तेस्रो चरणको मतदानमा पनि ऋषि सुनकको अग्रता कायमै

लण्डन । सत्तारुढ कन्जरभेटिभ पार्टीको नयाँ नेताका लागि पार्टीका सांसदहरुबीच भइरहेको मतदानमा तेस्रो चरणमा पनि पूर्व अर्थ मन्त्री ऋषि सुनकले अग्र स्थान कायम राखेका छन् ।

सोमबार सम्पन्न मतदानमा उनले पहिलेको प्राप्त सांसदहरुको समर्थन बढाउँदै ११५ मत पाएका छन् भने उनलाई पेन्नी मोर्डन्टले पछ्याइरहेकी छिन् । तर उनले दोस्रो चरणमा पाएको सांसदको समर्थन गुमाएकी छिन् । उनले सोमबार ८२ मत मात्र पाइन् जबकि दोस्रो चरणमा उनले ८३ मत पाएकी थिइन् ।

विदेश मन्त्री लिज ट्रसले मत बढाएकी छिन् र ऋषि सुनकसँग अन्तिम दुईमा पर्न सक्ने सम्भावनालाई बलियो बनाउँदै लगेकी छिन् । उनले सोमबार ७१ मत पाइन् यसअघि दोस्रो चरणको निर्वाचनमा उनले ६४ मत मात्र पाएकी छिन् ।

उता चौथो बढी पाएकी केमी बाडेनोकले पनि मत बढाउँदै ५८ मत पुर्याएकी छिन् । उनले यसअघिको मतदानमा ४९ मत पाएकी थिइन् ।  

बोरिस जोन्सनको मन्त्रिपरिषदमा नरहेका एक मात्र उम्मेदवार टोम टुगनढाट भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनले सोमबार ३१ मत मात्र पाए ।

अब मंगलबार र बुधबार हुने चुनावले दुई जना कम मत ल्याउने उम्मेदवारलाई प्रतिस्पर्धाबाट विदा गर्नेछ भने बढी मत ल्याउने दुई जना आकांक्षीलाई पार्टीका सदस्यसामू मतका लागि उभ्याउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री