जसपालाई ११ प्रादेशिक संरचनामा लैजान सुझाव

विजयपुर । जनता समाजवादी पार्टी नेपाललाई वैकल्पिक शक्ति बनाउन संरचनागत बहस पार्टीमा सुरु भएको छ । पछिल्लो निर्वाचनमा बेहोरेको अनपेक्षित परिणामपछि पार्टीको पछिल्लो पङ्क्तिका नेता कार्यकर्ताहरूले संरचनामा सुधार गरेर अघि बढ्नुपर्नेमा सुझाव दिएका छन् ।
पार्टीको ११ राष्ट्रिय समितिले गता माघ २९ मा ललितपुरको बालकुमारीमा रहेको प्रवास विशेष प्रदेश समितिको कार्यालयमा बैठक बसी आन्तरिक सांगठनिक संरचनालाई कार्यकारी बनाउनुपर्ने निष्कर्षमा पुगेका थिए । समितिका नेताहरूले पहिचान पक्षधर शक्तिहरूलाई एकीकृत गर्न र जनतामा विश्वासको वातावरण निर्माण गर्न पनि ११ प्रादेशिक संरचनामा पार्टीलाई लैजानुपर्ने आवश्यकता महसुस भएको बताए ।
‘पहिचानवादी शक्तिलाई नेतृत्व गर्न, कार्यकर्ता एवम् मतदाताहरूको विश्वास पुनः आर्जन गर्न पनि अब पार्टी संरचनामा हेरफेर हुनुपर्छ । नेतृत्वले संगठनको लाइन स्पष्ट नपारे हामी झन् अप्ठ्यारोमा पर्न सक्छौँ,’ केन्द्रीय नेता एवम् प्रवास इञ्चार्ज आङकाजी शेर्पाले भने, ‘हाम्रो बटमलाइन संविधान संशोधन हो । नीतिगत रूपमा ११ प्रदेशको पक्षमा हौँ । यसकारण कार्यकारी संरचना बनाएर अघि बढ्नुपर्छ ।’
जसपाले गएको निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा सात र समानुपातिकमा पाँच गरेर १२ सिट जितेको छ । प्रदेशसभातर्फ प्रत्यक्षमा ११ र समानुपातिकमा ९ गरी जम्मा २० सिट हात पारेको छ । पाँच वर्षअघि भएको २०७४ को निर्वाचनमा पार्टीको कुल ३४ सिट थियो । त्यस्तै, प्रदेशसभामा मधेश प्रदेशमा मात्रै ५४ सिट थियो भने प्रदेश एकमा तीन, बागमतीमा एक, गण्डकीमा र सुदूरपश्चिममा दुई दुई र लुम्बिनीमा ६ सिट गरेर ६८ सिट हासिल गरेको थियो ।
त्यस्तै, अर्का नेता पार्टीका राजनीतिक समिति सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले पार्टी आफ्नो साख जोगाउने अवस्थामा पुगेको बताए । उनले १० जोड एक समितिलाई कार्यकारी नबनाए जनमत अझै घट्न सक्ने चेतावनी दिए । ‘अहिलेको निर्वाचनको समीक्षा गरिनुपर्छ । पार्टीको मुद्दा पहिचान हो । राजनीतिक विचारधारा र दर्शन संघीय समाजवाद हो । यसलाई अवमूल्य गरिनुहुन्न । हामीले जसरी पनि १० जोड एक राष्ट्रिय समितिहरूलाई कार्यकारी र अधिकारसम्पन्न समिति बनाउनैपर्छ,’ नेता माखिमले भने, ‘यसो गर्न सके मात्रै संगठनको धमिलिएको छविमा सुधार आउनेछ । हामीले आउने निर्वाचनमा राम्रो परिणाम दिन सक्नेछौँ ।’
१० जोड एक राष्ट्रिय समितिले बिहीबार राखेको अन्तरक्रियामा समेत देश विदेशका अधिकांश नेता कार्यकर्ताहरूले संरचनाबारे बोलेको किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले जनाए । भर्चुअल अन्तरक्रियमा दर्जन बढी मुलुकहरूबाट सय बढीको उपस्थिति रहेको थियो । ‘पार्टीका कार्यकर्ताहरूको माग पनि संगठन सच्चिनुपर्छ भन्ने छ । सम्भवतः नेतृत्वले संरचनाबारे पुनर्विचार गर्लान्,’ उनले भने । पार्टी अहिले सात प्रदेश समिति संरचनामा छ ।
त्यसैगरी, बुद्धिजीवि एवम् पार्टी सल्लाहकार महेन्द्र लाओतीले समेत जनमत घट्नुमा मुख्य कारणमध्ये एक पार्टी संरचना पनि भएको बताउँदै आफ्नो सिद्धान्त अनुकूलको संरचना बनाए पुनः मत प्रतिशत बढ्ने बताए । ‘हामी तत्कालीन नेकपा माओवादीले २०५८ मा सैन्य आक्रमणमा बेहोरेको क्षतिपछि अपनाएको रणनीति हेर्न सक्छौँ । पहिचानमा आधारित जनसरकार घोषणा गरेपछि जनसमर्थनमा उभार आएको थियो । त्यस्तै, तत्कालीन मधेशी जनाधिकार फोरमले पनि मधेशभित्रका अन्य पहिचानहरूलाई समेटेर लगेपछि आन्दोलन सफल भएको थियो,’ उनले भने, ‘पुनरुत्थानवादी र दक्षिणपन्थी शक्तिसँगै चरम निराशाबाट जन्मिएका नयाँ शक्तिहरूलाई हे¥यौँ भने राजनीतिक दर्शन र सिद्धान्तको अभाव छ । जसपाले असन्तुष्टिको नेतृत्व गर्न सके मात्रै पनि शक्ति र प्रभाव बढाउन सक्छ । पार्टीले आफू स्थापना हुनुपछाडिको कारण बिर्सनुभएन ।’ पार्टी अहिले आफ्नो विधानसभा आयोजना गर्ने तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री