काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा अध्यक्षमा चन्द्रप्रसाद ढकालले आजदेखि कार्यभार लिनुभएको छ ।
महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आज सम्पन्न ५७औँ साधारणसभाले महासङ्घको २०औँ अध्यक्षमा ढकाललाई निर्वाचित गरेको हो ।
अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उहाँले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गर्नुभएको हो । सपथपछि उहाँले आफूले लामो समयदेखि सर्वसम्मतीको प्रयास जारी राखेको र अन्तिममा सफल भएको बताउनुभयो । उहाँले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासङ्घको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ढकाल पछिल्लो पुस्ताको सफल उद्यमी–व्यवसायी हुनुहुन्छ । महासङ्घमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहनुभएका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्नुभएका उहाँले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गर्नुभएको हो ।
विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ सालमा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरी अध्यक्ष ढकालले व्यावसायिक फड्को हासिल गर्नुभएको थियो । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठान नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।
ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् ।
ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपको हिस्सेदारी छ ।
महासङ्घको नव–निर्वाचित अध्यक्षका रुपमा ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक–निजी साझेदारीको प्रवर्धन गर्ने तथा स्वदेशी–विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राख्नुभएको छ ।
वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ ।
बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई हुनुहुन्थ्यो । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो ।
दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको घोषणा गरिएको हो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
महासङ्घको बुधबार भएको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनको आज बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गर्नुभएको थियो । साथै संघईले ३० दशमलव ४६ मत प्राप्त गर्नुभएको थियो ।
मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले छ सय १३ मत प्राप्त गर्नुभयो साथै अञ्जनले पाँच सय ७३ मत र उमेशलालले चार सय २६ मत प्राप्त गर्नुभयो । साथै आठ मत बदर भए ।
जिल्ला नगरतर्फ कुल खसेको एक सय १७ मतमध्ये अञ्जनले ४७, संघईले ३९ र उमेशलालले २८ मत प्राप्त गर्नुभयो । साथै तीन मत बदर भए । वस्तुतगतर्फ खसेको एक सय २३ मतमध्ये उमेशलालले ६९, अञ्जनले ४१ र संघईले १२ मत प्राप्त गर्नुभयो भने एक मत बदर भएको थियो ।
साथै बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित हुनुभएको छ भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।