यायोख्या नेपालका अध्यक्षको अभिव्यक्तिप्रति आपत्ति

लण्डन । किरात राई यायोख्या बेलायतले किरात राई यायोख्या नेपालका अध्यक्ष दिवस राईले हालै मिडियामा दिएको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेको छ ।
अध्यक्ष चन्द्रबहादुर राई र महासचिव चन्द्रवती राईले एक विज्ञप्ति प्रकाशित गरी यायोख्या नेपालका अध्यक्ष राईले बेलायतमा यायोख्याभित्र देखिएको आन्तरिक विवादलाई समाधान गर्न सकारात्मक र निस्पक्ष पहल नगरेको आरोप लगाएका छन् ।
यायोख्या नेपालका अध्यक्ष राई यही मे १६ मा यायोख्याको एक पक्षले आयोजना गरेको सामूहिकचुल्हा राख्ने कार्यक्रममा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ ।
विज्ञप्तिमा यायोख्या बेलायतको पहलमा किनिएको किरात राई हाउस ग्याम्बल्स लेनमा कुनै एक भाषी राई समुदायले बदनियतपूर्वक चुल्हा स्थापना गरेपछि बेलायतका राईहरुमा विवाद सृजना भएको उल्लेख छ । यायोख्या नेपालका अध्यक्ष राईले बेलायत भ्रमणका अवसरमा सो चुल्होलाई नै मान्यता दिन खोजेपछि यायोख्या बेलायतको एक समूहले आपत्ति प्रकट गरेको हो ।
विज्ञप्तिमा यायोख्या नेपालका अध्यक्ष राईको किरात राई हाउस ग्याम्बल्स लेनमा हुने भ्रमण असफल पार्न र यसबाट उत्पन्न हुने सबै किसिमको परिस्थितिको सामना गर्न तम्तयार रहन पनि बेलायतबासी किरात राईहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री