सातौँ वातावरण साहित्य गोष्ठी सम्पन्न

लन्डन । इको साहित्यलाई प्रबर्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गरेको छ । पर्या साहित्यबारे चर्चासँगै विभिन्न विधामा इको सिर्जना वाचन गर्दै गोष्ठी सम्पन्न भएको हो ।
विश्व वातावरण दिवसका अवसर पारेर आइतवार जुन ५ तारिखमा महासंघले एक दिने सातौं वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गरेको अध्यक्ष विजय हितानले बताए ।
महासंघले सन् २०१६ देखि यूकेमा नियमित रूपमा वातावरण गोष्ठीलाई निरन्तरता दिँदै आएको छ ।
‘इको साहित्यलाई थप व्यापक बनाउन हामीले वातावरण साहित्य गोष्ठी गर्दै आइरहेका छौँ । यस वर्ष सातौँ संस्करण भर्चुअल रूपमा जुममार्फत सम्पन्न भयो,’ कार्यक्रम संयोजक समेत रहेका हितानले भने, ‘पर्यावरण साहित्यबारे परिचर्चा गरियो । त्यस्तै, बेलायत, नेपाल, भारत र अन्य मुलुकबाट जम्मा भएका साहित्यकारहरूले इको सिर्जना सुनाए ।’
चर्चित कवि एवम् सञ्चारकर्मी विमला तुम्खेवालाई प्रमुख अतिथिका रूपमा गोष्ठीमा निम्त्याइएको थियो । तुम्खेवा दर्जन बढी राष्ट्रिय पुरस्कारले सम्मानले पुरस्कृत कवि हुन् । उनी सञ्चारिका समूह नेपालकी अध्यक्ष समेत हुन् । ‘जसरी प्रेमलाई यो गोलार्ध र अर्को गोलार्धमा बसेका मानिसले समान रुपमा महसुस गर्छन् त्यसरी नै वातावरणीय विनासले ल्याउने पीडालाई बल्ल पृथ्वीका हामी सबै मानिसले बरावर महसुस गर्ने छौं । त्यसर्थ त्यो पीडाबोध हुन अघिनै पर्यावरण संरक्षणमा केही गर्नपर्ने देखिन्छ,’ उनले भनिन् ।
त्यस्तै, पर्यावरण र नारीकेन्द्रित समालोचना पुस्तकका लेखक डा. गीता त्रिपाठीलाई विशेष अतिथि र पर्यावरण साहित्यमा विद्यावारिधि तहमा अध्ययन गर्दै गरेका हरिप्रसाद काफ्लेलाई वक्ताका रूपमा निम्त्याइएको थियो ।
सन् १९७४ बाट मनाउन थालिएको विश्व वातावरण दिवस प्रत्येक वर्ष जून ५ मा मनाइन्छ ।
यस गोष्ठीमा महासंघले तयार पारेको आठ वटा इको गीतहरूको गीति संग्रह सार्वजनिकीकरण गरिएको यसका संयोजक साथै उपाध्यक्ष थिर थापाले बताए । त्यसैगरी, गत वर्षको जून ५ र ६ मा आयोजित दुई दिने छैटौँ वातावरण साहित्य गोष्ठीमा सहभागी सर्जकहरूमध्ये उत्कृष्ट ठहरिएका दुई जनालाई वातावरण साहित्य पुरस्कार प्रदान गरियो । इको मुक्तक वाचनमा काठमाडौँकी सीता भण्डारी कणेल र संखुवासभा घर भई जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट मुक्तककार घोषित भएकी थिइन् । उनीहरूलाई जनही दस हजार रूपैयाँ र प्रमाणपत्र समेत प्रदान गरियो ।
गत वर्ष करिब छ दर्जन बढी सर्जकहरूले इको सिर्जना वाचन गरेका थिए । विनेसाम साउथ यूकेका सचिव अमित थेवेले सञ्चालन गरेको कार्यक्रममा २६ जना कविहरूले इको सिर्जना वाचन गरेका थिए ।
सोही दिनमा विश्व नेपाली साहित्य महासंघ दक्षिण यूके शाखाको सहकार्यमा नेपाल र भारतमा तीन छुट्टाछुट्टै पर्यावरणीय गोष्ठी सम्पन्न भएका छन् ।
पाठक मञ्च बुटवलले आयोजना गरेको ‘वातावरण संरक्षणमा स्थानीय चुनौती’ विषयक निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीरूमध्ये उत्कृष्ट पाँच छनोट गरिएको पाठक मञ्च बुटवलले जनाएको छ । जसमध्ये, दीप बोर्डिङ्ग हाई स्कूलका कसिस पाठक, तिलोत्तमा माविकी पूजा क्षेत्री, कालिका मानवज्ञान माविकी स्नेहा पोखरेल, न्यू लाईट माविका समिर पन्थ र बुटवल माविका ज्ञानबहादुर गाहा छन् । उत्कृष्ट पाँचै जनालाई विश्व वातावरणका दिन जनही दुई हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी पृथ्वीनारायण क्याम्पस पोखरामा पनि कानून विषयमा अध्ययनरत विद्यार्थीहरुले ‘पर्यावरणमैत्री शिक्षा आजको आवश्यकता’ विषयमा वक्तृत्वकला प्रतियोगिता राखेर विश्व वातावरण दिवस मनाएका छन् । यसको संयोजन गरेका प्राध्यापक दीपक पराजुलीले विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताए । त्यस्तै, उता भारतको गुहावटी, असममा पनि पर्यावरणीय कविता प्रतियोगिता आयोजना गरिएको संयोजक डा. देवेन सापकोटाले जनाए । प्रतियोगितामा ६५ वटा इको कविताहरू प्राप्त भएका थिए । कार्यक्रमको आयोजना देउराली साहित्य सामाजिक मन्च गुहावटी र इन्द्रेणी प्रकाशन असमले गरेका थिए । असममा पर्यावरणीय साहित्य परिचर्चा र कविता वाचनको पनि आयोजना गरिएको थियो । भर्चुअल रूपमा भएको कार्यक्रममा ४८ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री