मगर भाषाका आदिकविको योगदानबारे छलफल

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर कवितामा आदिकविद्वय जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्तीका सन्दर्भमा विचार–‘मगर कविताका आदिकविद्वय जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको योगदान’ विषयक विचार–गोष्ठी आयोजना गरियो ।
विचार–गोष्ठीलाई सम्बोधन गर्नुहुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मगर मातृभाषा कविता–साहित्यका आदिकवि राष्ट्रकै निधि भएको बताउनुभयो । “राज्य पुनःसंरचना भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानले मुलुकमा बोलिने हरेक मातृभाषा, तिनका साहित्य तथा संस्कृतिको अध्ययन–अनुसन्धान जारी राखेको छ” उहाँले भन्नुभयो– “यस क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाको सम्मान गर्ने नीति हामीले अघि बढाएका छौँ । यसअनुसार मातृभाषी स्रष्टाहरूको योगदानलाई लिएर यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरिएको छ ।”
राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले मगर भाषाका आदिकविद्वय जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्तीका सन्दर्भमा आदिकविद्वयको योगदानका सम्बन्धमा आयोजित विचार–गोष्ठी महत्त्वपूर्ण भएको विचार व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम ऐतिहासिक भएको र टीकारम उदासीले प्रस्तुत गर्नुभएको गोष्ठीपत्र निकै गहन रहेको धारणा राख्नुभएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले नेपाल प्रज्ञा–प्रतिष्ठानले साहित्य (मातृभाषा) विभाग नै खोलेर नेपालभित्र बोलिने मातृभाषाका साहित्यको विकासका लागि थुप्रै उल्लेखनीय कामहरू गर्दै आएको बताउनुभयो । उहाँले हिमाल–पहाडमा बोलिने मातृभाषा साहित्यमा उल्लेखनीय योगदान पु¥याउने स्रष्टाहरूलाई प्रज्ञा मातृभाषा साहित्य पुरस्कार प्रदान गरिँदै आएको र हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गर्ने गरिएको बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले साहित्य (मातृभाषा) विभागले मुलुकभित्र बोलिने सबै मातृभाषाका साहित्यलाई समानरूले हेर्ने गरेको उल्लेख गर्दै मगर कवितामा आदिकवि दुईजनालाई नै भन्नु भन्दा पनि दुई जनामध्ये कसलाई चाहिँ आदिकविका रूपमा मान्ने हो ? निश्चित गर्न पाए राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले राज्यको तर्फबाट मगर मातृभाषी आदिकवि जयन्ती मनाउनु स्वागतयोग्य रहेको बताउनुभयो ।
गोष्ठीमा टीकाराम उदासीले गोष्ठी–पत्र प्रस्तुत गर्दै भन्नुभयो– “जनसङ्ख्याका हिसाबले मगर जाति तेस्रो स्थानमा पर्दछन् । भौगोलिक रूपमा मगर समुदायले ढुट, खाम (पाङ), काइके र पोइके गरी चारवटा भाषा बोल्दछन् । भाषा आयोगले पछिल्लो पटक गरेको अध्ययनले पोइके भाषाको पहिचान भएको हो । बहुसङ्ख्यकले मगर ढुट भाषा बोल्छन् । जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगर ढुट भाषाको आदिकवि घोषणा भएको धेरै भएको छ । सिञ्जाली र थापाले २०१६ सालमा ‘मगराती भाषाङ ल्हिङ ड टुक्काऔ कीटाब’ (मगराती भाषामा गीत तथा टुक्काको किताब) संयुक्त कृति प्रकाशित गरेका थिए । ‘प्रकाशनका सन्दर्भमा भने सर्वप्रथम विमातृभाषी बालकृष्ण रुपावासी (पोखरेल)को ‘कानुङ लाम’ (नयाँ बाटो) गीति कवितासंग्रह २००९ सालमा प्रकाशित भएको थियो” उदासीले भन्नुभयो– “स्वभाषीले सिर्जना गरेको मगर भाषा साहित्यको यो नै पहिलो पुस्तक थियो । संयुक्त संग्रहमा दुई जनामध्ये कुन कसको रचना हो भनेर नछुट्टिएकाले नेपाल मगर संघले दुवै जनालाई मगर आदिकवि भनेर घोषणा गरेको हो ।”
गुल्मीको ठूलो लुम्पेकमा १९८८ जेठ १८ गते जन्मिएका स्रष्टा जितबहादुर सिञ्जालीको ‘मगर भाषाका सुरुऔ किताब’, ‘ल्हेस्म राहानाङ’, ‘पुनरागमन’, ‘गमन’, ‘गोलभाव’, ‘बुद्धदर्शन’लगायत दर्जनभन्दा बढी कृति मगर र नेपाली भाषामा प्रकाशित छन् । युगचेतना, सामाजिक सरोकार, जनपक्षीय चिन्तन र सामाजिक परिवर्तनकामी आदिकवि सिञ्जालीको २०७५ पुस ८ गते निधन भएको थियो ।
यसैगरी अर्का आदिकवि रेखबहादुरको जन्म २००१ भदौ २८ गते तनहुँको भिरकोट अर्चल्दी गाउँमा भएको थियो । उनको ‘फुन्च–ठलके’ (जन्मभूमिलाई) कविता कृति प्रकाशित छ भने ‘कानुङ नेपाल’ (हाम्रो नेपाल) प्रकाशोन्मुख रहेको जनाइएको छ । उहाँको २०६१ असारमा निधन भएको थियो ।
मगर साहित्यका लेखक लोकबहादुर थापा मगरले मगर समुदायमा बोलिने भाषामध्ये ढुट सबैभन्दा समृद्ध रहेको बताउनुभयो । ‘२००७ सालयता मगर भाषा लेख्य परम्पराको विकास भएको छ,” दर्जनभन्दा बढी कृतिका सर्जक मगरले भन्नुभयो– “मगर साहित्य विकासको हिसाबले २०४५ सालसम्म पहिलो चरण, २०६२ सालसम्म दोस्रो र २०६२÷६३ जनआन्दोलनपछि तेस्रो चरणका रूपमा लिइएको छ ।”
उहाँकाअनुसार अहिलेसम्म मगर भाषामा ४८ वटा कवितासङ्ग्रह, १९ वटा कथासङ्ग्रह, १७ वटा उपन्यास, ७ वटा गजलसङ्ग्रह, ६ वटा मुक्तकसङ्ग्रह, चार–चार वटा गीत, निबन्ध र नाटक कृति, ३ वटा खण्डकाव्य कृति प्रकाशित छन् । त्यस्तै ३५ वटा चलचित्र र १८ वटा वृत्तचित्र निर्माण भएका छन् ।
कार्यक्रममा प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभाका सदस्यहरू, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री