न्यूयोर्कमा सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङलाई सम्मान

न्यूयोर्क । सिक्किमका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेपाली साहित्यकार डा पवन चाम्लिङ्ग राईलाई सम्मान गरिएको छ ।
युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)ले न्युयोर्कको ज्याक्सन हाइटको याक रेष्टुरेण्टमा एक विशेष कार्यक्रम आयोजना गरी पूर्व मुख्यमन्त्री राईलाई सम्मान गरेको हो ।
पच्चीस वर्षसम्म सिक्किम राज्यको सत्तामा निरन्तर रही सिक्किमेली जनताको जीवनमा आमुल परिवर्तन ल्याउन सफल, कुशल नेता डा चाम्लिङ्गले सम्पूर्ण नेपाली जाति र भाषीहरुको उन्नति र प्रगति समग्र एकतामा रहेको उल्लेख गर्दै आपसी सद्भावबाट मात्रै एक अर्काको बीचमा स्वाभिमानपूर्वक बाँच्ने वातावरणको सिर्जना गर्न सकिने बताए ।
आफू सिक्किमको मुख्य मन्त्री रहँदा सिक्किम राज्यमा विभिन्न भाषाहरुको स्कुलहरु, धार्मिक मठ (मन्दिरहरु, गुम्वा निर्माण गरेको स्मरण गर्दै किरातीहरुको सामूहिक माङखिम पहिलो पटक सिक्किममा नै निर्माण गरिएको जानकारी दिए । पूर्व मुख्यमन्त्री डा चाम्लिङ्गले नयाँ कुरा गर्दा निकै बाधा अड्चनहरु आए पनि ईमान्दार भई निरन्तर रुपमा कोशिस गरिरहँदा सफल हुने बताए । सिक्किमलाई अर्गानिक राज्य बनाउने संकल्प गर्दा आफूले थुप्रै चुनौतिको सामना गरेको अनुभव समेत उनले सुनाए । आफूलाई जनताले रुचाएका कारण नै यति लामो समयसम्म मुख्यमन्त्रीको रुपमा जनताको लागि काम गरेको उल्लेख गर्दै आफू सधैँ नेपाली जाति र भाषीको विकास र उत्थान गर्न सकिन्छ भनेर लागि परेको बताए ।
युक्राका सल्लाहकार तथा पूर्व केन्द्रीय अध्यक्ष बिष्णु राईले संसारभर छरिएर रहेका किरात राईहरूको सामाजिक, साँस्कृतिक संघ संस्थाहरूको प्रतिनिधित्व हुने गरी साझा विचार र साझा उद्देश्यमा केन्द्रित भई ग्लोबल किरात राई अर्गनाईजेशनको आवश्यक्ता महसुस गरिएको बताए । यस्ता संस्थाले किरात राईहरुको भाषा, परम्परा, संस्कृति र ईतिहासलाई संरक्षण र सम्वर्धन गर्ने सन्दर्भमा प्रभावकारी भूमिका खेल्न सक्ने राईको तर्क छ ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पूर्व मुख्यमन्त्री डा चाम्लिङ राईको सफल कार्यकालको प्रशंसा गरेका थिए । बधाई मन्तब्य राख्ने प्रतिनिधिहरुमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष राजकुमार बिस्टले पूर्व मुख्यमन्त्री डा चाम्लिङको २५ वर्षे सफल कार्यकाल धेरै जनजातिको लागि प्रेरणा र गौरव रहेको बताए । नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का कार्यवाहक अध्यक्ष मच्छे गुरुङले पूर्व मुख्यमन्त्री डा चाम्लिङ्ग लाखौं जनजातिको लागि एक राजनीतिक आदर्श र प्रेरणाको श्रोत भएको उल्लेख गर्दै उहाँबाट धेरै युवा पुस्ताले राजनीतिमा किन प्रवेश गर्ने भन्ने शिक्षा प्राप्त गर्न सकिने तर्क गरे । निजामति कर्मचारीमा युवा राईहरुको उपस्थिति उल्लेख्य भएको बताउँदै का।वा। अध्यक्ष गुरुङले नीति निर्माण तहमा कुनै पनि जातिको र वर्गको प्रतिनिधित्व नभएसम्म हाम्रो मुद्दाले कुनै ठाउँ नपाउने भन्दै यस्ता संस्थाहरुले युवाहरुलाई राजनीतिको महत्व बुझाउनु पर्ने बताए ।
मेयर एरिक एडम्स्का, एशियन अफेयर्स एडभाइजरी काउन्सिल मेम्बर तथा कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स् पेयर्स एसोसियसनका अध्यक्ष नवराज केसीले पूर्व मुख्यमन्त्री डा चाम्लिङको भूमिका र योगदान असाधारण रहेको बताए ।
युक्राका संस्थापक अध्यक्ष शिवकुमार राईले डा चाम्लिङलाई अभिनन्दन पत्र हस्तान्तरण गर्दैै मातृभूमिभन्दा टाढा रहँदा आफ्नो भाषा, सँस्कृति र रितीरिवाज सम्झेर नोस्टाल्जिक भएको बताउँदै हाम्रो भाषा, परम्परा, संस्कृति र इतिहासलाई संरक्षण र सम्वर्धन गर्दै नयाँ पिढीमा पुस्तान्तरण गर्न सकियोस् भन्ने उद्देश्यले युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका युक्राको स्थापना गरिएको बताए ।
युक्राका जय राईले डा चाम्लिङ्ग कुशल राजनेता मात्र नभएर वरिष्ठ नेपाली साहित्यकार र साँचो अर्थमा मुन्धुमी आदर्श र शिक्षालाई आफ्नो जीवनमा अनुशरण गर्ने पारुहाङ र सुम्निमाका एक असल सन्तान भनी प्रशंसा गर्नु भएको थियो । पूर्व मुख्यमन्त्री चाम्लिङ्गलाई संस्थाको तर्फबाट सम्मान पत्र प्रदान गर्नुहुँदै अध्यक्ष राईले वहाँ सम्पूर्ण नेपालीको एक आदर्श अभिभावक हुनुभएकोमा गर्व समेत गर्नु भएको थियो । कार्यक्रमको दोस्रो सेसनमा पूर्व मुख्यमन्त्री चाम्लिङ्गको सम्मानमा उहाँका श्रीमती टीकामाया राई, छोरीज्वाई कोमल चाम्लिङ्ग र अनिल राई उपस्थित थिए । युक्राका उपाध्यक्ष केशवराम राईको नेतृत्वमा विशेष सुरक्षा व्यवस्थासहित कार्यक्रमको आयोजना गरिएको हो । स्वागत तथा सम्मान समारोहकÞो संचालन कानूनी सल्लाहकार सुरेश चामलिङ्गले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री