बेलायती प्रधानमन्त्री लिज ट्रस थप संकटमा, गृहमन्त्रीले दिइन् राजिनामा

सुयला ब्रेभरम्यान

लण्डन । प्रधानमन्त्री नियुक्त भएको केही साताबाट नै विवादको घेरामा पर्दै आएको प्रधानमन्त्री लिज ट्रसको सरकार थप संकटमा परेको छ ।

नियुक्त भएको डेढ महिनामै सरकारका वरिष्ठ मन्त्री गृह मन्त्री सुयला ब्रेभरम्यानले राजिनामा दिएकी छिन् । यसअघि गत साता अर्थ मन्त्री क्वाजी क्वाटेङले पनि राजिनामा दिएका थिए ।

ब्रेभरम्यानले आफ्नो निजी इमेलबाट सरकारी कागजपत्र पठाएका कारण मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता तोडेकाले राजिनामा दिनु परेको बताएकी छिन् । उनले राजिनामा पत्रमा वर्तमान सरकारप्रति जनतालाई दिएको प्रतिवद्धता पूरा गर्न उन्मुख नभएको गम्भीर आरोपसमेत लगाएकी छिन् । जसले उनको राजिनामा आचारसंहिताको उल्लङ्घनका कारण मात्र नभई प्रधानमन्त्रीसित गम्भीर नीतिगत मतभेदका कारण भएको आँकलन गरिएको छ ।

उता प्रमुख सचेतक वेण्डी मोर्टनले पनि राजिनामा दिएको स्काइ न्यूजले जनाएको छ । बुधबार संसदमा भएको एक प्रस्तावमाथि मतदानमा सत्तापक्षीय सांसदहरुबीच देखिएको भद्रगोलका कारण उनले राजिनामा दिएको बताइएको छ । उर्जा उत्पादनका लागि जमिन खन्ने बारेको सो प्रस्तावमाथि भएको मतदानमा ४० जना सत्तापक्षीय सांसदहरु अनुपस्थित थिए । जसमा प्रधानमन्त्री लिज ट्रस, पूर्व प्रधानमन्त्री बोरिस जोन्सन, प्रमुख सचेतक वेण्डी मोर्टन लगायत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री