बेलायतमा हप्तामा चार दिन कामको परीक्षण शुरु

लण्डन । बेलायतमा हप्तामा चार दिन काम गर्दा कस्तो नतिजा आउने रहेछ भनेर आजदेखि परीक्षण शुरु गरिएको छ ।
पाउँदै आएको तलव नघट्ने तर काम गर्ने दिन मात्र घटाउँदा कस्तो प्रभाव पर्नेरहेछ भनेर अध्ययन शुरु गरिएको हो । यस योजनामा बैँकहरु, अतिथि सत्कारका क्षेत्र, हेरचाह र एनिमेसन स्टूडियो लगायत ७० कम्पनीका ३ हजारभन्दा बढी कर्मचारीहरु सामेल छन् ।
६ हप्तासम्म चल्ने यस अध्ययनलाई हालसम्मकै विश्वको सबैभन्दा ठूलो परीक्षणका रुपमा लिइएको छ । यस अध्ययनमा विश्वविद्यालयका अनुसन्धाताहरु र रोजगारदाताहरुले संयुक्तरुपमा नयाँ कार्यतालिकाको प्रभावकारिता र कर्मचारीहरुको स्वास्थ्यवस्थाको बारेमा बुझ्न पाउनेछन् । यसका साथै वातावरण र लैङ्गीक समानताका बारेमा पनि अध्ययन गर्नेछन् ।
यस अनुसन्धानका प्रमुख अनुसन्धाता जुलियट श्वोरले चार दिन कामलाई सामान्यता तीनतिरबाट लाभ दिनसक्ने नीति ठानिएको बताएकी छिन् । जसमा कर्मचारी, रोजगारदाता र वातावरणलाई मद्दत पुग्ने ठानिएको उनले थपिन् ।
फो डे वीक ग्लोबलका प्रमुख कार्यकारी जो ओकोनरले बेलायत विश्वभर चार दिन मात्र काम गर्ने अभियानको उच्चतम विन्दुमा रहेको बताए । महामारीका कारण मानिसहरुले घरबाटै काम गरेका कारण पनि यस अवधारणाले गति पाएको उनको भनाइ छ ।
चारदिन मात्र काम गर्ने अवधारणा कोभिडभन्दा अगाडी नै आएको हो । लेबर पार्टीका तत्कालिन नेता जेरेमी कोर्बिनले सन् २०१९ को आमचुनावको घोषणा पत्रमा यो अवधारणा राखेका थिए ।
यस अनुसन्धानमा सहभागी च्यारिटी बैँकका प्रमुख कार्यकारी अधिकृत एड सिगल महामारीपछि चार दिन काममा फर्कनु सामान्यवस्था ठान्छन् । पाँच दिन काम बीसौँ शताब्दीको अवधारणा भन्दै उनले यो एक्काइसौँ शताब्दीको व्यापारमा उचित नहुने बताए ।
उही तलबमा चार दिन काम गर्दा कामदारमा खुशी ल्याउने र त्यसले व्यापार उत्पादन, ग्राहकको अनुभव र सामाजिक वातावरणमा पनि सकारात्मक परिणाम दिने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री