्जन बढी गीतकारहरू सहभागी हुने बताए । यसपटक उत्सवमा तमु(गुरूङ), शेर्पा, नेवारी, मगर, याक्थुङ लिम्बु, याक्खा, सिङ्सावा/भोटिया, सुनुवार, बान्तावा राई, चाम्लिङ राई, थुलुङ, तामाङ र थारू भाषाबाट गीत आएका छन् । त्यसैगरी, धिमाल, आठपहरिया, खस(डोटेली), लोहोरूङ राई, वाम्बुले राई र छन्त्याल मातृभाषामा समेत सर्जकहरूले आफ्नो रचना प्रस्तुत गर्नेछन् ।
उक्त अवसरमा इतिहास र खोजमूलक विषयवस्तुमा आधारित एक पुस्तकको समेत लोकार्पण हुनेछ । गत फेब्रुअरी ३ मा औपचारिक रूपमा विमोचन भइसकेको अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङद्वारा लिखित ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिङ चेम्जोङका लेखोट’ पुस्तक बेलायत र अन्य प्रवासी मुलुकहरूका लागि पुनः खुल्ला हुन लागेको हो । पुस्तकमाथि समीक्षकले बोल्ने कार्यक्रम पनि राखिएको छ । लेखक माबुहाङ तेह्रथुमको लालीगुराँस नगरपालिकका मेयर हुन् । उनी याक्थुङ मुन्धुम र इतिहासका अध्येता र विज्ञ समेत हुन् । अर्का लेखक थेवे विश्व नेपाली साहित्य महासंघ दक्षिण यूकेका सचिव र आदिवासी जनजाति साहित्यकार लेखक महासंघ यूकेका संयोजक हुन् । डेढ दर्जन बढी संघसंस्थाका पदाधिकारी रहेका उनी दुई दशकयता साहित्य, पत्रकारिता, राजनीतिसँगसँगै साँस्कृतिक अभियानमा सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री