नेपालको पर्यटन प्रबर्धनका लागि लण्डन दुताबासमा कार्यक्रम

लण्डन । नेपालको पर्यटन प्रबर्धनका लागि नेपाली राजदूतावास लण्डनले नेपालको अर्थतन्त्र उकास्न पर्यटनको सम्भावना शीर्षकमा एक कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार दुताबासमा आयोजना गरिएको सो कार्यक्रम कोभिड-१९ संक्रमणबाट शिथिल नेपालको पर्यटनलाई पुनर्जिवित गराउन ब्रिटिश पर्यटकको आवागमन बढाउने अभिप्रायले आयोजना गरिएको दुताबासले जनाएको छ ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल प्रकृति, संस्कृति र साहसिक पर्यटनको लागि अद्वितीय देश रहेकोले बेलायती पर्यटकहरुलाई आगामी भ्रमण गन्तब्य तालिकामा समावेश गर्न अनुरोध गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका तर्फबाट  पर्यटन बजारीकरण एवं प्रवर्द्धनका निमित्त निर्देशक लक्ष्मण गौतमले भर्चुअल माध्यमबाट बोल्दै नेपालमा रहेका उत्कृष्ट पर्यटकीय आकर्षणहरुको बारेमा जानकारी दिंदै कोभिड-१९ पश्चात् नेपाल पूर्णरुपमा खुला रहेको हुँदा नेपालले ऐतिहासिक सम्बन्ध रहेको बेलायतबाट अझ धेरै पर्यटकको अपेक्षा गरेको बताउनु भयो ।

त्यसैगरी नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस्का अध्यक्ष रमेश थापाले नेपालका मुख्य मुख्य पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी गराउँदै नेपाल सबै खालका मनोरञ्जन, साहसिक पर्यटन तथा विदा मनाउन उत्कृष्ट गन्तब्य रहेको जानकारी गराउँदै नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो । 

बीबीसी मास्टरसेफ्स प्रोफेसन्सल २०२० का उपविजेता सेफ सन्तोष साहले आफ्नो मास्टरसेफ यात्राका  बारेमा संक्षिप्त चर्चा गर्दै नेपाली खाना विश्वमै अद्वितीय रहेको र सबै किसिमका नेपाली खानाहरुको स्वाद लिन नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो ।

त्यसैगरी, लोन्ली प्लानेट पब्लिकेसन्सका पत्रकार र लेखक जो बाइण्डलसले आफूले धेरै पटक नेपाल भ्रमण गरेको जानकारी गराउँदै आफ्नो पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै नेपाल विश्वमै पर्यटनका लागि प्रमुख गन्तब्य रहेको बताउनु भयो ।

 बेलायतका लागि नेपालका पर्यटन दूत महन्थ बहादुर श्रेष्ठले विश्वको सर्बोच्च शिखर सगरमाथा र बेलायतमा कार्यरत गोर्खा सेनाबाट परिचित नेपाललाई विश्वभर चिनाउन विशेष अभियानको खाँचो रहेको र त्यसका लागि आफुले पनि पहल गर्ने बताउनुभयो ।

बेलायतस्थित ट्राभल कन्सोलका संचालक विराज भट्टले बेलायतबाट नेपाल भ्रमण गर्न आवश्यक पूर्व तयारी तथा नेपालमा उपलव्ध भ्रमण सम्बन्धी सम्पूर्ण प्याकेजका बारेमा जानकारी गराउनु भयो ।

एडब्ल्यूओएल एडभेन्चरका अपरेसन्स म्यानेजर डान राइटले नेपाललाई बेलायती पर्यटकहरुमाझ आकर्षक गन्तव्यका रुपमा विकसित गरी पर्यटक संख्या वृद्धि गर्न सकिने र सो का लागि नेपाल पर्यटन बोर्डसँग कार्य गर्न चाहेको बताउनु भयो ।

कार्यक्रममा सयपत्री नेपाली सांस्कृतिक समूह युकेका तर्फबाट दुईवटा लोकगीतमा नृत्य र उक्त समूहका अध्यक्ष डम्बर सिंह प्रयासले सारङ्गीको धुन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सुरुवातमा अतिथिहरुलाई मास्टरसेफ सन्तोष साहले तयार गर्नुभएका परिकारहरु प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा मास्टरसेफ सन्तोष साहलाई नेपाली खानाको प्रचारप्रसार गरेबापत एवं बेलायतस्थित पानस रेस्टुरेन्टका संचालक एवं पानस हेल्पिङ्ग ह्याण्ड्सका अध्यक्ष सुजन कटुवाललाई महामारीका बेला बेलायतस्थित नेशलन हेल्थ सर्भिस एवं स्थानीय समुदायलाई १ लाख निःशुल्क खाना प्रदान गरेबापत राजदूतावासका तर्फबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री