काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक भएपछि राजनीतिक बखेडा झिकिएको बताउनुभएको छ ।
”देश र जनतालाई केन्द्रमा राखेर बजेट बनाउँदा मैले गल्ती गरे भन्ने लाग्दैन । बजेट निर्माणका प्रक्रिया र पद्धतिलाई अक्षरशः कार्यान्वयन गरिएको छ । यस विषयलाई राजनीतिक एजेण्डा बनाउनु गलत छ । केही उपाय नपाएपछि मलाई देखाएर समग्र सरकार र गठबन्धनमाथि प्रहार गर्न खोजिएको हो”, शर्माले भन्नुभयो ।
आयात घटाउने र उत्पादन बढाउने एवं किसानलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि केहीलाई छटपटी भएको उहाँको भनाइ छ । हुँदै नभएको कथा बुनेर सरकार, अर्थ मन्त्रालयप्रति गरिएको टिकाटिप्पणीप्रति उहाँले गम्भीर आपत्ती जनाउनुभयो ।
बजेट निर्माणको अन्तिम दिन मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको स्पष्ट पार्दै उहाँले अर्थसचिव, राजश्व सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सम्बन्धित विभागका प्रमुख सम्मिलित समूहले बजेट तयार पारेको र त्यसमा नीतिगत मार्गदर्शन मात्रै आफूले गरेको अर्थमन्त्री शर्माले बताउनुभयो ।
बजेट निर्माणको इतिहासमा पहिलो पटक सबै वर्ग, क्षेत्र, समूह तथा सरोकारवालाको चासो र चिन्तालाई छलफल तथा संवादका माध्यमबाट समेटिएको उल्लेख गर्दै उहाँले कुनै पनि बहाना नपाएपछि करको दर हेरफेर गरेको तथा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने जस्ता कथा बुनिएको बताउनुभयो ।
अर्थमन्त्रीले भन्नुभयो, ”कथामा भनिएको १२ बजेको समयमा म मन्त्रालयमा थिइनँ, मन्त्री निवासमा थिएँ । मन्त्री निवासको सुरक्षाकर्मीसँग गएर बुझ्नुस् ।” उहाँले सरकार र गठबन्धनप्रति लाञ्छना लगाउने र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने षड्यन्त्र गरिएको र सरकारलाई हिलो छ्याप्न खोजिएको टिप्पणी गर्नुभयो ।
बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते अनाधिकृत मानिसलाई मन्त्रालयमा प्रवेश गराएर अर्थमन्त्रीले करको दर हेरफेर गरेको तथा केही व्यापारिक समूहको स्वार्थअनुसार काम गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रतिनिसभामा विरोध जनाएको छ ।
मङ्गलबार पनि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूचीमा अर्थमन्त्रालय समावेश थियो । एमालेले विरोध गरेपछि मङ्गलबार पनि अर्थमन्त्रीले संसद्मा जवाफ दिन पाउनु भएन । बुधबार पनि अर्थ मन्त्रालयको जवाफ दिने विषय कार्यसूचीमा नै परेन । एमालेले संसदीय छानबिन समिति वा राजीनामा नदिँदासम्म अर्थमन्त्रीलाई जवाफ दिन नदिने जिकिर गरिरहेको छ ।
”देश र जनताको पक्षमा काम गर्दा संसदीय छानबिन ? मान मर्दन ? मैले के अपराध गरेको छु । देश र जनताको पक्षमा काम गर्नु अपराध हो ? सवाल रह्यो, अनाधिकृत व्यक्तिको ? त्यसदिन मन्त्रालयमा कुनै पनि अनाधिकृत व्यक्ति आएका छैनन् र आउने हिम्मत पनि गर्दैनन्”, अर्थमन्त्रीले भन्नुभयो ।
मन्त्रालयमा को–को मानिस आउँछन्, त्यसको सबै जानकारी आफूलाई नहुने भन्दै उहाँले बजेटमा विरोध गर्ने कुनै पनि उपाय नपाएपछि राजनीति गर्ने अभिप्रायका साथ विरोधका लागि विरोध गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले शेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई स्पष्ट निर्देशन गरेको र त्यसअनुसार काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्र श्रीलङ्काको बाटोमा भन्दै गरिएको प्रचारमा समेत सत्यता नभएको जानकारी दिनुभयो । ”आगामी आवको बजेटले नेपाललाई श्रीलङ्का हुनबाट जोगाएको छ । हामी समस्यामा छैनौँ । विदेशी मुद्राको सञ्चिती जोगाउनका लागि हामी इमान्दार भएर काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।