गोरखाहरुद्वारा आमरण अनसन अन्त्यको वर्षगाँठको स्मरण  

लण्डन । गोरखा भूतपूर्व सैनिकहरुले समानताका लागि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी बसेको आमरण अनसनको वर्षगाँठको स्मरण गरेका छन् ।

शुक्रबार लण्डनको ट्राफलगर स्क्वायरमा भेला भएका गोरखाहरुले गतवर्ष अनसन बसेको स्थलमा पुगी आमरण अनसनको स्मरण गरेका हुन् ।

पाँच वटा सैनिक संस्थाबाट प्रतिनिधिमूलकरुपमा आमरण अनसनस्थलमा गोरखाहरु पुगेका थिए । सो अवसरमा उनीहरुले अनसन बस्ने ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङलाई सम्मान गरेका थिए भने अनसनमा सघाउने गैरनेपाली नागरिकहरुलाई पनि धन्यवाद दिएका थिए ।

कार्यक्रममा सहभागी गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यबाहक सभापति धर्मबहादुर तामाङले गोरखाहरुको समस्याबारे नेपाल तथा बेलायत सरकारबीच हुने वार्ताको कार्यविधि तयार गर्न बैठकको मिति तोकिइसकिएकाले गोरखाहरुले साँकेतिकरुपमा मात्र प्रदर्शन गरेको बताए । ‘यदि बैठकको मिति नतोकिएको भए बृहत प्रदर्शन गर्ने तयारी थियो’, उनले भने ।

शुक्रबारको कार्यक्रममा गेसो, गोरखा सत्याग्रह, नेपाल भूतपूर्व सैनिक संघ (नेसा),  ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) र गोरखा जस्टिस अभियानले १५/१५ जना प्रतिनिधि सामेल गराएका थिए ।

कार्यक्रम गोरखा जस्टिस अभियानका मेजर उदयबहादुर गुरुङले संचालन गरेका थिए भने गोरखा दुत मेजर रिटायर्ड जुद्धबहादुर गुरुङले वार्ताका बारेमा हालसम्म भइरहेको गतिबिधिका बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री