प्रवासी नेपाली मंच युकेले मनायो नारी दिवस

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले बेलायतस्थित दक्षिण पूर्व प्लमस्टिडमा अन्तर्राष्ट्रिय नारी दिवस एक कार्यक्रम गरी मनाएको छ ।

१ सय १३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो ।
विश्वभर छरिएर रहेका नेपाली नारीहरुलाई अधिकार प्राप्तिका लागि अग्रसर हुनु पर्नेमा उक्त कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।

बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले दैनिक जीवनका चुनौतीहरुलाई पन्छाउँदै नारी सशक्तिकरणका लागि लाग्नु पर्ने अवस्था रहेको बताइन् । उनले दैनिक जीवनमा आउने ठूला वा साना चुनौतीलाई सामना नगरी नारीले अधिकार प्राप्त गर्न मुस्किल पर्ने जनाइन् । आगामी वर्ष बेलायतस्थित दुतावासले पनि नारी सशक्तीकरण लागि यस्ता कार्यक्रम गर्न विषयमा दुतावासमा छलफल चलाउने उनले प्रतिवद्धता व्यक्त गरिन् ।

ओएनएफ युकेका अध्यक्ष तुङ्गभद्र भुसालले नारी सशक्तीकरण लागि आफ्नो र संस्थाको तर्फबाट सधैँ सहयोग रहने प्रतिवद्धता जनाए । उनले अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागी भएका महिलाहरुको उपस्थितिले कार्यक्रम भव्य भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

प्रवासी नेपाली अन्तर्राष्ट्रिय कमिटीकी सदस्य कल्पना त्रिपाठीले नारी हिंसा नेपालमा मात्र नभएर बेलायतमा पनि भएको तथ्यांक प्रस्तुत गरिन् । उनले नारी हिंसाको विरुद्ध एउटै आवाजको खाँचो रहेको बताइन् ।

अन्तर्राष्ट्रिय कमिटी अर्की सदस्य सरस्वती केसीले नारी सशक्तीकरण र राजनीतिमा नारीको सहभागितामा जोड दिइन् ।

ओएनएफ युके महिला विभागको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको अध्यक्षता सुदेशा बजगाईले गरेकी थिइन् । उक्त कार्यक्रमको संचालन भने सामाजिक अभियन्ता सरिता शर्माले गरेकी थिइन् । कार्यक्रममा कविता र गायन समेत प्रस्तुत गरिएको थियो ।

यसैबीच, पहिलो चरणको औपचारिक कार्यक्रम समापनपछि नाचगानसहित रमाइलो प्रस्तुति समेत प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाइएको थियो । प्रविधिमा ओएनएफ युकेका सदस्य केदार थपलियाले सहयोग गरेका थिए ।

उक्त कार्यक्रममा ओएनएफ अन्तर्राष्ट्रिय कमिटी तथा राष्ट्रिय कमिटिका नेताहरु दिनेश घिमिरे, कर्ण शाही, विनोद ज्ञवाली, पुन्य रेग्मी, बालकृष्ण भुसाल, अर्कराज तिमल्सिना, श्याम लुईटेल, तिलक भट्टराई लगायतको उपस्थिति थियो । त्यस्तै, दक्षिण पूर्वी लण्डनका विभिन्न संघ संस्थाहरुमा नेतृत्वदावी भूमिका निर्वाह गरेका महिलाहरुको विशेष उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री