बेलायती राजदूत पोलिटले भेटिन् गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री खाँणले बेलायतको सहयोगमा सन् २०१४–२०२१ सम्म ‘सुरक्षा र न्यायको सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकामा राजदूत पोलिटलाई धन्यवाद दिनुभयो ।
परियोजनालाई निरन्तरता दिँदै बेलायतको ‘फरेन कमनवेल्थ एण्ड डेभलभमेन्ट अफिस’ले सन् २०२१ को अक्टोबरमा नै उक्त कार्यक्रम पुनः स्वीकृत गरिसकेको थियो । नेपाल र बेलायतबीच यस सहयोगलाई कार्यान्वयन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने सन्दर्भमा उहाँले गृहमन्त्रीसँग भेटवार्ता गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खाँणले परियोजनाले पहिलो चरणमा सुरक्षा र न्यायमा जनताको पहुँच बढाउन, लैङ्गिक हिंसा रोक्न तथा प्रहरी र समुदायको सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
यसकै निरन्तरतास्वरुप परियोजनाको दोस्रो चरण लागू गर्न आवश्यक ‘एमओयू’को मस्यौदामा नेपाल प्रहरीलाई धेरैभन्दा धेरै उपकरण र भौतिक संरचनामा सहयोग गर्ने गरी पुनरावलोकन गर्न नेपाल सरकारले गरेको आग्रहलाई बेलायतले सकारात्मकरूपमा लिएकामा मन्त्री खाँणले राजदूतमार्फत बेलायत सरकारलाई धन्यवाद दिनुभयो ।
भेटमा बेलायती राजदूत पोलिटले नेपालमा सङ्क्रमणकालीन न्यायबारे चासो व्यक्त गर्नुभएको थियो । मन्त्री खाँणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताउनुभएको थियो । उहाँले नेत्रविक्रम चन्द (विप्लव) जनमत पार्टी र थारू कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।
सरकारले दिगो शान्ति स्थापना, लोकतन्त्रको सुदृढीकरणका लागि विभिन्न राजनीतिक दलहरूसँग सहमति गरेको र त्यो सहमति कार्यान्वयनको चरणमा रहेको चर्चा गर्दै मन्त्री खाँणले नेपालको सङ्क्रमणकालीन अवस्थालाई निराकरण गर्न अन्तर्राष्ट्रिय नियोग र विदेशी समुदायले प्रदान गरेको सहयोगका लागि बेलायती राजदूतलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री