गोरखाबारे जीटूजी वार्ताको टीओआर बनाउने बैठकमा आज के भयो ?

लण्डन । गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा नेपाल र बेलायत सरकार बीच हुने वार्ताको टर्म्स एण्ड रिफरेन्स (टीओआर) बनाउन आज नेपाल सरकारका प्रतिनिधि र बेलायत सरकारका प्रतिनिधिका बीच बैठक बसेको छ ।

पहिले बिहान १० बजे नेपाली दुताबासमा बस्ने भनिए पनि सो बैठक बेलायती रक्षा मन्त्रालयमा दिउँसो १ बजे मात्र बसेको थियो । बैठकमा नेपाली दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनालको नेतृत्वमा प्रतिनिधिमण्डल गएको थियो भने बेलायती सरकारका तर्फबाट रक्षा मन्त्रालयका दक्षिण एसिया हेर्ने अधिकारीले नेतृत्व गरेका थिए ।

बैठकमा सहभागी श्रीमती रोशन खनालले आजको बैठकमा बेलायती प्रतिनिधमण्डलले टीओआरको मस्यौदा पेश गरेको र त्यसमाथि छलफल गर्दै सो मस्यौदामा नेपालका तर्फबाट समावेश गरिनु पर्ने विषयहरु आफूहरुले पेश गरेको जानकारी दिनुभयो । ‘आजको बैठकबाटै टीओआर तयार हुन्छ भन्ने अपेक्षा पनि गरेका थिएनौँ, हामीले हाम्रो कुरा राखेका छौँ । उहाँ (बेलायती प्रतिनिधिमण्डल)ले त्यसबारेमा उपल्ला तहका अधिकारीहरुसित छलफल गरेर खबर गर्छौँ भन्नुभएको छ’ खनालले भन्नुभयो ।

बैठकमा गोरखाहरुका तर्फबाट सहभागी मेजर जुद्धबहादुर गुरुङले पनि टीओआरमा गोरखाहरुको दृष्टिकोण पेश गरेका थिए । गुरुङले बेलायती रक्षा मन्त्रालयले तयार गरेको मस्यौदामा ‘बेलायतमा रहेका गोरखाहरुको वेलफेयरका बारेमा मात्र’ उल्लेख गरेकाले आफूहरुले असहमति जनाएको बताउनुभयो । ‘पेन्सन लगायत गोरखाहरुमाथिको भेदभावका बारेमा मस्यौदामा केही नपाइएकाले गोरखाहरुका तर्फबाट तयार पारिएको ड्राफ्ट दिएका छौँ । त्यसलाई टीओआरमा समावेश गरेपछि सेप्टेम्बर ५ तारिखअघि हामीलाई बैठक बोलाउने अपेक्षा राखेका छौँ’, गुरुङले भन्नुभयो ।

आजको बैठकबाट कुनै निस्कर्ष ननिस्के पनि गोरखाहरुको वास्तविक माग के हो भन्ने बुझाउन पाएको गुरुङले बताउनुभयो । आफूहरुले यसअघि बनेको प्राविधिक समितिको प्रतिवेदनका आधारमा वार्ता हुनुपर्छ भन्ने माग राखेको गुरुङले थप्नुभयो । ‘बेलायतका रक्षा मन्त्रीले प्राविधिक समितिको रिपोर्टका आधारमा वार्ता गर्ने भन्ने अनि टीओआरमा केही उल्लेख नगर्ने त्यस्तो पनि हुन्छ’ गुरुङले प्रश्न गर्नुभयो ।

करिब डेढ घण्टा चलेको सो बैठकमा बेलायती टोलीले सेप्टेम्बरमै वार्ता शुरु गर्न आफूहरु प्रतिवद्ध रहेको तर मिति भने नयाँ सरकार बनेपछि मात्र तय हुने जानकारी दिएको खनालले बताउनुभयो ।

मन्त्रालयमा बैठक चलिरहँदा बाहिर भने सयौँ गोरखाहरु भेला भएका थिए ।

टीओआरलाई टुंगो लगाउन अर्को बैठक कहिले बस्ने भन्ने बारेमा भने अहिले केही तय भएको छैन । खनालले नेपाली पक्षले राखेका बुँदाहरुमा बेलायती पक्षको धारणा आएपछि कसरी अगाडी बढ्ने भन्ने बारेमा तय हुने जानकारी दिनुभयो ।

गोरखा भूतपूर्व सैनिकहरु भने आजको टीओआर बैठकमा बेलायती प्रतिनिधिमण्डलको प्रस्तुतिबाट प्रसन्न छैनन् । उनीहरुले वार्ता र आन्दोलनलाई सँगसँगै लैजाने रणनीति बनाएको देखिन्छ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यबाहक सभापति धर्मबहादुर तामाङ टीओआरमा बेलायती मस्यौदा स्वीकार गर्न नसकिने बताउनुहुन्छ । उहाँले मंगलबार बस्ने गोरखा संयुक्त बैठकले आन्दोलनको तरिकाका बारेमा छलफल गर्ने जानकारी दिनुभयो ।

बैठकबाहिर गोरखाहरु

प्रतिक्रिया

सम्बन्धित सामाग्री