काठमाडौँमा बितेको एकदिन 

दुई पात रोटी र एक कप हरियो चिया पिएर मैले घर छाड्दा समय बिहानीको ९ बजिसकेको थियो । चैत्र महिनाको पारिलो घामले काठमाण्डौ सहरलाई छपक्कै ढाक्दा मेरा पाइतालाहरुले सुस्तरी गति लिन थालिसकेका थिए । त्यति सफा मौसममा चालिएका मेरा कदमहरु केहीबेरमा पिङ्गला स्थानमा पुग्यो । अनि टक्क एक छिन रोकियो ।

मुख्य सडकभन्दा केही अगाडी बग्रेल्ती ट्याक्सीहरु पार्क गरेर राखिएका भएतापनि मैले बस चढेर आफ्नो गन्तब्यतर्फ जाने निधो गरेको थिएँ । ट्याक्सीहरुलाई एक झलक नजर लगाएँ र बसको प्रतीक्षा गर्न थालें । नभन्दै एउटा बसले एक छिनपछि टुप्लुक्कै अनुहार झुल्काइ हाल्यो । त्यसरी झुल्किएको बस मेरो नजिक आउँदै गर्दा आँखाको थिर राम्रो नभएको हुनाले बस कुन ठाउँतर्फ जाँदै गरेको होला भनेर मलाई ठम्याउन निक्कै हम्मेहम्मे परिरहेको थियो । तर बस रोकिने बितिक्कै ‘आ जे सुकै मरोस् है’ भन्दै ढोकाको नजिकै पुगेँ र सहचालकलाई, ‘के बस महाराजगन्ज जान्छ ?’ भनेर जिज्ञासा ब्यक्त्त गरिहालें । उनी पनि के कम थिए र ? एकाइस्सौँ शताब्दीमा हुर्कँदै गरेको एक जना पटमूर्खले झैँ मुन्टो हल्लाएर मलाई जवाफ फर्काइ दिए ।

हुन त सबै सहचालकहरुको हर्कत भने त्यति नराम्रो हुन्छन् भन्ने केही छैन । दुर्भाग्यवस मैले त्यसबेला त्यस्तो नियति भोग्न बाध्य हुन पर्यो । उनको नरमाइलो स्वागतलाई आत्मसात गर्दै लगभग खाली रहेको बसभित्र पसेर म सुस्तरी हिँड्दै चालकको नजिकै पुगें । तर मैले बसको सिटमा आसन गर्न पाउँदा नपाउँदै उनले सुस्तरी क्लच दबाए र टङ्लङ्ग आवाज आउने गरी जब्बरजस्ती प्रथम गियर लगाए । बसको गियर लागेपछि मेरा मनका भावनाहरु बसका टायरहरु सँगसँगै गुड्न शुरु गरे । मेरो यात्रा सुरु भएको केहीबेरपछि गौशाला अनि चाबहिलको धुलाम्मे सडकमा बस बिलुप्त भयो र अनुहारभरि धुलो टालेर नायायण गोपाल चोक बिसौनीमा पुगेर अर्को चोटी रोकियो ।

मैले त्यसबेला काँधमा एउटा थोत्रो झोलो भिरिरहेको थिएँ र झोलाभित्र सरम मानेर लुकिरहेको म्याकबुक एअर – ल्यापटप र एप्पलकै १३ प्रो मोबाइललाई बसदेखि ओर्लदै गर्दा एकचोटी निश्चित गरें । त्यसपछि बाँसबारी सडकको पेटीमाथि लम्रङलम्रङ हिँड्न थालें र केहीबेरमा थाई राजदुतावासलाई पार गरेर ब्रिटिस गोर्खा कल्याणकारी केन्द्रमा पुगें । म त्यहाँ पुग्दा बिहानीको समय १० बजिसकेको थियो । त्यसैले हतारहतार कल्याणकारी कार्यालयको हातामा पुगेर मूल ढोकामा रहेकी स्वागतिकाको सामु सुरिलो पोजिसनमा खडा भइदिएँ । म उनको अगाडी त्यसरी खडा भएको देखेपछि उनले मेरो पूर्व सैनिक नम्बर सोधिन् र शिरको तापक्रम नापिन् । म त्यसबेलासम्म यथास्थानमा ठिङ्ग उभिरहेको थिएँ । तर उनले कम्प्युटरको स्क्रिनलाई हेर्दै, ‘मामा ! अहिले दश बज्यो, अब हामी चिया छुट्टीमा जादैछौं आधा घण्टा पछि भेटौला है,’ भनेर बिदा मागी हालिन् ।

उनको कुरो सुनेर म पुन: फर्केर कार्यालयको प्राङ्गनमा पुगें । त्यसपछि मेरो सामुन्ने देखा परेको खाली बेन्चमा थपक्कै आराम गर्न थालें र फुर्सतको समय सदुपयोग गर्नको लागि झोलाबाट बाङ्देलको पुस्तक, ‘स्पेनको सम्झना,’ निकालेर पढ्न थालें । मैले पुस्तक पढ्न सुरु गरेको मात्र के थिएँ । मेरो भान्जी ज्वाइँ महेन्द्र राई मेरो सामुन्ने अचानक झुल्कनु भयो । उहाँ सातौँ गोर्खा राइफल्सका पूर्व बेलायती गोर्खा सैनिक हुनुहुन्छ । तर मधुमेहको कारणले दाहिने खुट्टा काटिएपछिको त्यो भेट हाम्रो प्रथम भेट थियो । उहाँसँग भेटघाट भएपछि खुट्टा काटिनु अगाडीको र पछाडीको जिन्दगीलाई मैले राम्ररी तुलना गरें । जस्ले मलाई निक्कै असहज उत्पन्न गराएको थियो । उहाँलाई अचानक त्यस्तो अवस्थामा भेट्दा मैले मानव जीवनको विषयमा सोचेर केही समय मौन बसिरहें । तैपनि लामो समय पछिको हाम्रो भेटघाटले लगभग आधा घण्टा समय बितेपछि म पुन: स्वागतिकालाई भेट्नको लागि मुख्य ढोकामा खडा हुन पुगें । म त्यहाँ पुग्ने बितिक्कै उनले केहीबेर कुर्सीमा बसेर प्रतीक्षा गर्न भनिहालिन् ।

तिनै ज्वाइसँग गरेका नानाथरिका कुराहरु ह्रदयभरि सोच्तै कुर्सीमा आसन जमाएको केहीबेरमा ११ नम्बरको कोठादेखि मेरो नाम बोलाहट भयो । र, तिनै कोठामा काम गर्ने एकजना महिला कर्मचारीद्वारा मेरो हेल्थ स्क्रिनिङ् भयो । स्क्रिनिङको प्रक्रिया पूरा भएपछि ब्रिटिस गोर्खा कल्याणकारी कार्यालय बाग्मतीका डाक्टर मदन थापाले ६ दशक पार गर्न लागेको मेरो बूढो शरीरको पूर्ण परिक्षण गरे । त्यसपछि भित्रभित्र धोद्रो र खिया परेको शरीर लिएर म सरासर बाँसबारी सडकतर्फ लम्किन थालें ।

२४सैं घण्टा जाग्राम बस्ने चक्रपथमा म पुग्दा सडक पूरै धुलाम्मे हुन थालिसकेको थियो । तैपनि धूलोबाट बाँच्नको लागि मैले आँखामा चश्मा, नाक र मुख ढाक्नको लागि मास्कको प्रयोग गरिरहेको थिएँ । मेरा कदमहरु चोकमा पुग्ने बितिक्कै नजर ट्राफिक बत्तीमा रोकिरहेको एउटा बसमाथि पर्यो । म सुस्तरी हिँड्दै त्यस बसको नजिकै पुगेँ । अनि ट्वाल्ल परेर सडकको किनारमा एकछिन उभिरहें । प्राय: अन्य समयमा बसको सहचालक ढोकाको नजिकै झुन्डिएर विभिन्न गन्तब्यको नाम उच्चारण गरिरहेको मज्जाले सुन्न सकिन्थ्यो । तर त्यसबेला त्यस्तो केही सुनिएको थिएन ।

म त्यसरी ढोकाको नजिकै पुगेर सहचालकको उपस्थिति नदेख्दा एकछिन अलमल्ल परिरहेको थिएँ । तर अचानक बसभित्रदेखि एकजना लामालामा केस पालेका लिखुरे युवाले, ‘भित्र पसेर बस्नु भए हुन्छ,’ भनेको सुनेपछि म ढुक्क हुँदै सरासर बसभित्र पसेँ र, ‘कलङ्की जान्छ ?’ भनेर उनलाई ठाडो प्रश्न गरेँ । नभन्दै उनी पनि के कम थिए र ? ‘जान्छ,’ भनि हाले । उनको कुरो सुन्ने बितिक्कै म फूर्तिका साथ बसको अगाडीको भागमा रहेको खाली कुर्सीमा गिध्दे नजर लगाइरहेको थिएँ, त्यतैतिर हानिहालें ।

खाली सिटमा पुगेर मैले मज्जाले आसन जमाउँदा प्राय: बस खाली जस्तै देखिएको थियो । भाग्यले साथ दिएर अगाडीको नै सिटमा आसन गर्न पाएँ भनेर म मनभित्रदेखि प्रफूल्ल मुद्रामा थिएँ । अब तिनै रोजाइको सिटमा बसेर सरर मटरको यात्रा गर्न पर्यो भनेर मेरा मन ढुक्क भए । अझै चक्रपथबाट देखिने त्यस क्षेत्रको मुहार नदेखेको ठ्याक्कै २० वर्ष पूरा भइसकेको थियो । त्यसैले यस्तो अवसर घरिघरि जुर्दैन भनेर अति प्रशन्न मुद्रामा थिएँ । अगाडीको सिटमा मज्जाले आसन गरेपछि बस आफ्नो गन्तब्य पथमा लम्कन सुरु गर्यो । तर बसले आफ्नो गन्तब्य पथमा लम्कदै गर्दा त्यति फराकिलो सडकमा मलाई बसले कताकता तीन बाङ्गो कम्बर मर्काएर नाच्ने बेली डान्सको नर्तकीको प्रदर्शन जस्तो लाग्न थाल्यो ।

त्यति फराकिला सडक जम्मै मेरा हो भन्दै बस हाँक्ने चालकको ठ्याक्कै दाहिनेतिरको झ्यालमा परिमार्जन गरेर राखेको हर्नको एउटा स्यानो स्वीच थियो । तिनै स्वीचमाथि उनको दाहिने हातले मज्जाले आराम गरिरहेको मैले नजिकबाट नियालिरहेको थिएँ । अब दाहिने हात हर्नमा र बाँया हातले मात्र स्टेरिङ खेलाउँदा मेरो मनमा हल्का त्रास उत्पन्न भइरहेको हुन्थ्यो । उनले खेलाउने गरेको स्टेरिङ र स्टेरिङ कलमलाई राम्ररी नियाल्दै गर्दा मैले वर्षौ अगाडी अध्ययन गरेको स्टेरिङ ज्योमेट्रीका नियमहरु कास्टर एक्सन, क्याम्बर एङ्गल र एकरम्यान प्रिन्सिपललाई राम्ररी स्मरण गरिरहें ।

अझै उनले कनै कुनैबेला दुवै हात स्टेरिङदेखि हटाएर एक हातले हर्नको स्विच र अर्को हातले गियर खेलाउँदा भने मेरो ह्रदयले घरिघरि गति लिन छाडेको जस्तो महसुस हुन्थ्यो । उनको त्यो हर्कत र झन्झन् बसको गति बढिरहेको देख्दा मैले घरिघरि दाहिने खुट्टा उचालेर ब्रेक हान्न थालिसकेको थिएँ । अब उनको त्यति धेरै लापरवाही ड्राइभिङ्ले वाक्कदिक्क भएपछि कति धेरै खुट्टा तन्काउन अभ्यास गर्ने है भनेर सो स्थानबाट उठेर हिडने निधो गरें र करिब करिब बसको बीच भागमा रहेको खाली सिटमा पुगेर थपक्कै बसें ।

मैले त्यो सिटमा आसन जमाएपछि बस बालाजु नजिक पुगेर पुन: अर्को चोटि रोकिएको थियो । बस त्यसरी रोकिनाले खास्सै ठूलो असर त परेन तर एकजना अधबैसे महिला पहिले मसक्कै मस्किन् । त्यसपछि मेरो बायाँतिर रहेको खाली ठाँउमा आएर थपक्कै बसिन् । उनी सिटमा जमिएर बसेपछि बसले आफ्नो गति कायम नै गरिरह्यो । ती महिला म सँगसँगै बसेकी निक्कै लामो समय हुँदासम्म हाम्रो बोलचाल हुन सकेको थिएन । तैपनि बसले सुस्तरी स्वयम्भु काटेपछि, ‘बैनी ! म कलङ्कीमा झर्नु पर्नेछ, मलाई कलङ्की पुग्ने बेलामा थाहा दिनुहोस है ? किनभने मलाई कलङ्की बस बिसौनी अलिक राम्ररी थाहा छैन ?’ भनेर बिन्ती बिसाइ दिएँ । प्रति उत्तरमा उनले, ‘धन्दा मान्न पर्दैन, म पनि त्यहीँ झर्छु,’ भनेर जवाफ फर्काइन् ।

उनको जवाफ सुनेर म ढुक्कले आराम गर्दै यात्राको क्रममा देखिएका रमिताहरुलाई आफ्नो दिमागमा कैद गर्न थालें । अझै त्यति रोमान्चकारी बस यात्रामा सबैभन्दा बढी मनोरन्जन त बस रोकिएको बेला पो हुने गर्दथ्यो । किनभने हरेक बसका सहचालकहरुले यात्रुहरुलाई आफ्नो बसप्रति आकर्षण गर्न खोजिरहेको दृश्य मज्जाले हेर्न सकिन्थ्यो । त्यसपछि बसले केहीबेरमा स्वयम्भू पार गर्यो र कलङ्कीमा पुगेर पुन: आराम गर्यो ।

कलङ्की बस बिसौनीमा बस रोकिने बितिक्कै तिनै बैनी मेरो अगाडी अगाडी बसदेखि झर्न सुरु गरिन् । उनी झर्न सुरु गरेपछि म पनि चनाखो बनेर उनको पछिपछि उत्रिन थालिहालें । हामी बसदेखि उत्रने बितिक्कै एक हुल मानिसहरुले कुन ठाउँमा जाने हो भनेर हामीलाई पुरी लगे । उनीहरुको कार्यशैलीले म एकछिन अचम्मित त यस्सै भएँ तर बैनीले, ‘मेरो पछिपछि आउनोस्, किनभने यो जम्मै चितवन जाने गाडीहरु हुन्,’ भन्दै सरासर अगाडी हिँड्न थालेको देखेपछि उनको हुकुम शिरोपर गर्दै म पनि उनको पछीपछी लम्किन थालें । बसदेखि झरेपछि हामी दुवैजना लगभग ३-४ सय मिटर जति सँगसँगै अगाडि बढेका थियौँ । त्यसपछि ‘अब त्यो बाटो जानोस् है’ भन्दै बैनीले मसँग सँधैको लागि बिदा मागिन् ।

टेकु जाने बस देखाउन मद्दत गरेवापत आभार प्रकट गर्दै म तिनै बैनीसँग सधैंको लागि बिदा भएँ । र, म चाहिँ निर्धक्कको साथ अगाडी बढ्न थालें । नभन्दै सीधै अगाडीको एउटा घुम्ती पार गरेर हिँडेको केहीबेरमा लामो हर्नसहित एउटा बस मेरो अगाडि रोकियो । मध्यान्हको समयमा प्रचण्ड गर्मी थियो । त्यसैले गोजीबाट थोत्रे रुमाल निकालेँ र अनुहारको पसिना एकचोटी पुछेँ । अनुहारको पसिनाले सँधैको लागि बिदा लिएपछि ढुक्कले बसमा चढें । बसमा ढुक्कले चढेपनि मेरो मन त्यति लामो समयसम्म ढुक्क हुन सक्त्तै सकेनन् । किनभने बस अगाडी बढ्ने क्रममा सडक केही ओरालो थियो । तिनै ओरालीमा चालकले ब्रेक दबाउँदा ब्रेकबाट भिमकाय आवाज निस्केको सुन्न थालें । त्यसबाट निस्केको आवाज बसभित्र मात्र नभएर निक्कै टाढा रहेको बिष्णुमती नदीसम्म मज्जाले सुन्न सकिन्थ्यो । जतिजति ब्रेकको आवाज सुनिन्थ्यो उतिउति ब्रेक सु सकिरहेको र मेरो मन जलिरहेको थियो ।

अब के गर्ने ? अर्को स्टेसनमा झरेर बस फेर्ने कि यसैमा यात्रा गरिरहने ? म केहीबेर दोधारमा परेँ । ‘आ जे सुकै मरोस् है’ भनेँ । ब्रेक तातिएर जतिसुकै ह्विलड्रम रातो भएपनि मेरो टेकु जाने यात्रालाई मैले निरन्तरता दिइरहें । यदाकदा बसको ब्रेक फेल भयो भने बसको बीच भागमा छु सायद केही हुँदैन होला भनेर बेचैन मनलाई सान्त्वना दिन खोजें । मेरा मनभित्र अनेकौ आँधिबेरी चलिरहे पनि केहीबेरमा बसले कालिमाटी चोकमा पुगेर एकछिन आराम गर्यो । त्यही समयमा परेवाका जोडी जस्तै देखिने एकजोडी सुन्दर युवायुवती बसभित्र छिरे । उनीहरु बसभित्र पस्ने बितिक्कै युवतीले ठ्याक्कै मेरो अगाडीको सिटमा आसन जमाइ हालिन् र युवाले भने एकछिन दायाँ बायाँ हेरे र मसँगै भएको सिटमा आएर बसे । तिनै युवाले मलाई टेकु अस्पताल अगाडीको बस बिसौनी पत्ता लगाउन मज्जाले मद्दत गरे ।

त्यो भन्दा अगाडी त्रिपुरेश्वरको बाटो भएर म दुईचोटी टेकु अस्पताल पुगेको थिएँ । तर कालिमाटीदेखि भने त्यो मेरो बिल्कुल पहिलो अनुभव थियो । एकछिन पछि ‍बस टेकुको बिसौनीमा रोकिएपछि म ढल्कँदै ढल्कँदै अस्पतालमा पुगेँ । किनभने त्यसदिन मेरो रेबिज विरुध्दको तेश्रो अथवा अन्तिम डोज खोप लगाउने पालो थियो । वास्तवमा खोपको कुरो गर्दा मेरा पाखुराहरु धन्यवादका पात्र भइसकेका थिए किनभने एउटा जीवित प्राणीको लागि आफ्नो शरीर नै सबैभन्दा प्यारो लाग्ने गर्दछ । अझ यसो भनौँ यदि मानिसले जिन्दगीमा कुनै चिज मन पराउँछ भने त्यो निश्चय नै आफ्नो जिन्दगी हो । त्योबाहेक अरु सबै झुटा हुन् । सायद त्यसैले होला मैले यसै वर्ष तीन/तीन वटा कोरोना भाइरसविरुध्दको खोप, फ्लु खोप, टिटानस र रेविजको तिन/तीन वटा खोपहरु लगाएको सम्झँदा मेरो आङ्ग नै जिरिङ्ग हुन्छ । अब बाँकी रहेको जीवनमा अझै कति खोप लगाउनु पर्ने हो कुन्नि ? त्यो त समयले बताउँदै लैजाला । तर जति चोटि खोप लगाएपनि पश्चिमेली र पूर्वेली मुलुकमा खोप लगाइदिने मानिसहरुको ब्यवहार चाहिँ कसोकसो मैले निक्कै फरक अनुभूति गरें ।

पश्चिमी मुलुकहरुमा खोप लगाउनुभन्दा अगाडी केही प्रश्नहरु सोध्ने मात्र नभएर खोप लगाई सकेपछि १५ मिनेट जति आराम गर्न लगाउँछन् भने टेकुमा तीन/तीन चोटी खोप लगाउँदा पनि त्यहाँ काम गर्ने महिला कर्मचारीहरुसँग बोलचाल हुन नसक्त्ता हल्का अचम्मित भएको थिएँ । हुन त उहाँहरु ब्यस्त हुनुहुने रहेछ तैपनि पश्चिमेली मुलुकहरुमा जतिसुकै ब्यस्त भएपनि धन्यबाद र स्वागत भन्ने शब्दहरुको खर्च बरोबर भइरहने गर्दछ । आखिर हामी नेपालीहरु चाहिँ किन भद्र, नम्र र मिजासिलो हुन सकिरहेका छैनौँ भन्ने प्रश्नको उत्तर खोज्दै खोज्दै तिनै टेकुको साँघुरो गल्ली भएर त्रिपुरा मार्गतर्फ अगाडी बढें ।

त्यसरी त्यति सानो गल्लीमा हिँड्दै गर्दा कारहरुले पेलेर घरिघरि पसलका भित्तासम्म पुर्याइदिँदा भने केही खल्लो महसुस भइरहेको थियो तर सहिद शुक्रराज शास्त्रीको शालिक नजिकै पुग्न त्यति लामो समय भने मलाई लाग्दै लागेन । भर्खर भर्खरै खोप लगाएको थिएँ त्यसैले केही आरामदायी यात्रा होस् भन्नको लागि ट्याक्सीमा चढनु पर्यो भनेर ‘इनड्राइभर’ बाट एउटा ट्याक्सीलाई बोलाएर उनको प्रतीक्षा गर्न थालें ।

त्रिपुरा मार्गमा पुगेपछि सडक अति ब्यस्त थियो । र, म तिनै ब्यस्त सडकभित्र एकाध उभिरहेको थिएँ । तर प्रकृतिको नियम पनि अचम्मैको मान्नु पर्छ । केहीबेरमा अचानक कालिमाटीदेखि बटारिएर आएको आँधिबेरीले मेरा आँखाका ढकनीहरु एकास्सी बन्द हुन पुगे । अन्य समयमा म अन्न चपाउने मानिस त्यसबेला हावा र बतासले मेरा मुखभरि सडकका बालुवा भरिएकाले तिनै बालुवा चपाइरहेको थिएँ । त्यसरी एकास्सी बन्द भएका मेरा नयनहरु खुला हुन पाउँदानपाउँदै ट्याक्सी चालकले, ‘म आइपुगेँ,’ भनेर मोबाइलमार्फत जानकारी गराइ हाले । हावाहुरी, धुँवा र धूलोले बनाएको कोलाहलमय टेकुमा मलाई उनको ट्याक्सी नम्बर पत्ता लगाउन निक्कै कठिन पर्यो ।

मोबाइलमा देखिएको उनको ट्याक्सी नम्बर र मेरा वरिपरि देखिएको ट्याक्सीका नम्बरहरु रेखाङ्कित गरिरहेको थिएँ तर उनको नम्बर देख्नै सकिनँ । ट्याक्सीको केही मेसो पत्ता लगाउन नसकेर हार खाएपछि सोही स्थानमा उभिइ रहें । एकछिनपछि चालकले दिएको नम्बरभन्दा एउटा फरक नम्बर भएको ट्याक्सी मेरो सामुन्ने आएर टक्क रोकियो । २०-२२ वर्ष उमेर पुगेको जस्तो देखिने चालकलाई ट्याक्सी नम्बरको विषयमा देख्ने बितिक्कै कुरो राखिहालें । त्यो नम्बरलाई ट्राफिक प्रहरीले चिट काटेको हुनाले अर्को ट्याक्सीको प्रयोग गरेको हुँ भनेर थोरै मुस्कानसहित उनले जवाफ फर्काइ दिए ।

लामो समयको प्रतीक्षापछि ट्याक्सी आयो र ट्याक्सी जेड स्ट्रिट, ठमेलतर्फ गुड्न थाल्यो । हामी केहीबेरमा ठमेलको रामदा इन होटल नजिकै रहेको बेनामे क्याफेको सीधै अगाडी पुग्यौं । बिहान हसुरेको रोटी र चियाले लगभग बिदा लिइसकेको हुनाले मलाई थोरै भोक र तिर्खाले सताइरहेको थियो । त्यसैले ट्याक्सी रोकिने बितिक्कै क्याफेको काखमा टुप्लुक्कै पुगेर मुन्टोलाई वरिपरि घुमाउन थालें । म त्यहाँ पुग्दा क्याफे लगभग सुनसान जस्तै देखिएको थियो तर क्याफेको सीधै भित्रपट्टि एउटा सानो ट्राभल एजेन्टको कार्यालय देखिन्थ्यो । जहाँ एकजोडी अधबैँसे कर्मचारीहरु निस्फिक्री काम गरिरहेका थिए । बाहिर क्याफेको सुकोमल छातीमा चाहिँ दुई जना युवाहरु हाँसीखुसीका साथ कफी पिइरहेका देखिन्थे भने एकजना चिनियाँ मूलका मानिसले केहीपर एक कप ग्रिन टी पिइरहेको दृश्य देख्न सकिन्थ्यो ।

पहिले म त्यहाँ पुगेर एकछिन त्यतिक्कै टोलाइ रहें । तर भित्तामा लेखिएका मेनुलाई सर्सर्ती पढन थालें । मैले मेनु पढ्दै गर्दा क्याफेको पैसा लेनदेन गर्ने स्थानको ठीक पछाडि एउटी युवती मोबाइलमा झुन्डिरहेकी थिइन् । मेरो कर्के नजर केही सेकेन्ड उनीमाथि पर्यो । यसै त ठमेलका स-साना बाटाहरु त्यहीमाथि मध्यान्हको उखरमाउलो गर्मीले सहर तातिँदै जाँदा मलाई गर्मी र तिर्खाले सताइरहेको थियो । क्याफेको भित्तामा रहेको मेनु मज्जाले पढिरहेको बेला तिनै युवती कर्मचारीले, ‘हजुरलाई के टक्र्याउँ कुन्नि ?’ भनेर प्रश्न गरिन् । मैले उनको कुरो सुन्ने बितिक्कै, ‘एउटा लसी बनाइ दिनुहोस् है,’ भनेर अनुरोध गरें ।

‘ला ! लसी त छैन,’ उनले थोरै मुस्कानसहित जवाफ फर्काइ हालिन् ।

पहिले मुस्कान त्यसपछि क्रमश: धुमिल बन्दै गएको उनको मुहारलाई मैले एक झलक पढें त्यसपछि, ‘ल ! उसोभए ठिक्कै छ । जे छ सोही दिनुहोस् है,’ भन्दै उनीप्रति थोरै सहानुभूति प्रदर्शन गर्न खोजेँ ।

‘मिल्कसेक बनाइ दिउँ ?’ सुस्तरी अगाडि बढिन् र मेरो नजिकै आएर सादर अनुरोध गरिन् ।

‘भै हाल्छ नि,’ स्वीकारोक्त्ति जनाइ दिएँ ।

त्यति बोलिसकेपछि मैले नजिकै रहेको एउटा कुर्सी तानेँ र त्यसमाथि थपक्कै बसेँ । उनी काउन्टरको पछाडी भएतापनि मेरो सीधै अगाडी थिइन् । त्यसैले उनको कार्यशैलीलाई नजिकैदेखि नियाल्न सुरु गरेँ । उनले अलिकति दुध त्यसपछि थोरै बरफ ब्लेन्डरमा हालेर घोल्ने प्रयत्न गरिन् । तर उनको ब्लेन्डरले पटक्कै काम गर्न सकेको देखिएन । जेड स्ट्रिटको क्याफेमा एउटा निख्खुर कालो टी सर्ट र नीलो जिन्सको पतलुनले सजिएकी सुन्दरीले ब्लेन्डर चलाउन भगिरथ प्रयत्न गर्दा उनको अनुहारमा चिटचिट पसिना आउन थालेका बिरमाइलो दृश्य नजर लगाइ रहें ।

उनको कैयन प्रयत्नहरु असफल भएको देखेपछि मेरो दिल यस्सै यस्सै रोएर आयो । तैपनि भाग्यवस त्यसबेलासम्म मैले उनको नाम र थर जानिसकेको थिएँ । त्यति मीठो बोलिकी धनी सङ्गीता जिरेललाई, ‘ल भैगो, अब एउटा जसमिन चिया बनाइ दिनु होला,’ भनेर उनको कोसिसको अति आदर गरें । ‘आ….यति धेरै गर्मी छ, के चिया पिउनु हुन्छ है,’ भन्दै उनले ब्लेन्डरलाई जबरजस्ती चलाएरै छाडिन् ।

उनको कलिलो हातले दुई गिलास मिल्क सेक बनाइन् र एक गिलास मलाई दिइन् अनि अर्को गिलास उनी आफैंले पिउन सुरु गरिन् । हामी दुवै जनाले मिल्कसेक पिउँदै गर्दा, ‘के तपाइँलाई यहाँदेखि हिँड्दै सन्चयकोष बिल्डिङसम्म जाने छोटो बाटो थाहा छ,’ भनेर प्रश्न गरें । उनले, भनिन् ‘भित्र ट्राभल अफिसमा काम गर्ने भाउज्यूसँग जानु होला, किनभने भाउज्यू पनि उतै जाँदै हुनुहुन्छ ।’ उनको कुरोले मेरो मुहारमा लाली छायो । त्यसपछि तिनै भाउज्यूसँग हामी हिँड्दै त्रिदेवी सडकतर्फ लाग्यौ । भाउज्यूले महिनाको लगभग १५ हजार तलब दिएर क्याफेमा काम गर्न राखेकी सङ्गीतालाई, ‘के सङ्गीता तपाईको साथी हो ?’ भनेर सोधेको प्रश्नले मलाई केहीबेर अमुक बन्न बाध्य बनाइदियो ।

दिन ढल्कँदै जाँदै थियो तर मैले उनको प्रश्नको उत्तर दिन नसक्त्तै हामी स्वप्न बगैँचा (ड्रिम गार्डेन) काटिसकेको थियौं । मैले मन भित्रभित्रै त्यहाँदेखि अर्को ट्याक्सी समातेर बागबजारसम्म जाने योजना बनाएको थिएँ । ‘आ….. बागबजारसम्म नै जाने हो भने जाबो के ट्याक्सी चढ्नु हुन्छ, अब यति नै हिँड्नु भयो भने पुगिहाल्नु हुन्छ नि,’ उनले भनिन् । उनको भनाइमा केही सत्यता लाग्यो र कान्तिपथ सम्मको उनको यात्रालाई मैले साथ दिन सुरु गरिहालें ।

हाम्रा कदमहरु सुस्तरी तर क्रमश: अगाडी बढिरहेका थिएँ । जब हामी कान्तिपथ सडकमा पुग्यौँ, तब हाम्रो सामुन्ने  एउटा ब्यस्त जेब्रा क्रसिङ देखा पर्यो । मौसम अति सफा थियो त्यसैले अत्याधिक मोटरहरु गुडिरहेका त्यहाँ स्पष्ट देख्न सकिन्थ्यो । जेब्रा क्रसिङ पुग्ने बितिक्कै उनले सरासर बाटो काट्न थालिन् तर म चाहिँ उनी जति निडर छँदै थिइन् बरु अलिक लठेप्रो र डरछेरुवा रहेछु । त्यसैले सडकको किनारमा आरेमेरे परिरहें । अब मैले बाटो काट्न आँट नगरेपछि उनी फेरि बीच सडकदेखि फर्केर मेरो नजिकै आइन्, ‘विदेशमा जस्तो सडक पार गर्न स्वदेशमा कहाँ सजिलो हुन्छ र ?’ भनिन् र दाहिने हात माथि आकासतिर उठाएर मोटरहरु रोक्त्तै मलाई बाटो काट्न मद्त गरिन् ।

उनको सहयोगले बाटो पार गरेपछि उनी आफ्नो गन्तब्य कौशलटारतर्फ लागिन् । उनीसँग बिदा हुँदा बाटो काट्न सहयोग गरेवापत मैले उनलाई धेरैधेरै धन्यवाद दिएँ । तर कान्तिपथ सडक पार गरेपछि आखिर जेब्रा क्रसिङ्मा पनि पैदल हिँड्ने मानिसहरुलाई (प्रेडेस्ट्रियन) नेपाली चालकहरुले किन प्राथमिकता नदिएका होलान् भन्ने प्रश्नले मेरो मन केहीबेर हलचल बनाइ रह्यो । अझै सबैभन्दा खेदको कुरो त के छ भने म जस्तो सडकछाप मानिसहरुको दु:ख र पीडालाई ठूल्ठूला मानिसहरुले के वास्ता गर्लान र ? भन्दै लम्रङलम्रङ अगाडी बढिरहें । एकछिन पछि दरबारमार्ग पुगेर बाटो काट्नको लागि आँखा चिम्ले, बरु मर्छु तर बाटो पार गर्छु भन्दै जिन्दगीलाई दाउमा राखेर बाटो काटें । त्रिचन्द्र नजिकै पुग्दा बाटो काट्न सफल भएकोमा अति प्रफूल्लित थिएँ र हल्लिँदै हल्लिँदै बागबजारतर्फ लागें ।

जामे मस्जिद पार गरेर बागबजार घुम्ने बितिक्कै रत्न पुस्तक भण्डारमा छिरेको थिएँ र त्यहाँ पुगेर एकपटक टोकियो, मेरो पहिलो बेलायत यात्रा, नियात्रा विधा परिचय, सोभियत संघको सम्झना, पैदलै काठमाण्डौंका चुलीहरु किनेर झोलामा थपक्कै राखेँ । रत्न पुस्तक भण्डारका कर्मचारीहरु ज्यादै मिलनसार एवम् सहयोगी थिए र उनीहरुले मैले भने अनुसारका पुस्तकहरु खोज्न राम्ररी मद्दत गरे ।

तिनै पुस्तकहरु हातमा परेपछि म सुट-माला बागबजारतर्फ लागेँ । जहाँ मैले एकजोर सुट सिलाउनको लागि केहीदिन अगाडी नै अर्डर दिएको थिएँ । त्यहाँ पुगेर मेरो लागि तयारी बनाएर राखेको सुटको परीक्षण गर्दा पतलुङको एउटा खुट्टा लामो र अर्को छोटो सिलाएको देख्दा मेरो मन टङ्लङ्गै भाँचियो । आखिर मानिसको मन शिसाको जस्तै त हुन्छ । सानो कुरामा टुक्री हाल्छ ।

सहरको सबैभन्दा राम्रो टेलर भनेर श्रीमतीलाई बढाइचढाइ गरेको थिएँ । अब घरमा पुगेर के भन्ने होला भनेर थोरै पिरको भूँमरीमा डुबिरहें । अझै सबैभन्दा दु:खको कुरो त त्यो पतलुङ लगाउँदा ठ्याक्कै चार्ली चाप्लिन जस्तै देखिएको थिएँ र आफूले आफैंलाई ऐनासामू हेर्दा फिस्स हासें । नेपालको राजधानी काठमाण्डौमा नयाँ सुट पहिरिँदा भरङ्गै भएको मनलाई एकछिन पछि शान्त बनाएता पनि मुखले ज्यादै मीठो तर ब्यवहारले ज्यादै नमीठो गर्ने त्यो साहुजीको बोली सुन्दा मलाई ‘माइ बोस कलेक्सन – टेलर’ पुकेट थाइल्याण्डको यादले मनभरि सताइ रह्यो ।

सुट दोकानदेखि विक्षिप्त मन लिएर बाहिर सडकमा निस्केपछि सडक किनारमा पर्चा (लिफलेट) बाडिरहेको एकजना युवतीसँग मेरा नजर जुधे । भर्खरभर्खरै टिनेजर अवस्था पार गरेकी ती युवतीले मेरो हातमा ‘राम्रो र भरपर्दो काम खोजौँ, रोजगारको लागि ड्रिम हाइ रोजौँ’ भन्ने पर्चा थमाइ दिँदा म झसङ्ग झस्कें । किनभने रोजगारबाट दिनदिनै वाकदिक भएर म भर्खरभर्खरै निवृत्त हुन खोजिरहेको थिएँ । अब पर्चा हातमा परेपछि एक झलक पर्चा हेरेँ अनि सुस्तरी मुन्टो घुमाएर उनको मुहारतिर पारें ।

मेरो आँखा उनको आँखामा पर्ने बितिक्कै, ‘अध्ययन कति गर्नु भएको छ ?’ भनेर स्यानो प्रश्न तेर्स्याइ दिएँ । उनले जवाफ दिने क्रममा ‘दश कक्षासम्म सकेकी छु । अब पढ्न पनि मन लाग्तैन र दिनभरि यसरी पर्चा बाँड्ने काम पनि ज्यादै कठिन हुनेरहेछ’ भन्दै उनले दाहिने खुट्टाले जमिन कोट्याउन थालेकी थिइन् । जिना राई नाम बताउने ती पर्चावालीले मास्क लगाइरहेकी हुनाले मैले उनको जम्मै अनुहार भने हेर्न सकिनँ । तर त्यसबेला उनको त्यति नरम र मृदुभाषी बोलीले मेरो ह्रदय सुस्तरी पगाली रहेको अनुभव गरिरहेको थिएँ ।

बिहानको १० बजेदेखि बेलुकीको ५ बजेसम्म पर्चा बाँडेर महिनाको ८ हजार कमाउन उनी ताप्लेजुङदेखि सहर छिरेकी रहेछिन् । त्यति तलबले सबै नेपालीहरुको आकर्षक तर धुलाम्मे सहरमा घरभाडा, खाना, यातायात र मोबाइल फोन मात्र नभएर भड्किलो जीवनशैली कसरी ब्यवस्थापन गर्छिन् होली भनेर म केहीबेर स्तब्ध बनिरहें । उमेरले लगभग १८ वर्ष टेक्नै लागेकी ती अबोध युवतीसँग छुटिँदै गर्दा म मेरी छोरीलाई मनभरि स्मरण गरिरहेको थिएँ ।

मैले उनलाई अचानक भेट्दा, “जीवनमा अभाव हुनु जतिको पिडा अरु केही चिजमा हुँदैन,” भन्दै मैले मेरो बाल्यकाललाई निक्कै लामो समयसम्म सम्झिरहें । मेरो बाल्यपन र तिनै युवतीले बिताइरहेको कष्टकर जिन्दगीको बारेमा सोच्तै हिँड्दा म पुतलीसडकको चोकमा पुगिसकेको थिएँ । चोकदेखि बायाँ मोडिएर अलिक सुरक्षित स्थानमा पुगेपछि हरेक बसको सहचालकलाई ‘बस सिनामङ्गल जान्छ कि जाँदैन होला’ भनेर सोध्न थालिसकेको थिएँ । तर दुर्भाग्यवस मेरो सवालको जवाफ कुनै पनि सहचालकहरुले पटक्कै दिन मानिरहेका थिएनन् । केही अन्य उपाय नलागेपछी सुस्तरी देब्रेतिर फर्केर हिँड्न खोज्दै थिएँ । तर त्यसबेला मेरो छेवैमा उभिरहेको एकजना भलादमी मानिसले, ‘यहाँ होइन ! उ पर कमलादी सडकको अन्तमा गएर टेम्पो समात्नु भयो भने सिनामङ्गल पुग्न सकिन्छ,’ भन्दै मलाई ठाउँ देखाइदिनु भयो ।

तिनै भलादमी मानिसको भनाइ सुनेर म सुस्तरी त्यस स्थानतर्फ बढन थालें । उनले भनेझैँ केहीबेरमा सिनामङ्गल जाने एउटा सफा टेम्पो आयो र म शिर निहुँराएर त्यसभित्र छिरेँ । मैले टेम्पोभित्र आसन जमाएपछि त्यसले आफ्नो गति लिन सुरु गर्यो र मैतिदेवीमा पुगेर टक्क रोकियो । टेम्पो रोकिने बितिक्कै दुई जना अधबैसें महिलाहरु टेम्पोमा चढे र मेरो नजिक्कै कुम जोडेर बसिहाले । एकजनाले मसँगै कुम जोडेर बस्नाले मलाई अन्य केही फरक त परेको थिएन तर उनको काखीबाट निस्केको पसिनाले लुथुक्रै भिजेको रातो ब्लाउज मेरो आँखा अगाडी झल्झली नाँचिरह्यो । अझ त्यहाँदेखि उत्पन्न भएको गन्धले सुस्तरी मेरो छोटो नाकसम्म पुगेर ठोकिन थालेको थियो । तर जब सफा टेम्पो फोहोर टुकुचाको साँघुमाथि रोकिन पुग्यो तब पहिले नै भाँचिएको नाखलाई खोलाको दुर्गन्धले अन्त कतै हराइरहेको अनुभूति गरिरहें ।

बानेश्वर, काठमाडौँ

 

 

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री