नेपालका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती महारानीको निधनमा शोक व्यक्त

काठमाडौँस्थित बेलायती दुताबासमा राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताउनुभएको छ । महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गर्नुभएको प्रधानमन्त्री देउवाले सन्देशमा बताउनुभएको छ । महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा गर्नुभएको नेपालको महत्वपूर्ण राजकीय भ्रमणका लागि उहाँलाई नेपालमा मायापूर्वक सम्झिइने शोक सन्देशमा जनाइएको छ ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहनुभएकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको हो । सन् १९५२ मा गद्दी सम्हाल्नुभएका उहाँ ७० वर्षसम्म गद्दीनशीन हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री