बेलायत ‘रिटर्न्ड’ पूर्ण लोक्सम बने प्रदेश नं १ योजना आयोगको प्रमुख

लण्डन । बेलायतबाट नेपाल फर्किएका डा पूर्ण लोक्समलाई प्रदेश-१ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ।

पाँथरका लोक्समलाई प्रदेश सरकारले आज उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।

यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पालामा नियुक्त उपाध्यक्ष सुबोधराज प्याकुरेलको टीमले मुख्यमन्त्रीबाट राईसँगै पदमुक्त भएपछि राजिनामा दिएका थिए । नवनियुक्त डा लोक्सम पनि प्याकुरेलको नेतृत्वको टीममा तीन वर्ष सदस्य रहेका थिए ।

हङकङ हुँदै बेलायत आएका डा लोक्समले अर्थशास्त्र विषयमा बेलायतको लेस्टर विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनी बेलायतमा रहँदा नेकपा माओवादी केन्द्रको बेलायत प्रमुख थिए भने एमाले र माओवादी मिलेर बनेको नेकपाको पनि बेलायत प्रमुख रहेका थिए ।

आजै बेलायतबाट नेपाल पुगेका लोक्समले प्रदेश नं १ मा राजस्व वृद्धि, भएको पैसा व्यवस्थापन, खर्चको मितव्ययिता र गरिबीको तथ्याङ्क संकलनलाई प्राथमिकतामा राखी कार्य गर्ने बताए।

उनले प्रदेश नं १ लाई मात्र नभई नेपालकै आर्थिक मोडल परिवर्तन हुनुपर्ने बताए । आजभन्दा ५० वर्षअघि नेपाल र अहिलेको नेपाल आर्थिक सूचकांकमा धेरै पछि परेको दृष्टान्त दिँदै उनले वर्तमान विकास मोडलले काम नगरेको जिकिर गरे । यसलाई परिवर्तन गरी ‘रिभर्स अर्डर’मा आर्थिक मोडल बनाएपछि मात्र नेपाल समाजवाद उन्मुख बाटोमा जाने उनले बताए ।

प्रदेश नम्बर १ मा स्रोत साधनको खोजी अन्वेषणलाई आफूले पहिलो प्राथमिकता दिने उनले बताए । निर्यात नबढाएसम्म भिखारी मात्र रहने भन्दै उनले कम प्रतिष्पर्धामा अन्तर्राष्ट्रिय बजारमा बढी मुनाफा आर्जन गर्ने स्रोतहरुको खोजी गर्न समिति बनाएर अध्ययन गर्ने जानकारी दिए ।

प्रदेश मन्त्रीपरिषद बैठकले आयोगका सदस्यहरू पनि नियुक्त गरेको छ। सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (संखुवासभा),  नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अन्जु खड्का मोरङलाई नियुक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री