हालसालै बेलायतमा डाक्टरहरूको लागि नियामक निकाय जनरल मेडिकल काउन्सिलले एक जना वरिस्ट डाक्टरलाई छ महिनाका लागि कामबाट निलम्बन गर्ने निर्णय गरेको छ। लन्डन अबस्थित नाम चलेको बाल अस्पताल ग्रेट ओर्मन्ड स्ट्रीट अस्पतालमा वरिस्ट चिकित्सक पेडियाट्रिक कार्डियाक एनेस्थेटिस्ट डाक्टर जेम्स आईपी आफ्नो श्रीमतीको निशुल्क ट्राभल कार्ड प्रयोग गरेको अभियोगमा गत वर्ष फेब्रुअरी ७ मा ह्यामरस्मिथ स्टेशनमा पक्राउ परेका थिए। अदालतको फैसलाअनुसार यो अभियोगमा उनले पाँच सय पाउण्ड जरिबाना र झन्डै तीन सय पाउण्ड खर्च ब्यहोर्न परेको थियो। उनले करिब चौध महिनाको समयमा ५५ पटक त्यो कार्ड प्रयोग गरेको स्वीकार गरेका थिए। कोरोना महामारीका बखत पनि स्वास्थ्य सेवामा काम गर्नेहरुले यातायातको भाडा तिर्न परेको प्रतिशोधका रुपमा आफूले त्यसो गरेको भने पनि उनले गल्ति स्वीकार गरेर माफी मागेका थिए। तर उनको यो कार्यले उनको इमान्दारितामा ठूलो प्रश्न चिन्ह खडा भएको कारण छ महिनासम्म काममा फर्कन नपाउने निर्णय गरेको थियो।
उनी माथिको यो कारबाही ठीक वा बेठीक भन्ने ठूलो बहस नै चल्यो। यो निर्णय गलत हो भन्नेहरुले २० वर्षसम्म काम गरेका डाक्टरलाई अहिले डाक्टरहरुको संख्या कम भएको बेलामा यस्तो कारबाही गर्दा थुप्रै बिमारी बाल बालिकाहरुको जीवन तल माथि हुन सक्ने तर्क गरेका छन् । उनको काम आवश्यक मापदण्डभन्दा कम नभएको र उनी पेशागत रूपमा सम्मानित थिए। रेलको भाडा नतिरेको कारण मात्र बिरामी माथि कुनै खतरा नहुने भएकोले त्यस्तो कारबाही हुन नहुने उनीहरूको जिकिर छ। उता यो निर्णय ठीक हो भन्नेहरु एक जना डाक्टर (व्यक्ति)ले आफूले उचित वा अनुचित काम के गरिरहेको छु भन्ने हेक्का सधै राख्नु पर्दछ । एकातिर इमान्दारिता नदेखाउने मानिसले अर्कोतिर पनि कुनै दिन बेइमानी गर्न सक्ने सम्भाबना हुन्छ । डाक्टर जस्तो संबेदनशील काम गर्ने मानिसको इमान्दारिताको प्रश्न झन् अहं विषय हो भनेका छन्। काउन्सिलले उनलाई कारबाही गर्नु परेको कारण बेइमानी कार्य गरेर चिकित्सा पेशाको आधारभूत सिद्धान्तहरू मध्ये एउटा उल्लंघन गरेको,आफूले के गरिरहेको छु भन्ने कुरा थाहा पाउनु पर्छ तर उनी पक्राउ नहुँदासम्म सो कार्य नरोकिएको र यस्तो कार्यले डाक्टरको पेशामाथि बिरामी तथा जनताको विश्वास घटाउने छ भन्ने उल्लेख गरेको छ।
सन् २०२० फेब्रुवरीको पहिलो हप्ता लण्डनको सिटी बैंकमा काम गर्ने एक उच्च अधिकारी पारस शाहलाई क्यान्टिनबाट स्याण्डवीच चोरी गरेको अभियोगमा कामबाट निकालिएको खबर आएको थियो। ३१ बर्षीय शाहको वार्षिक तलब सुबिधा एक मिलियन पाउण्डभन्दा बढी हुन्थ्यो। उनले कति पटक त्यसो गरेका हुन् भन्ने खुलाइएको थिएन। एकाथरी मानिसहरुले यो घटनालाई अतिरंजना गरि पारसलाई कामबाट हटाइएको हुन सक्ने अनुमान पनि गरिएको थियो । उक्त बैंकले केही दिनभित्र नै आफ्ना वरिष्ठ कर्मचारीहरूलाई वार्षिक बोनस भुक्तानी गर्नु पर्ने थियो। त्यसैले यस्तो निर्णय गरिएको हो पनि भनिन्छ । पारसले चाहिँ भुलबस आफूले पैसा तिर्न बिर्सिएको र पछि आएर मूल्य तिरेको बताएका थिए।
इमान्दारिता कुनै पनि सभ्य समाजको मूल आधार हो। बेइमान गर्नेहरु बसोबास गर्ने पनि त्यही समाजमा नै हो। आधुनिक युगमा अपराध गर्नेहरुलाई सजायँ दिनको लागि प्रहरी न्यायालय र कारागारको व्यवस्था भयो। तर कानुन आफैँले अपराधी पत्ता लगाउने क्षमता नराख्ने हुँदा धेरै कसुरदारहरु खुल्लम खुल्ला जीवनयापन गरिरहेका हुन्छन् । कारागारभित्र भन्दा समाजमा बढी अपराधीहरु हुन्छन् भन्ने विषयमा दुईमत नहोला। तसर्थ जति धेरै नागरिकमा इमान जमानको मूल्य मान्यता हुन्छ त्यति नै त्यो समाज परिष्कृत हुँदै जाने हो । जबसम्म अधिकांश व्यक्तिमा बेइमानी ब्यबहार कायम रहन्छ त्यतिबेलासम्म त्यस्तो समाजमा नियम कानुनले पनि काम गर्न सक्दैन।
अहिलेसम्म संसारको सर्बोकृस्ट प्राणी मानिसलाई मानिन्छ। मानिस भएर जन्मनु एउटा विषय हो तर साँच्चिकै मानिस भएर मर्नु महत्वपूर्ण परिणाम हो। त्यसैले विलियम शेक्सपियर भन्छन् “जीवनमा इमान्दारिता उत्तम नीति हो। यदि मैले आफ्नो इज्जत गुमाएँ भने म आफैँलाई गुमाउँछु।” त्यसैले मानव र अन्य प्राणीमा जति धेरै भिन्नताहरु देखिएता पनि जब ऊ आफ्नो इमान्दारिताबाट च्युत हुन्छ उसले आफूलाई मानव भनेर गर्व गर्नुको कुनै अर्थ रहँदैन। कतिपय अवस्थामा दुनियाँलाई आफू ठीक छु भनेर प्रमाणित गर्न त सकिएला तर त्यसको परिणाम भने आफू राति निदाउन नसकिने पनि हुन् सक्छ । त्यसैले इमान्दारिता भनेको अरुलाई देखाउने नभई आफैँले जीउने र व्यहोर्ने विषय हो।
बेलायत आएको करिब तीन महिना पछाडी पहिलो आम चुनाव हेर्ने मौका मिल्यो। हतार हतार बिहानको काम सकेर नजिकैको मतदान केन्द्रमा पुग्दा जम्मा चार जना मानिस देखेर आश्चर्यचकित परियो। त्यसपछि धेरै वर्षसम्म चुनावको चर्चा कहिलेकाहीँ रेडियो टिभीमा मात्र सुनियो। मतदान गर्ने अधिकार पाएपछि भने पटक पटक सहभागी भइयो। एक जना नेपाली साथी स्थानीय निर्वाचनमा उमेद्वार हुँदा सहयोग गर्न दिनभरि खटियो। समग्रमा यहाँको निर्वाचनमा नागरिकहरु त्यति सक्रिय हुँदैनन्। एक पटकमा मुश्किलले १०, १२ जनाको जमघट हुने गर्दछ। त्यसैले मतदानको लागि खासै लाइन बस्न पर्ने हुँदैन। आफ्नो नाम बताए पछि निर्वाचनमा खटिएका कर्मचारीले नामावलीमा चिन्ह लगाई मतपत्र दिने गर्दछन्। मतदान पछाडी औँलामा मसी लगाउने त के सम्बन्धित व्यक्ति हो कि हैन भनेर परिचय पत्र पनि खोजिँदैन। तर आउँदो मे ४ मा हुने स्थानीय निर्वाचनदेखि भने इङ्गल्याण्ड राज्यका मतदाताहरूले मतदान गर्न फोटो आईडी देखाउन पर्ने भएको छ। पासपोर्ट वा सवारी चालक लाइसेन्स नहुनेहरुले अनिबार्य रुपमा निःशुल्क फोटो सहितको मतदाता परिचय पत्र बनाउन पर्ने सूचना प्रचारप्रसार भैरहेको छ। बेलाबखत देखिने निर्बाचन सम्बन्धी कमी कमजोरीले उग्र रुप नलियोस् भन्नाको लागि बेलायत सरकारले इंग्ल्याण्ड राज्यभरि अब उप्रान्त विभिन्न निर्वाचनमा फोटो सहितको परिचय पत्र देखाउन पर्ने अनिबार्य व्यवस्था गरेको हो। अहिले सम्मको नागरिक इमान्दारितालाई केही मानिसहरुको गलत मनसाय र कार्यका कारण प्रश्न चिन्ह खडा गरिदिएको छ।
त्यसो त बेलायतमा विगत पाँच वर्षमा ठूलो मात्रामा चुनावी धाँधली भएको देखिदैन । यस अवधिमा प्रहरीले १६ साबधानीहरु र ११ विरुद्ध मात्र मुद्दा चलाइएको देखिन्छ। अहिलेसम्म सबैभन्दा ठूलो मानिएको घटना भनेको टावर ह्याम्लेटका मेयर लुत्फर रह्मानको बर्खास्ती हो। लेबर पार्टीबाट सन् २०१० देखि मेयर बनेका रह्मान सन् २०१४ मा पनि पुन: निर्वाचित भए। तर उनी विरुद्ध विविध आरोपसहित परेको मुद्दाका कारण सन् २०१५ मा निर्वाचनसम्बन्धी अदालतले उनलाई अर्को पांच वर्षसम्म उमेद्वार बन्न नपाउने गरि हटाएको थियो। तर उनले सन् २०१८ मा नै आफ्नो छुट्टै पार्टी स्थापना गरी त्यस पछाडी भएका निर्वाचनहरुमा आफ्ना केही उम्मेद्वारहरु निर्वाचित गराउन सफल भएका थिए। सन् २०२२ मा भएको मेयरको निर्वाचनमा भने आफैँ उम्मेद्वार भएर पुन: जीत हासिल गर्दै कुल ४५ सदश्यीय बरोमा २४ प्रतिनिधि आफ्नो पार्टीको बनाउन सफल भएका थिए।
कुनै पनि देशको फौजदारी कानुनमा बेइमानी छुट्टै अपराधको रुपमा परिभाषित गरिएको नहुन सक्छ। तर विभिन्न अपराध गर्दा बेइमानी गरेको ठहर भने हुने गर्दछ। ठगी, चोरी, छली, भ्रस्टाचार जस्ता अपराध गर्नेहरु बेइमान मानिन्छन् । “बेईमान” कुनै व्यक्ति वा समूहको व्यवहार वर्णन गर्न प्रयोग गरिने विशेषण हो। व्यक्तिगत लाभको लागि वा अरूलाई धोका दिने उद्देश्यका साथ गलत कार्यहरू गर्नु वा अरुलाई दुख दिनु वा नोक्सानी पुर्याउनु बेइमानी गर्नु हो। झूट बोल्नु, धोका दिनु, चोरी गर्नु वा वाचा तोड्नु बेइमानीका केही उदारहणहरु हुन्। बेइमानी गरेको कारण पारिबारिक वा सामाजिक सम्बन्धहरु टुट्ने, आफ्नो वा परिवारको प्रतिष्ठामा आँच आउने मात्र नभई कानुनी कार्यबाहीअनुसार जरिबाना तिर्ने तथा जेल जीवनसमेत बिताउनु पर्ने हुन्छ। यसले व्यक्तिगत मात्र नभई सामाजिक हानी पनि पुर्याउने भएकोले संगीन अपराध मानिन्छ।
हुन् त कमी कमजोरी बिनाको मानवको परिकल्पना गर्न सकिँदैन। कतिपय अवस्थामा समय, परिस्थिति, संगतले पनि परिबन्दमा परी गल्ती कमजोरीहरु हुने गर्दछन्। मुख्य प्रश्न गल्ती स्वीकार गर्नु र सकेसम्म एकै प्रकारका भुलहरु नदोहोर्याउने हो भने इमान्दारिताको कसीमा आफूलाई उत्तीर्ण गराउन सकिने छ। तर हाम्रो जीवन त्यति लामो नभएको कारण सबै अनुभव आफैँले प्राप्त गर्नु भन्दा अरुले गरेका गल्ती कमी कमजोरीबाट पनि पाठ सिक्नु पर्दछ भन्ने मान्यता रहेको छ। बितिसकेका वा भैसकेका गलत कामहरुलाई ठीक बनाउन सकिन्न तर त्यस्तो गलत काम फेरि गरिएन भने आफूलाई बेइमानको सूचीमा उभ्याउन पर्ने हुँदैन।
बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।