बेलायतमा ब्याजदर फेरि बढ्यो, होशियारीपूर्वक खर्च गर्न सुझाव

लण्डन । बैँक अफ इङ्ग्ल्याण्डले फेरि ब्याजदर बढाएको छ ।
बेलायतको केन्द्रीय बैँकले आज यसअघि शून्य दशमलब ७५ प्रतिशत रहेको आधारभूत ब्याजदर बढाएर १ प्रतिशत पुर्याएको छ ।
यो ब्याजदर सन् २००९ यताकै उच्च हो भने गत डिसेम्बर महिनायताको लगातार चौथोपटकको वृद्धि पनि हो ।
नयाँ ब्याजदरका कारण करिब २० लाख घरधनीहरुलाई तत्काल असर पर्नसक्ने बीबीसीले जनाएको छ ।
बैँक अफ इङ्ग्ल्याण्डका गभर्नर आन्ड्रयु बेलीले एकातिर उच्च मुद्रास्फिति र अर्कोतर्फ बाह्य प्रभावका कारण खुम्चिएको अर्थतन्त्रका कारण आफूहरु साँघुरो बाटोमा हिँड्नु परेको बताएका छन् ।

मिन दर्लामी

बेलायतमा कार्यरत चार्टर्ड फाइनान्सियल एडभाइजर मीन दर्लामी ब्याजर दर वृद्धि अझै हुने र यो आर्थिक वर्षको अन्त्य सम्ममा करिब २.२५ प्रतिशतसम्म पुग्नसक्ने बताउँछन् । ब्याजदर वृद्धिले तत्कालमा असर नदेखिए पनि केही महिनापछि प्रभाव देखिने उनको भनाइ छ ।
अहिले नै बैँकहरुले केन्द्रीय बैँकले तोकेकोभन्दा उच्च दर करिब २ प्रतिशत ब्याज दरमा मात्र ऋण दिन थालेको दर्लामीले जानकारी दिए । “पाँच महिनाअघिसम्म ०.९८ प्रतिशतमा ऋण निकालेका थियौँ । अहिले २ प्रतिशतभन्दा कममा कसैले लगानी गर्न मान्दैनन्”, उनले भने ।
प्रोपर्टी मार्केटमा प्रोपर्टीको संख्या नै मागभन्दा कम भएका कारण अहिले ब्याजदर वृद्धिले त्यति असर नदेखिएको उनको धारणा छ । तर एकातिर मुद्रा स्फिति यस वर्षको अन्त्यसम्ममा १०.५ प्रतिशतसम्म पुग्ने आँकलन रहेको र अर्कोतर्फ ब्याजदर बढ्दै जाँदा प्रोपर्टी मार्केटमा पनि असर देखिने उनको विश्लेषण छ ।
दर्लामीले ब्याजर दर र मुद्रा स्फिति बढ्दै गएकाले बेलायतमा रहेका नेपालीहरुलाई अत्यावश्यकबाहेकका कार्यमा खर्च गर्नुअघि सोच्न सुझाव दिन्छन् । “होशियारीपूर्वक खर्च गर्न थाल्नु आवश्यक छ किनभने आगामी दिनमा सबै सामानको मूल्य अझै बढ्दै जाने देखिन्छ”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री