बेलायतले यो वर्ष नेपालबाट कति नर्स ल्याउला ?

नेपाल र बेलायतबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पछि पत्र आदानप्रदान गर्दै श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिट । तस्बिर रत्न श्रेष्ठ/रासस

लण्डन । बेलायतले गत साता नेपालसित नेपाली स्वास्थ्यकर्मीहरुलाई बेलायतमा काम गर्न ल्याउने सम्झौता गरेपछि खासगरी नेपाली नर्सहरुमा नयाँ तरङ्ग सिर्जना भएको छ ।
स्वदेशमा रोजगारीको अवसर उपलब्ध नहुनु, भइहाले पनि सन्तुष्ट नहुनाले बेलायतको ढोका खुलेको धेरैले महसुस गरेका छन् । तर वास्तविकता भने तत्काल उत्साहित भइहाल्ने देखिँदैन ।
बेलायतले भने अहिले नै नेपालबाट ठूलो संख्यामा नर्स ल्याइहाल्ने योजना बनाएको देखिँदैन । यो वर्ष परीक्षणका रुपमा करिब १०० जना नर्स मात्र बेलायत ल्याउने बेलायतको योजना रहेको बताइएको छ । यसरी आउने नर्सहरुलाई लाग्ने हवाइ टिकट खर्च, भिसा शुल्क, रजिष्ट्रेसन शुल्कसमेत बेलायतले नै ब्यहोर्ने छ ।
यसरी बेलायत आएका नर्सहरुको वार्षिक तलव २७ हजारदेखि ३२ हजार पाउण्डसम्म हुनेछ ।
शुरुमा बेलायतको ह्याम्पसायर हस्पिटल एनएचएस फाउण्डेसन ट्रष्टले नेपालबाट नर्स बेलायत ल्याउने छ । शुरुको लटमा आउने नर्सहरु अर्को वर्ष (सन् २०२३)को अन्त्य सम्ममा बेलायत आइपुग्ने बेलायतको अनुमान छ । बेलायतले यो प्रक्रिया पूरा गर्न अहिले १५ महिनाको समयसीमा छुट्याएको छ ।
पहिलो लटमा योजना गरेजस्तो सजिलो भयो भने त्यसले हजारौँ नर्सहरुलाई बेलायत ल्याउन बाटो खोल्ने बेलायतको सोचाइ छ । तर यो विषय अहिले नै टुंगो भने लागिसकेको छैन ।
बेलायतमा अहिले करिब ५० हजार नर्सको दरबन्दी खाली छ । आगामी दिनमा यो संख्या अझै बढ्ने आँकलन गरिएको छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा विदेशबाट आएका जनशक्तिको दर्बिलो उपस्थिति छ । सन् २०१४ देखि सन् २०२१ सम्ममा विदेशबाट बेलायतको स्वास्थ्य सेवामा प्रवेश गरेकाहरुको संख्या दोब्बर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री