चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार काठमाडौं आइपुग्दै  

काठमाडौं । चीनका विदेश मन्त्री वाङ यीले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी को नेपाल भ्रमणको मिति सार्वजनिक गरेको छ ।

मन्त्रालयले आज एक विज्ञिप्ति जारी गर्दै ‘परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ,’ बताएको छ ।

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

दुवै देशका विदेशमन्त्रीको उपस्थितिमा चैत १२ गते काठमाडौंमा नेपाल–चीन उच्चस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्रले जनाएको छ ।

नेपाल भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।

नेपालले अमेरिकी सहायता परियोजना मिलिनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) पारित गरेपछि चिनियाँ विदेश मन्त्रीको हुन लागेको नेपाल भ्रमणलाई उत्सुकतापूर्वक हेरिएको छ । एमसिसीको काउन्टरमा चीनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) लाई अगाडी बढाउन पहल गर्ने अपेक्षा पनि छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री