जनसम्पर्क समिति यूकेमा चक्रीय प्रणाली खारेज, युवराज गुरुङले नै चारवर्ष नेतृत्व गर्ने

लण्डन । नेपाली जनजसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को वर्तमान कार्यसमितिको दोश्रो बैठक बसेको छ । आज जुलाई १० आइतबार फेल्थामको केटीएम रक्समा बसेको नियमित बैठकले समितिको रिक्त विभिन्न पदहरु पूर्ति गरी समितिलाई पूर्णता दिएको हो ।
समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा बसेको बैठकले जनसम्पर्क समिति बेलायतको मौजुदा विधानका साथै नेपाली काँग्रेसको विधान तथा पार्टीको केन्द्रीय नियमावली धारा २१, उपधारा ७, घ बमोजिम बेलायतमा रहेका नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुमध्येबाट २० जनालाई नेपाली जनसम्पर्क समिति बेलायतको बिभिन्न पदहरुमा नियुक्ति गर्यो ।
बैठकमा सभापति युवराज गुरुङलाई गत २२ फेब्रुवरी २०२२ मा फेल्थाममा बसेको प्रथम बैठकले जिम्मेवारी प्रत्यायोजन गरेबमोजिम उपसभापतिमा इन्द्रमान गुरुङलाई र सहमहामन्त्रीमा क्षमता ढकाल, खड्ग चेम्जोङ र टपेन्द्र राईलाई नियुक्तिको लागि गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारीत गर्यो ।
त्यस्तै कार्यसमितिको मनोनित सदस्यहरुको रिक्त पदमा थर्कराज जिमी, प्रितम गुरुङ, असल लिम्बू, प्रदीप बान्तवा, प्रमिला केसी, नेरन्द्र तुम्बापो, योगेन्द्र विक्रम तावा, ईश्वर गुरुङ, मनकुमार राई, शिवकुमार राई, ध्रुव गुरुङ र पूर्णकुमार क्षेत्रीलाई नियुक्त गरी जनसम्पर्क समिति बेलायतको कार्यसमितिलाई पूर्णता दिइएको छ ।
आज नियुक्त भएका २० जनासहित अब नेपाली जनसम्पर्क समिति यूकेको केन्द्रीय कार्यसमितिको सदस्य संख्या ५० जना पुगेको छ ।
बैठकले जनसम्पर्क समिति बेलायतको विभिन्न विभागहरु गठन गर्ने प्रकृयामा महामन्त्री रोमियन लिम्बूको संयोजकत्वमा महिला विभाग गठन गर्न संयोजक तोकिएको छ भने आगामी बैठकले अन्य विभागीय प्रमुखहरु तोक्ने निर्णय गर्यो ।
त्यस्तै, बैठकले जनसम्पर्क समिति बेलायतको विधानको धारा १६, ञ बमोजिम कार्य सम्पादन समिति गठन गर्ने जिम्मा र चालु कार्यकालको लगि सल्लाहकारहरुको नामावली प्रस्ताव गर्ने जिम्मेवारी सभापतिलाई दिएको छ ।
तर बैठकको सबैभन्दा महत्वपूर्ण निर्णय भने गत वर्ष समितिको पाँचौं अधिवेशनले चक्रीय प्रणालीको आधारमा चार जनाले एक–एक वर्ष नेतृत्व गर्ने निर्णयलाई खारेज गरेको छ । पूर्व सभापतिहरु महेशकुमार दाहाल र युवराज सिंहसमेत उपस्थित बैठकले नेपाली काँग्रेसको कुनै पनि तहको विधिविधानमा आजसम्म कहीं कतै चक्रीय प्रणालीको व्यवस्था र अभ्यास नभएको र नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिले समेत उक्त निर्णय खारेज गर्न निर्देशन प्राप्त हुँदा बैठकले उक्त निर्णय खारेज गरेको हो ।
बैठकको यस निर्णयअनुसार अब बाँकी कार्यावधि वर्तमान सभापति युवराज गुरुङले नै गर्ने भन्ने सहमति भएपनि आज बैठकमा अनुपस्थित पूर्व उपसभापति कोपिला लिम्बूलाई पनि सहमति गराएर पार्टीको मूल धारमा ल्याउने युवराज गुरुङ, महेश दाहाल र युवराज सिंह तीनै जनाले प्रयास गर्ने प्रतिवद्ता जाहेर गरका छन् ।
बैठकको प्रारम्भमा समितिका वरिष्ठ उपाध्यक्ष रितेशराज पाण्डेको आमाको केही समयअघि असामयिक निधन भएकोमा एक शोक प्रस्ताव पारित गरी श्रद्दाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण गर्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री