बेलायतमा उर्जामा चर्को मूल्यवृद्धिबाट आहत नागरिकलाई सहयोग गर्न विशेष योजना

अर्थ मन्त्री ऋषि सुनक

लण्डन । बेलायतका अर्थ मन्त्री ऋषि सुनकले चरम मूल्यवृद्धिसित जुधिरहेका नागरिकहरुका लागि राहतको प्याकेज ल्याएका छन् ।
आज बेलायती संसदमा बोल्दै उनले १५ बिलियन पाउण्डको सो प्याकेजको घोषणा गरेका हुन् ।
जसअनुसार हरेक घरले उर्जाका लागि ४०० पाउण्ड पाउने छन् भने गरिबीको रेखामुनी रहेका परिवारले ६५० पाउण्ड पाउने छन् ।
उर्जा कम्पनीहरुबाट करिब ५ बिलियन पाउण्ड अतिरिक्त कर लगाई सो रकम संकलन गर्ने सरकारको योजना रहेको छ भने बाँकी १० बिलियन पाउण्ड राष्ट्रिय ढिकुटीबाट सापटी लिइने छ । सरकारले उर्जा कम्पनीहरुलाई अस्थायी रुपमा टेम्पोररी टार्गेटेड इनर्जी प्रोफिट लेबीवापत उनीहरुको नाफामा २५ प्रतिशत कर लगाउने भएको छ ।
यसरी जम्मा गरिएको कोषबाट करिब ८० लाख घरधुरीलाई प्रति घर ६५० पाउण्ड सहयोग गरिने छ भने जाडो याममा इन्धन भत्ता पाउने करिब ८० लाख सेवानिवृत्त पेन्सनरहरुलाई जनही ३०० पाउण्ड दिइने छ । यस्तै, अपाङ्गता भएकाहरुलाई थप १५० पाउण्ड अतिरिक्त सहयोग दिइने छ ।
यसअघि हरेक घरले २०० पाउण्ड पछि तिर्नपर्ने गरी उर्जा सहुलियत पाउने घोषणा गरिएकोमा त्यसलाई बढाएर ४०० पाउण्ड पुर्याइएको छ भने सो रकम फिर्ता गर्नुपर्ने छैन ।
कोरोना भाइरसको महामारीबाट बाहिर आउनासाथ बेलायतमा मुद्रास्फिति अत्यन्तै उच्च छ भने हरेक सामानको मूल्य अचाक्ली बढेको छ । उर्जामा त झन कल्पना नै गर्न नसक्ने गरी मूल्यवृद्धि भएको छ । सो संकटलाई टार्न यसअघि पनि सरकारले विभिन्न योजना ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री