बेलायती राजा चार्ल्स तृतीयको नामको पहिलो भवन पोखरामा

लण्डन । बेलायती राजा चार्ल्स तृतीयको नामको पहिलो भवन नेपालको पोखरामा निर्माण गरिएको छ ।

सो भवनको हालै बेलायतका रक्षा राज्यमन्त्री डा आन्ड्रयू मुरिसनले उद्घाटन गरे । सो भवन बेलायतको रक्षा पूर्वाधार संगठन (डीआइओ) र नेपाली निर्माणकर्ताले संयुक्तरूपमा बनाएका हुन् ।

सो भवनको नाम राजा चार्ल्सको नाममा राख्न नेपालको ब्रिटिश गोरखा नेपालले राजपरिवारसित अनुरोध गरेको थियो ।

बेलायतको रक्षा मन्त्रालयले सो भवन नै राजा चार्ल्सको नामको पहिलो भवन भएको बताएको छ ।  

ब्रिटिश गोरखा क्याम्प पोखरामा पहिले भएको जीम हलमा सो भवन बनाइएको हो । सन् २०२१ मा निर्माण शुरु गरिएको सो भवन निर्धारित समयभन्दा दुई महिना अगावै सम्पन्न भएको थियो । सो भवनको लागत करिब ९ लाख ९० हजार पाउण्ड रहेको बताइएको छ ।

भवन निर्माणबारे बेलायतको नियम र नेपालको भूकम्प प्रतिरोधी नियमलाई पालना गरी सो भवनको डिजाइन गरिएको छ ।

मन्त्री मुरिसनले राजा चार्ल्स तृतीयको नाममा बनेको भवनको उद्घाटन गर्न पाएकोमा खुशी लागेको बताए । उनले सो भवन कर्मचारी, उनीहरूको परिवार र गोरखा भर्तीका लागि लाभदायी हुनसक्ने आशा व्यक्त गरे ।

डिआइओ नेपालका सार्जेन्ट रिचर्ड बागेन्डाले राजा चार्ल्स तृतीयको नामको भवन निर्माण सम्पन्न भएकोमा खुशी लागेको बताए । उनले सो भवन अहिले नै लोकप्रिय भइसकेको र भविष्यमा पनि सबैको प्यारो हुनेमा शंका नरहेको बताए ।

सो भवन शारीरिक कसरतका लागि, नयाँ भर्ती हुनेहरूका लागि अंग्रेजी, गणित परीक्षा तथा शारीरिक नापजाँच लिन प्रयोग गरिनेछ । यस्तै आकस्मिक रूपमा आइपर्ने प्राकृतिक प्रकोपका बेला अस्थायी आवास वा भण्डारका रूपमा पनि प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री