शेष घलेले आह्वान गरेको एनआरएनए महाधिवेसनबाट विनोद कुँवर अध्यक्ष निर्वाचित

लण्डन । गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले आह्वान गरेको दशौँ महाधिवेसनबाट विनोद कुँवर निर्वाचित भएका छन् ।

बिहीबार बिहान काठमाडौँको होटल याक एण्ड यतिमा घोषणा गरिएको नवनिर्वाचित कार्यसमितिमा चार जना उपाध्यक्षहरुमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेश पुडासैनी र बाबुराम लामा चयन भएका छन् । महिला उपाध्यक्षमा भोमादेवी लिम्बु, महासचिवमा जानकी गुरुङ, सचिवमा जुनु गुरुङ र कोषाध्यक्षमा डिलाराम खरेल निर्वाचित भएका छन् ।

यस्तै क्षेत्रीय संयोजकहरुमा अमेरिका क्षेत्रमा कृष्ण पोखरेल, ओसियाना क्षेत्रमा केशव कँडेल र युरोपमा उल्का घिमिरे निर्वाचित भएका छन् ।

बाँकी पदहरुमा उम्मेदवारी नपरेको बताइएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख संरक्षक घले र महाधिवेसन आयोजक समितिका संयोजक उपाध्यक्ष सोनाम लामाले बधाई ज्ञापन गरेका थिए ।

एनआरएनएको गत अक्टोबरमा हुनुपर्ने महाधिवेसन आपसी विवादपछि पटकपटक सर्दै आएको थियो । पछिल्लो समयमा अध्यक्ष कुमार पन्त र प्रमुख संरक्षक शेष घलेले अलगअलग महाधिवेसन बोलाएका थिए । शुरुमा घलेको क्याम्पमा रहेका अध्यक्षका दाबेदार कुल आचार्य सो क्याम्प छोडी पन्त नेतृत्वसित सम्झौता गर्न पुगेका थिए । सम्झौताअनुसार अध्यक्षका आकांक्षीहरु डा बद्रि केसी, कुल आचार्य र रविना थापाले बाँडेर संस्थाको नेतृत्व गर्ने चर्चा छ ।

आचार्यले साथ छोडे पनि घलेले पूर्व घोषित महाधिवेसनलाई अगाडी बढाए र हलबाट नयाँ नेतृत्व घोषणा गरेर महाधिवेसनको समापन गरेका छन् ।

तर एनआरएनको वैधानिकता कसले पाउँछ भन्ने प्रश्नको जवाफ पाउन भने केही समय कुर्न पर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री