बीसीसी युकेद्वारा मन्त्री पौडेलको स्वागत 

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई स्वागत गरेको छ ।

गत बुधबार २५ मेका दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा मन्त्री पौडेललाई बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले स्वागत गरेका हुन् । सो अवसरमा उनीसँगै नेपालबाट आएका उनका स्वकीय सचिव राजेन पौडेल र नेपाली जनप्रगतिशील मन्च युकेका मानबहादुर गुरुङलाई पनि खादा लगाई स्वागत गरिएको हो ।

शिक्षासम्बन्धी एक विशेष कार्यक्रममा बेलायत आएका मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्थाहरुसँग भेटघाट गर्ने क्रममा बीसीसी युकेको अल्डरसटस्थित गुम्बाको भ्रमण गरेका हुन् । सम्भवत उनी बीसीसी युके गुम्बामा प्रवेश गर्ने पहिलो नेपाली मन्त्री हुन् । 
बीसीसी युकेका धर्म गुरु खेन्पो कुन्ख्याप, लोपेन नोर्बु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, आमा समूह, सल्लाहकारलगायत भक्तजनहरुको विशेष उपस्थितिमा स्वागत गरिएको थियो । सो अवसरमा माननीय मन्त्री पौडेल बौद्ध शिक्षाको बारेमा बोल्दै विदेशी भूमिमा बीसीसी युकेले बौद्ध गुम्बा स्थापनाको प्रसंशा गरेका थिए । त्यस्तै, बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले मन्त्री पौडेलको स्वागत गर्दै बीसीसी युके गुम्बाले गर्दै आएको विभिन्न कार्यक्रम, सेवा र च्यारिटीमूलक कार्यहरुबारे जानकारी गराएका थिए । त्यस्तै, धर्म गुरुहरुले सबै मानवजातिको सुख, समृद्धिका लागि पूजापाठ गरेका थिए । 
बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रमलाई महासचिव क्याप्टेन देव घलेले संचालन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री