यस वर्षको ‘गोर्खा हिस्ट्री मन्थ’ शुरु

लन्डन । गाेरखा सैनिकहरूकाे इतिहास र गाथालाई उजागर गर्न यस वर्षकाे ‘गोर्खा हिस्ट्री मन्थ’ सुरु भएको छ ।

गत साल बेलायतबाट सुरुवात भएको भएको अभियानलाई यसवर्ष पनि निरन्तरता दिइएको छ ।

युद्ध साहित्यलाई प्रबर्द्धन गर्दै आइरहेको विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूके र पश्चिम यूकेले गत वर्षको अक्टाेबर ११ तारिखबाट गाेरखा इतिहास महिनाकाे घाेषणा गरेको थियो । साे महिना नाेभेम्बर ११ तारिखसम्म सञ्चालन हुनेछ । नाेभेम्बर ११ पप्पी डे वा रिमेम्ब्रेन्स डे पनि पर्छ । जुन विश्वयुद्धमा दिवंगत र घाइते भएकाहरूकाे स्मरणमा सालिन्दा विश्वभर मनाइन्छ ।

‘गोर्खालीहरूले गौरवशाली इतिहास रचेका छन् । यसैले नेपाललाई विश्वजगतमा चिनाएको छ । अहिलेसम्म केही बेलायती लेखकले लेखेर मात्रै यो वीरताको इतिहास बचेको हो । अन्यथा गोर्खालीको यो मौलिक इतिहास ओझेलमा परेको हो नै । यसलाई अझै विकास गर्न अब यही इतिहासका रचयिता र गोर्खाली जातिसँग रगत र माटोको नाता राख्नेहरूले नै कलम चलाउनुपर्ने आवश्यकता देखिन्छ,’ विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय उपाध्यक्ष एवम् अभियानका संस्थापक विजय हितानले भने, ‘ यसरी छायाँमा परेको इतिहासलाई अनुसन्धान, संरक्षण, संबर्धन र प्रवर्धन गर्ने उद्देश्यले ‘गोर्खाली इतिहास मन्थ’को अवधारणा ल्याइएको हो ।’

यस अभियानमा गोर्खाली सैनिक, तिनका परिवार र जोकोही सर्वसाधारण नेपाली विभिन्न क्रियाकलाप गरेर लाग्न सक्नेछन् । यस एक महिनाभित्र युद्धमा वीरगति प्राप्त गर्नुभएका आ-आफ्ना बाउबाजेका सम्झनामा उहाँहरूको फोटो र संक्षिप्त जीवनी फेसबुकमा पोष्ट गर्न हार्दिक अनुरोध गरिएको छ ।

त्यसैगरी यस समयावधिभरि युद्ध, सैनिक, पल्टनियाँ र लाहुरेसम्बन्धी इतिहास, कविता, लेख, संस्मरण, नियात्राजस्ता साहित्यिक सिर्जना रचेर मिडियामा छपाउन र गोर्खाली इतिहासउपर वहस/विमर्श इत्यादि गर्न सक्ने विनेसाम दक्षिण यूकेका अध्यक्ष थिर थापा मगरले बताए ।

विनेसाम पश्चिम र दक्षिण यूकेकाे साेमबार साँझ बसेकाे संयुक्त भर्चुअल बैठकले यहीँ नाेभेम्बर १२ तारिख शनिबारका दिन युद्ध साहित्य गाेष्ठी समेत आयाेजना गर्ने निर्णय गरेको छ । यसका लागि साहित्यकार हितानलाई संयाेजक र ओैँतारी साइलालाई सहसंयाेजक ताेकिएकाे छ । उक्त विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’लाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिँदै छ । वक्ताका रूपमा लेखक टिम गुरुङलाई समेत निमन्त्रणा दिइएको छ । त्यस्तै, अन्य युद्ध साहित्यकार र प्रवर्तकहरूलाई निम्ता गरिने छ ।

गाेष्ठीमा युद्ध साहित्यकाे परिचर्चा सँगै बेलायत र देशविदेशबाट सर्जकहरूले युद्ध सिर्जना वाचन गर्नेछन् । गाेष्ठीमा गत वर्षझैँ ब्रिटिश गोर्खा सेनाका पल्टनहरू, भारतीय गोर्खा सेनाका पल्टनहरू, नेपाली सैनिक, नेपाल पुलिस, गोर्खा रिजर्भ युनिट ब्रुनाई, गोर्खा कन्टिनजेन्ट सिंगापुर पुलिसको महत्वपुर्ण योगदान रहन्छ । साथै सम्बन्धित भूपू सैनिक सङ्गठन, सामाजिक संघसंस्था, साहित्यिक संघ र साहित्यिक व्यक्तित्वहरूको पनि सहभागिता रहनेछ ।

कार्यक्रमलाई सफल बनाउन संयाेजक हितान, विनेसाम दक्षिण यूके सचिव अमित थेवे र विनेसाम पश्चिम यूके मिडिया संयाेजक गाेमा राना मगरलाई प्रचारप्रसार हेर्ने जिम्मा दिइएको छ । कार्यक्रमकाे पूर्वसन्ध्यामा युद्ध साहित्यलाई प्रबर्द्धन गर्न एक युद्ध गीत लेखन प्रतियोगिता पनि आयाेजना गरिने बैठकले निर्णय गरेको छ । जसका लागि थिर थापा मगरलाई संयाेजककाे जिम्मेवारी दिइएको छ । बैठकमा विजय हितान, ओैँतारी साइला, थिर थापा मगर, सर्वधन राई, गाेमा राना, गंगा भण्डारी, जित बुढाथोकी छन्त्याल, सञ्जीव पारदर्शी, नानु राना थापा, अमित थेवेकाे सहभागिता रहेको थियोे ।

नेपाली साहित्यमा युद्ध साहित्यकाे प्रवर्द्धन गर्नेहरूमा बेलायतका सैनिक साहित्यकारहरू नरेश काङमाङ राई, अप्जसे कान्छा, मिजास तेम्बे, रक्ष राई, गणेश राई लगायतका कविहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री