तमु समाज केन्ट युकेले मनायो तमु ल्होसार

लण्डन । तो–ल्हो (बाघ वर्ग) को बिदाई र हि–ल्हो (बिरालु वर्ग) को आगमनको अवसरमा केन्ट्बासी गुरुङहरुले ल्होसार मनाएका छन् ।
हकिङ्जका मेयर फिलिप मार्टिनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा सेकेण्ड रोयल गोर्खा राइफल्सका गोर्खा मेजर सन्जिप राई एमभीओ र उनकी धर्मपत्नी धना राईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित पाहुनाहरुलाई आठौं कार्यसमिति र सल्लाहकारहरुद्वारा स्वागत गरिएको थियो । उपस्थित पाहुनाहरुलाई गुरुङहरुको प्रचलनअनुसार गाउँघरतिरकै तरिकाले रोटी र तीन पाने रक्सीले भब्य स्वागत गरिएको थियो ।
तमु समाज केन्ट युकेका अध्यक्ष कप्तान डोलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको समुदघाटन समाजका अध्यक्ष र विशेष अतिथिले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए ।
समाजका सचिव कुमार गुरुङले हेल्थ एन्ड सेफ्टीसम्बन्धी जानकारी दिएपछि औपचारिक कार्यक्रम संचालन समाजका महासचिव तोरण गुरुङले गरेका थिए भने समाजका प्रथम उपाध्यक्ष गोलमान गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी, औपचारिक कार्ययक्रमको अन्त्यमा उपस्थित सबैलाई समाजका अध्यक्ष कप्तान डोलबहादुर गुरुङले धन्यवादसहित हि–ल्होसारको शुभकामना दिए ।
कार्यक्रममा शैक्षिक क्षत्रमा सफलता हासिल गर्ने तमु विद्यार्थीहरुलाई पनि सम्मान गरियो । प्रत्येक वर्षझैँ यसवर्ष पनि जिसिएसईमा सबैभन्दा राम्रो अंक ल्याउने तमु विद्यार्थी सुश्री विनिता गुरुङलाई ’ब्राइट फ्युचर अवार्ड २०२२’ ले सम्मान गरिएको थियो । समाजका अध्यक्ष कप्तान डोलबहादुर गुरुङ र अवार्ड प्रायोजक श्रीमती तारादेवी गुरुङले उक्त अवार्डसहित १०१ पाउन्ड प्रदान गरी समाजको तर्फबाट बधाई तथा शुभकामना दिए ।
तमु समाज केन्ट युकेले सन् २०११ सालमा शुरूवात गरेको उक्त अवार्ड विजेताहरु हालसम्म सबैले राम्रो नमुना देखाएका छन् ।
त्यसैगरी विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्यक्तिहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२२ बाट समाजका पुर्व कोषाध्यक्ष भीमप्रसाद गुरुङ सम्मानित भए । समाजका अध्यक्षले औपचारिक रुपमा खादा र सम्मान पत्र दिएर बधाई थिए ।
दोस्रो चरणको साँस्कृतिक कार्यक्रम साँस्कृतिक संयोजक इन्द्र गुरुङ, उमा गुरुङ र डा. सुदिक्षा गुरुङले संचालन गरेका थिए । उक्त साँस्कृतिक कार्यक्रममा समाजका दाजुभाइ तथा दिदीबहिनी साथै छोराछोरीहरुले नेपाली तथा गुरुङ उत्कृष्ट नृत्यहरु प्रस्तुत गरे । युवा युवतीहरुको बाक्लो उपस्थिति भएको सो कार्यक्रममा युवा युवतीहरुबाटै सुन्दर गुरुङ र नेपाली नृत्यहरुका साथै नेपालदेखि बेलायत आउनु भएकी गायिका रुपा घर्तीमगर र मनसुधन थापा मगरले भरपूर मनोरञ्जन दिलाए ।
कार्यक्रमको अन्त्यतिर लेडिज कोअर्डिनेटर तारादेवी गुरुङ र उनको टिमले राफल ड्र संचालन गरेको थियो । पहिलो पुरस्कार आधा तोला सुन समाजको तर्फदेखि, दोस्रो पुरस्कार अस्मी ज्वेलर्स आसफोर्डले चन्द्रमा चिम्टी गोल्डका साथै समाजले विभिन्न आकर्षक पुरस्कारहरू राखेका थिए ।
उक्त ल्होसार कार्यक्रमलाई सुनमा सुगन्ध थपी सुन्दर नृत्यहरु प्रस्तुत गरी उपस्थित सबैलाई भरपूर मनोरञ्जन दिएकोमा समाजको तर्फबाट अध्यक्ष कप्तान डोलबहादुर गुरुङले सबै कलाकारहरुलाई धन्यवाद दिँदै सम्झनास्वरुप मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रमको अन्तमा सबैले नाचेर भरपूर मनोरञ्जन लिएका थिए भने
खाना ब्यवस्थापनमा गोर्खा भान्सा घर, डिजेमा बिसी राई र भिडियोग्राफरमा नयन्द्र राईले भूमिका खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री