लण्डन प्रहरीद्वारा नेपालबाट चोरिएका दुई सम्पदा नेपाली दुताबासलाई हस्तान्तरण

तस्वीरहरु नेपाली दुताबास लण्डन

लण्डन । बेलायतको लण्डन महानगरीय प्रहरीले नेपालबाट चोरिएका दुई प्राचीन सम्पदा नेपाल फर्काउनका लागि लण्डनस्थित नेपाली दुताबासलाई हस्तान्तरण गरेको छ ।

आज दुताबासमा आयोजित एक कार्यक्रममा महानगरीय प्रहरीका डेपुटी डिटेक्टिभ सुपरिटेण्डेण्ट जोन रोचले ती सम्पदाहरु बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यलाई हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएका सम्पदाहरुमा सोर्हौं शताब्दीकालीन कुँदिएको काठको तोरण र अठारौं शताब्दीकालिन घुँडा टेकेर नमस्कार गरेको मुद्राको ढु‌ंगाको कुँदिएको मूर्ति रहेको छ । तोरण हनुमानढोका दरबार परिसरबाट सन् १९८० देखि १९९० को बीचमा हराएको थियो भने ढुंगाको मूर्ति ओमबहालको मन्जुश्री मन्दिरबाट सन् १९८०को दशकमा हराएको थियो ।

सम्पदाहरु ग्रहण गर्दै राजदुत आचार्यले महानगरीय प्रहरीलाई ती सम्पदाहरु भेटाइदिएकोमा धन्यवाद दिए । उनले ती सम्पदाहरु फर्काउनका लागि पहल गरिदिएकोमा ग्लास्गो विश्वविद्यालयकी डा इमिलिन स्मीथ र मिडियालाई पनि धन्यवाद दिए ।

महानगरीय प्रहरीका डेपुटी डिटेक्टिभ सुपरीडेण्टेन्ट जोन रोचले बहुमूल्य सम्पदाहरु नेपाल फर्काउन पाउँदा आफूहरुलाई खुशी लागेको बताए । ती सम्पदाहरु हराउनुअघि तस्वीर खिचिएको हुनाले खोज्न सजिलो भएको उनले थपे । उनका अनुसार जसले ती सम्पदाहरु पाएका थिए उनलाई प्रहरीले ती सामग्रीहरु धार्मिक स्थलबाट चोरिएको बताएपछि उनले स्वेच्छाले प्रहरीलाई समर्पण गरेको बताए ।

ग्लास्गो विश्वविद्यालयकी लेक्चरर डा इमिलिन स्मीथले ती सम्पदाहरु नेपाल फर्काउने अभियानमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरिन् ।

दुताबासले दुवै सम्पदाहरु चाँडै नै पुरातत्व विभागमार्फत नेपाल फर्काइने बताएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री