राजकुमार विलियममाथि भाइले लगाए कुटपिटको आरोप

लण्डन । बेलायती राजाका कान्छा छोरा ह्यारी विवाहपश्चात विभिन्न कारणहरुले चर्चामा छन् । कहिले आफूभन्दा ज्येष्ठ, अश्वेत, पारपाचुके महिलासित विवाह गरेर त कहिले दरबार छाडेर प्रवासमा बसाइँ सरेर । कहिले दरबारभित्रका अन्तरंग कुरा समेटिएको वृत्तचित्र सार्वजनिक गरेका कारण । अहिले भने उनी नयाँ पुस्तकका कारण चर्चामा छन् ।

आगामी साता सार्वजनिक हुन लागेको उनको आत्मवृत्तान्तमा उनले आफ्ना दाजु राजकुमार विलियमले तीन वर्षअघि आफूमाथि हातपात गरेको उल्लेख गरेका छन् ।

‘स्पेयर (जगेडा)’ नामक सो पुस्तकमा उनले विवाहपश्चात सन् २०१९ मा आफ्ना दाजुले आफूलाई कुटेको बताएका छन् । आफूले विवाह गरेकी मेगन मार्कलका बारेमा दाजुभाइबीच विवाद भई दाजुले हातपात गरेको उनको आरोप छ ।

पुस्तकमा उनले विवाद बढ्दै जाँदा दाजुले आफूलाई कठालोमा समातेको, सिक्री चुँडालेको र भूइँमा लडाएको बताएका छन् । सो घटनाका कारण आफूलाई पिठयूँमा देखिने गरी चोट लागेको पनि उल्लेख गरेका छन् ।

सो घटना केन्जिङटन पालेसको नट्टिङघम कटेजमा भएको बताइएको छ । पुस्तकमा ह्यारीले दुई दाजुभाइबीच मेगनका विषयमा विवाद भएको र दाजु आक्रोशीत पाएपछि आफूले यस्तो अवस्थामा आफू कुराकानी गर्न नसक्ने भन्दै दाजुलाई गिलासमा पानी दिएको बताएका छन् । दाजुले पानी राखेर आफूलाई अरू नै नामले बोलाएको र आफ्नो नजिकमा आई कठालोमा समाएको, सिक्री चुँडाली दिएको र भूइँमा लडाएको उल्लेख गरेका छन् । घटना अति नै छिटो भएको र आफू कुकुरले खाना खाने भाँडामा लडेको उनले बताएका छन् । जसका कारण उनको पिठ्यूँमा चोट लागेको थियो । एकछिन आफू त्यहीँ लडेको र उठेपछि विलियमलाई बाहिर जान भनेको उनले उल्लेख गरेका छन् ।

विलियमले आफूलाई हिर्काउन भनेको तर आफूले नहिर्काएको उनले लेखेका छन् । एकछिन पछि विलियम आएर पश्चाताप र माफी मागेको पनि उनले उल्लेख गरेका छन् । विलियमले सो घटना मेगनलाई नभन्न भनेको र आफूले धेरैपछि मात्र भनेको पनि उनले बताएका छन् । त्यो घटना थाहा पाएपछि मेगन रिसाउनु भन्दा पनि दुखी भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री