बेलायतको नयाँ प्रधानमन्त्रीका लागि चर्चामा रहेका तीन पात्र

लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबहाली भएको ४५ दिनमै विहीबार पदबाट राजिनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको छ ।
सत्तारुढ कञ्जरभेटिभ पार्टीले नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पार्टीको नेता बन्न चाहने आकांक्षीहरु समर्थक जुटाउन लागिपरेका छन् ।
कञ्जरभेटिभ पार्टीको सरकारमा सहभागी नहुने सांसदहरु (ब्याकबेञ्चर) को समिति ‘१९२२ समिति’ले नयाँ नेता चयनका लागि यस अघिको प्रक्रियालाई छोट्याएर छिटो छरितो बनाएको छ । पहिले पहिले महिनौँ लगाएर देशभर बहस चलाई नयाँ नेता चुनिने गरेकोमा यसपटक भने एक साताभित्रैमा नयाँ नेता छानिने विधि अपनाइएको छ ।
समितिका अनुसार सोमबार बेलायती समयअनुसार अपराह्न २ बजेभित्रमा पार्टीको नयाँ नेता बन्न चाहने सांसदले उम्मेदवारी दाखिला गरिसक्नुपर्नेछ । यसपटक यस्तो उम्मेदवारी दाखिला गर्न कम्तीमा १०० सांसदको समर्थन आवश्यक पर्ने भएकाले पहिले पहिलेजस्तो धेरै आकांक्षी हुने छैनन् । कञ्जरभेटिभ पार्टीसित कुल ३५७ सांसद रहेको हुँदा बढीमा तीनजना आकांक्षीले मनोनयन दाखिला गर्नसक्ने सम्भावना छ ।
पार्टीभित्र नयाँ नेताका लागि वर्तमान प्रधानमन्त्री लिज ट्रससित पराजित पूर्व अर्थ मन्त्री ऋषि सुनक, वर्तमान सरकारकै मन्त्री पेन्नी मोर्डन्ट र पूर्व प्रधानमन्त्री बोरिस जोन्सनको नाम चर्चामा छ । गत पटक भएको चुनावमा सुनक दोस्रो र मोर्डन्ट तेस्रो भएका थिए ।
उता केही दिनअघि मात्र राजिनामा दिएकी पूर्व गृहमन्त्री सुयला ब्रेभरम्यान, रक्षा मन्त्री बेन वालेस, अन्तर्राष्ट्रिय ब्यापार मन्त्री केमी बाडोनकसमेतको नाम चर्चामा रहेकोमा वालेसले आफू नउठ्ने बताएका छन् भने मनोनयनका लागि समर्थकको संख्या ह्वात्तै बढाइएपछि ब्रेभरम्यान र बाडोनकको पनि सम्भावना साँघुरिँदै गएको छ ।
बिदा मनाउन बेलायतबाहिर रहेका पूर्व प्रधानमन्त्री जोन्सन नयाँ नेताका लागि उठ्ने नउठ्ने बारेमा उनको भनाइ बाहिर आइसकेको छैन भने ऋषि सुनकले पनि अझै औपचारिक रुपमा केही बोलेका छैनन् । यो समाचार तयार पारून्जेलसम्ममा पेन्नी मोर्डन्टले मात्र नेतृत्वका लागि आह्वान गरेकी छिन् ।
प्रधानमन्त्री लिज ट्रस र उनका अर्थ मन्त्री क्वाजी क्वाटेङले सार्वजनिक गरेको अर्थ नीतिका कारण बेलायती मुद्रा स्टर्लिङ पाउण्डको अवमूल्यन भएको थियो भने अन्तर्राष्ट्रिय बजारमा अस्थिरता पैदा भएको थियो । बैँकहरुले ब्याजदर अनिश्चित भएपछि मोर्गेज रद्द गरिदिँदा हजारौँ मानिसहरु प्रभावित भएका थिए ।
बेलायतको अर्थतन्त्रमा आएको अस्थिरताका कारण ट्रसले राजिनामा दिनुपरेकाले त्यसलाई सम्हाल्न अर्थतन्त्र बुझेको पूर्व अर्थमन्त्री ऋषि सुनक नै उपर्युक्त व्यक्ति हुनसक्ने धेरै सांसदहरुको राय छ । शुक्रबार साँझसम्ममा उनलाई करिब ८० सांसदले समर्थन गरेका छन् । सुनकले ट्रससित नेतृत्वका लागि भएका बहसमा पनि ट्रसको आर्थिक नीतिले देशलाई गम्भीर असर पार्ने बताएका थिए तर ट्रसले त्यसलाई ‘डर देखाउने नीति’ भन्दै हल्का रुपमा लिएकी थिइन् । सुनकले कोरोना महामारीका बेला हजारौँ मानिसहरु कामबाट निकालिएको, ब्यापारिक प्रतिष्ठानहरु महिनौँसम्म बन्द रहेको अवस्थामा पनि अर्थतन्त्रको कुशलतापूर्वक व्यवस्थापन गरेका थिए ।
सुनकमाथि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार गिराउन अग्रणी भूमिका खेलेको आरोप जोन्सन पक्षधर सांसदहरुको छ । जोन्सन सरकारबाट सुनकले राजिनामा दिएको दुईदिन भित्रैमा पाँच दर्जन मन्त्रीहरुले जोन्सनको सरकार त्यागेका थिए । जसका कारण जोन्सनको सरकार ढलेको थियो । त्यसैको प्रतिशोधमा जोन्सन पक्षधर र कट्टरपन्थी सांसदहरुले गतपटक लिज ट्रसलाई समर्थन गरेका थिए । अहिले पनि उनीहरुले सुनकलाई रोक्न सक्ने, अहिलेको भद्रगोल अवस्थाबाट देशलाई सम्हाल्न सक्ने, साथै आगामी आमचुनावमा कञ्जरभेटिभ पार्टीलाई जिताउन सक्ने एक मात्र व्यक्ति बोरिस जोन्सन भएको दाबी गर्दै आएका छन् । यो समूहमा युरोपियन रिसर्च ग्रुपका सांसदहरु रहेका छन् । जसको नेतृत्व वर्तमान व्यापार मन्त्री ज्याकोब रिस मोग, पूर्व मन्त्री नदिन डोरिसलगायत छन् ।
जोन्सनले उम्मेदवार हुने निर्णय गरेमा भावी प्रधानमन्त्रीको प्रतिष्पर्धा उनी र सुनकबीच हुनेछ । यदि उनी उम्मेदवार नभएमा पेन्नी मोर्डन्ट र सुनकबीच प्रतिस्पर्धा हुनेछ ।
१९२२ समितिले सोमबारको मनोनयनमा एउटा मात्र मनोनयन आएमा उसैदिन नेता घोषणा गर्ने बताएको छ । यदि तीन वटा मनोनयन आएमा सोही दिन सांसदहरुबाट मतदान गर्न लगाउने र धेरै मत पाउने दुई जना आकांक्षीलाई कञ्जरभेटिभ पार्टीका मतदाताहरुले अनलाइनबाट मत दिने बताइएको छ । जसको परिणाम २८ अक्टोबरमा घोषणा गरिने छ ।
त्यसैदिन वा त्यसको भोलिपल्ट यसरी चुनिएका नेतालाई बेलायतका राजा चार्ल्स तृतीयले सरकार गठनका लागि बोलाउने छन् । संसदमा अझै कञ्जरभेटिभ पार्टीको प्रष्ट बहुमत भएकाले नयाँ प्रधानमन्त्रीले बाँकी डेढवर्ष बेलायतको प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री