आठ वाणिज्य बैंक गाभिए

काठमाडौँ । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो ।
चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभुत हुने गरी वाणिज्य बैंकको सङ्ख्या घटेको हो ।
पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैंक मर्जरको चरणमा छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिनका लागि बुधबार आयोजित कार्यक्रममा अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्त गर्नुभएको धारणाले पनि सरकारको नीति कार्यान्वयनमा वाणिज्य बैंकहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ ।पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् ।
आठ वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैंक तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी रु २६ अर्ब २३ करोड, कुल निक्षेप रु तीन खर्ब २ अर्ब र कर्जा रु दुई खर्ब ८० अर्ब पुगेको छ । मर्जरपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् ।
नेपालमा ‘बिग मर्जर’मा बहार ल्याउने बैंकका रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । बैंकले पछिल्लोपटक बैंक अफ काठमाण्डूलाई गाभेको छ । यही पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ ।
त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी रु २३ अर्ब ५२ करोड पुगेको छ ।
एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति रु तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी रु २२ अर्ब, कुल निक्षेप रु दुई खर्ब ८४ अर्ब र कुल कर्जा प्रवाह रु दुई खर्ब ५३ अर्ब पुगेको छ । त्यस्तै ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ ।
यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुबै बैंकबाट दुई-दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको छ ।
दुवै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मइ बैंकको चुक्ता पुँजी रू ११ अर्ब ५५ छ भने सनराइज बैंकको रू १० अर्ब ११ करोड छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री