पत्रकार महासंघ युकेमा सहमति

लन्डन। नेपाल पत्रकार महासंघ यूकेभित्रको विवाद अन्त्य भएको छ । गतवर्ष सम्पन्न शाखाको पांचौं अधिवेशनपछि देखिंदै आएका असन्तुष्टिहरुलाई सम्बोधन गर्दै आइतबार सहमति गरिएको छ।
चार बुँदे सहमति पत्रमा शाखाका अध्यक्ष ध्रुवराज अर्याल र असन्तुष्ट समूहका तर्फबाट विपिन निरौलाले हस्ताक्षर गरेका छन्।
शाखाको ध्रुवराज अर्याल नेतृत्वको कार्यसमितिलाई एकतावद्ध रुपमा सहयोग गर्ने, विपिन निरौला नेतृत्वका समितिका सबै गतिविधि बन्द गर्ने र निरौला शाखाको पूर्व अध्यक्षको मर्यादाक्रममा रहने सहमति भएको छ ।
सहमतिअनुसार शाखाको सल्लाहकारमा निवर्तमान महासचिव संजयभक्त कंडेल, निवर्तमान सचिव डा जगन कार्की, एभरेष्ट गौतम, बिमला लिम्बू र कर्मा पहाडी शेर्पालाई मनोनयन गरिने छ र सदस्यता नभएकाहरुको हकमा शाखाले प्रकृया पूरा गरेर सदस्यता प्रदान गरी सल्लाहकार नियुक्त गर्नेछ।
शाखामा नविन पोखरेल, चिरन शर्मा, नरेश खपांगी, विपिन निरौला, भगीरथ योगी, श्याम लुईटेल र विमला सेने रहेको एक संरक्षकमण्डल रहने व्यवस्था गरिनेछ । त्यस्तै, शाखामा नयाँ सदस्यता खुला गर्ने र निरौलाको सिफारीसमा कम्तिमा सकृय पत्रकारिता गरिरहेका ६ जनालाई शाखाको नियमअनुरुप सदस्यता दिइनेछ । कार्यसमितिमा ठाउँ खाली भएमा निरौलाको सिफारिशमा योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना सदस्यहरु थप्ने सहमति पनि गरिएको छ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालले संस्थाको विधान र प्रक्रियामै रहेर असन्तुष्टिहरुको सम्बोधन गर्ने गरी सहमति खोज्ने प्रयास गरिएको बताए । सहमति निर्माणको लागि भूमिका निर्वाह गर्ने सबै पक्षप्रति धन्यवाद दिंदै अध्यक्ष अर्यालले शाखालाई थप एकताबद्ध र सहभागितामुलक बनाउँदै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
त्यस्तै, प्रस्तावित संरक्षक विपिन निरौलाले पनि शाखाको एकतालाई महत्व दिंदै सहमति गरिएको बताएका छन् । सबैबाट सहमतिको पूर्ण कार्यन्वयन हुने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री