भर्खरै मात्रै मगरहरुको मौलिक चाड भूमे पर्वलाई स्वदेश तथा विदेशमा रहेका मगरहरुले बडो धुमधामका साथ मनाएर समापन गरेका छन् । जसमा कसैले यसलाई “भूमे पर्व” भनेर लेख्ने गरेको देखिन्छ त कसैले “भुम्या पर्व” भनेर लेख्ने गरेको देखिन्छ । त्यसैले यस पर्वको नाम लेखाईमा यहाँ एकरुपता देखिदैन । जसले गर्दा विशेष गरेर यस पर्वका बारेमा कम जानकारी राख्नेहरु माझ यसले एउटा अन्यौलता सिर्जना गरेको छ । यही अन्यौलताले कतै भोलिको दिनमा विगतमा भाषाको नाममा खाम र पाङलाई लिएर बिबाद भएझैँ फेरि अर्को बिबाद सिर्जना नहोला भन्न सकिन्न । त्यसैले यस बारेमा मगर बुद्धिजीवी र पदाधिकारीहरुले बेलैमा ध्यान पुर्याउन आवश्यक देखिन्छ । यही कुरालाई मध्यनजर गरेर यस बारेमा मैले पनि आफ्नो बुझाई र धारणा राखेर यस विषयसँग सम्बन्धित केही तथ्यहरुलाई प्रस्ट्याउन चाहन्छु । जसलाई म आफ्नो एउटा सामाजिक र नैतिक कर्तब्य पनि ठान्दछु ।
हुन त १८ मगरातमा बोलिने मगरहरुको खाम भाषालाई एकपटक पाङ बनाउने प्रयास गर्दाखेरि त्यसको बिरुद्ध खरो रुपमा उत्रिँदा विभिन्न आरोपसहित धम्कीसमेत खेप्नु पर्यो तर अन्तमा १८ मगरातमा बोलिने मगर भाषाको नाम खाम नै भएको ठहरियो जसमा मेरो बुझाइ गलत थिएन । त्यसै गरेर मगरहरु सबै बुद्धिस्ट हुन् र मगरहरुको धर्म बुद्ध धर्म हो भनेर सम्पूर्ण मगरहरुमाथी सँस्थागत रुपमै बुद्ध धर्म लादिन खोजियो । त्यसको विरुद्ध पनि सामाजिक संजालमार्फत खरो रुपमा उभिँदा धेरैको आलोचना खेप्नु पर्यो तर अन्तमा मगर संघले मगरहरु प्रकृति पूजक हुन् भनेर प्रकृति पूजक धर्मलाई मान्यता दियो । यहाँनिर पनि म गलत थिइनँ । त्यस्तै गरेर अहिले मगरहरुको मौलिक चाड भूमे पर्वलाई पनि कसैले “भूमे” त कसैले “भुम्या” भनेर लेख्दाखेरि यसको नाममा एकरुपता देखिदैन र यसले गर्दा कुन चाहिँ सही हो र कुन चाहिँ गलत हो भनेर यसले यहाँ एउटा अन्यौलता सिर्जना भएको देखिन्छ, जसले गर्दा बाह्य समाजमाझ पनि राम्रो संदेश जाँदैन । त्यसैले यहाँ पनि फेरि केही बोल्नै पर्ने अवस्था सिर्जना भएको छ किनकि यस अन्यौललाई समाप्त गरी यसलाई एकरुपता दिनु हामी सबैको एउटा सामाजिक र नैतिक कर्तब्य हो भन्ने मलाई लाग्दछ र यही भावनाले अभिप्रेरित भएर यस बारेमा केही लेख्नबाट आफूलाई रोक्न सकिनँ ।
यस अन्यौलको बारेमा कुरा गर्दाखेरि सर्वप्रथम भूमे के हो भनेर बुझ्न यहाँ आवश्यक भएको म ठान्दछु । प्राचिन कालदेखि नै मगरहरुले जल र जमिन जस्ता प्रकृतिसंग सम्बन्धित देवी देवताहरुको पूजा गर्दै आएका छन् जसलाई १८ मगरात क्षेत्रमा सिमे-भूमे भनेर भन्ने गरिन्छ । जसमा जल (सिम वा सिमसार) संग सम्बन्धित देवतालाई सिमे र जमिन (भूमी) संग सम्बन्धित देवतालाई भूमे भनिन्छ । यही भूमे देवताको पूजा गरेर करिब एक हप्तासम्म बडो हर्सोल्लासका साथ मनाइने विशेष चाडलाई भूमे पर्व भनेर भन्ने गरिन्छ। हुन त भूमे पर्वलाई थबाङमा नाम्क, तकसेरामा भल्क: र खाम भाषा नबोलिने वा कम बोलिने बोर्डर क्षेत्र तिरका गैर मगरहरुले यसलाई बलपूजा भनेर भन्ने गरेको पनि पाइन्छ तर पर्वलाई जे भनेर भनिएता पनि पूजा गर्ने बेला चाहिँ सबैले भूमे देवता कै पूजा गरेको भन्छन् । यसरी समग्रमा सबैले भूमे देवता कै पूजा गर्ने भएकोले यस पर्वलाई भूमे पर्व भनेर नै चिनिन्छ पनि । त्यसैले कुनै अमुक गाउँमा यसलाई जे पर्व भनेता पनि अधिकांश ठाउँमा यसलाई भूमे पर्व भनेर नै चिनिन्छ र यस पर्वलाई सबैले भूमे पर्व भनेर मान्यता दिएका पनि छन् । तर यही भूमे पर्वलाई बोलचालमा भूमे पर्व भनेर भनिएता पनि लेख्ने क्रममा अहिले कसैले “भूमे पर्व” त कसैले “भुम्या पर्व” भनेर लेख्ने गरेको कारणले पर्वको नाम एउटै भएता पनि यसको लेखाइमा भने एकरुपता देखिदैन, जसले केही अन्यौल सिर्जना भएको पाइन्छ र यही अन्यौल नै पछि गएर खाम र पाङको झैँ विवादमा पर्ने प्रवल सम्भावना पनि देखिएकोले यस अन्यौललाई बेलैमा समाधान गर्न अति जरुरी देखिन्छ । यस बारेमा भूमेलाई भुम्या भनेर लेख्ने बुद्धिजीवीहरुलाई मैले हाम्रो पर्वको नाम त “भूमे” हो किन “भुम्या” भनेर लेख्ने काम गर्नु भएको भनेर प्रश्न गर्दाखेरि उहाँहरुले बोल्दा खेरि यसलाई “भूमे” भनिएता पनि हाम्रो मगर भाषामा लेख्दाखेरी “भुम्या” हुन्छ भनेर जवाफ दिए पछि मैले त्यो कुन अक्षर वा लिपि हो जुन बोल्दाखेरी “भूमे” हुने र लेख्दाखेरी “भुम्या” हुने ? बोल्दाखेरी एउटा लेख्दाखेरी अर्को हुने लिपि पनि हुन्छ र ? भनेर प्रश्न गर्दा उहाँहरुले मलाई चित्तबुझ्दो जवाफ दिन सक्नु भएन । त्यसैले उहाँहरुको यो “भुम्या” भन्ने तर्कसंग म कन्भिन्स हुन सकिनँ । कारण “भूमे” भन्ने शब्दलाई बोल्दाखेरी “भू” पछिको उच्चारण “मे” नै हुन्छ न कि बाख्रा कराउदा खेरीको जस्तो “म्या” । किनकि “भूमे” लाई हामीले बाख्रा कराउँदा खेरी “म्याँ” गरेको जस्तो तरिकाले “भुम्या” भनेर कहिल्यै उच्चारण गर्दैनौ । “मे” भन्ने उच्चारणलाई लेख्दाखेरी “म्य” वा “म्ये” ले पनि सम्बोधन गर्न सक्ला तर “म्या” भनेर लेख्दाखेरी यसले पूरै अर्कै स्वर उच्चारण हुन जान्छ । त्यसैले “भूमे” भन्ने शब्दलाई तार्किक रुपमा “भूम्य” वा “भूम्ये” भनेर भन्न सकिएला तर “भुम्या” भनेर चाहिँ कदापि भन्न मिल्दैन किनकि “भुम्या” भनेर भन्दा यसको उच्चारण नै पूर्णत गलत हुन जान्छ । यस कुरालाई प्रमाणित गर्नको लागि यस बारेमा अनभिज्ञ अन्य समुदायका नेपाली भाषीहरुलाई “भूमे” र “भुम्या” भन्ने शब्दलाई लेखेर पढ्न लगाएर परिक्षण गरेमा यसको सही उच्चारण हुने लेखाइ “भूमे” हो कि “भुम्या” हो भन्ने कुरा सजिलै थाहा हुन्छ। त्यसकारण बोलचालमा उच्चारण गर्दा भूमे, भूम्य वा भूम्ये जे भए पनि लेख्दाखेरी सरलताको हिसाबले “भूमे” लेख्न सजिलो र राम्रो पनि देखिन्छ त्यसैले भूमे पर्वको शुद्ध लेखाइ “भुम्या” नभएर “भूमे” हो भन्ने मेरो धारणा र मान्यता हो । यसका साथै भूमे पर्वको (यस संस्कृतिको) उदगम क्षेत्र भनेर मानिने पूर्वी रुकुमको एउटा गाउँपालिकाको नामकरण नै यस पर्वको नामबाट गरिएको छ जसलाई “भुम्या गाउँपालिका” नभनी “भूमे गाउँपालिका” भनेर नामकरण गरिएको छ र यसबाट पनि यसलाई लेख्दाखेरी “भुम्या” नलेखेर “भूमे” लेख्दाखेरी सही र शुद्ध हुन्छ भन्ने कुरा पुष्टी हुन्छ । त्यसैले मगरहरुको यस मौलिक पर्वलाई सबैले “भूमे पर्व” भनेर लेख्ने गरेमा यसको नामले एकरुपता पाउनेछ र लेखाईमा बिध्यमान अन्यौललाई पनि निवारण गर्नेछ भन्ने मेरो बुझाई र धारणा छ । यसका साथै यस अन्यौललाई बेलैमा समाधान नगरे यसले पनि खाम र पाङको झैँ अर्को विवाद सिर्जना नगर्ला भन्न पनि सकिन्न भनेर यस बारेमा बेलैमा सम्बन्धित मगर बुद्धिजिबीहरुलाई सचेत गराउन पनि चाहन्छु ।
भूमे गाउँपालिका – १ लुगुम: हाल युके