टोकियो । मुलुक शोकमा डुबेको बेला लोक रक ब्याण्ड नेपथ्यले जापानमा आयोजित कन्सर्टलाई पनि समवेदनामा केन्द्रित रहेर सम्पन्न गरेको छ । ‘हामी मनोरञ्जन होइन, समवेदना बाँड्न आएका छौं,’ टोलीका अगुवा एवं मुख्य गायक अमृत गुरुङले टोकियोको कामदास्थित एप्रिकोट हलमा जम्मा भएका दर्शक अघिल्तिर बारंबार भने, ‘भुकम्प पीडितमै समर्पित रहेको यो कार्यक्रम सम्पन्न गर्नुपर्ने दायित्व नभइदिए गाउने पटक्कै इच्छा थिएन ।’
केहि महिना अगावै तय भएको जापानको कार्यक्रमलाई अन्तिम समयमा रद्द गर्न नमिल्ने भएपछि नेपथ्यले कन्सर्टलाई नै ‘जनचेतना अभियान’ र यसबाट उठेको पैसालाई ‘राहत संकलन’ का रुपमा घोषणा गरेको थियो । कार्यक्रमको सुरुवात ‘नराम्रो सपना देखेथेँ’ बाट गरियो । त्यसपछिको ‘अभाव अभावै भयो’ र ‘जीवन हो घाम छायाँ’ गाउन्जेल मञ्चको पृष्ठ भागमा दुई साताअघि भुकम्पले ध्वस्त पारेका संरचनाहरु देखाइएको थियो ।
‘अमृतले गाएका गीतहरुको शब्द म बुझिरहेको छैन,’ कार्यक्रम हेर्न उपस्थित जापानको एनएचके टेलिभिजनका प्रोड्युसर कियोस्का साइ भनिरहेका थिए ‘तर, पृष्ठभूमिमा देखाइएको भुइँचालोको तस्बिरबाट म यि गीतहरुको अर्थ लगाइरहेको छु । यसले मलाई छोइरहेको छ ।’
कियोस्काले एनएचके टेलिभिजन सञ्जालको मुख्य च्यानल एनएचके वान र त्यसको पनि ‘प्राइम टाइम न्युज’मा अघिल्लो बेलुकी मात्रै करिब १५ मिनेट लामो नेपथ्यको जापान यात्रा वर्णन तयार पारेका थिए । ‘हिजोको लामो अन्तवार्तामा अमृत, उनको टिम र उनीहरुको भावनालाई विस्तारमा बुझ्ने मौका मिलेको थियो,’ कियोस्काले थपे, ‘उनीहरुलाई नेपाली दर्शकले पनि यति माया गरेको देख्दा खुशी लागिरहेको छ ।’
आयोजक तमु धिँ, जापानका एक सदस्यका अनुसार भुइँचालोलगत्तै नेपथ्यले कुनै पनि रोमान्टिक गीत नगाउने जानकारी दिएपछि यो कार्यक्रम कसरी अगाडि बढाउने भन्ने चुनौति खडा भएको थियो । ‘तै पनि हामीले आँट गरेरै कार्यक्रममा नेपथ्यका सर्वाधिक रुचाइएका गीतहरु नगाइने घोषणा गरिदिएका थियौं,’ उनले भने, ‘त्यसपछि दर्शक आउलान् वा नआउलान् भन्ने चिन्ताले सताएको थियो ।’
आयोजकले बढीमा पाँच सय दर्शक अपेक्षा गरेको कार्यक्रममा १५ सय सिट क्षमताको हलै लगभग भरिनेगरि दर्शक उपस्थित भए ।
कार्यक्रममा जापान बस्दै आएका नेपाली मात्र होइन, एक सयभन्दा बढी जापानी नागरिकहरु, अझ उमेर पुगेका जोडीहरु उपस्थित थिए ।
‘भुइँचालोले पीडित नेपालीहरु प्रतिको भावनाले बाँधिएर धेरै जापानी आएका छन्,’ सम्पूर्ण कार्यक्रमलाई आफ्नो व्यावसायिक भिडियो क्यामरामा कैद गरिरहेका अर्का जापानी पत्रकार तानाका कुनिहिको भनिरहेका थिए, ‘यो फरक सँस्कृति र संगीतको स्वाद संगसंगै एकप्रकारको मानवीय ऐक्यवद्धता पनि हो ।’
नेपथ्यले सँधैजस्तो छमछमी नचाउने गीत गाउने छैन भन्ने पूर्व जानकारी दर्शकलाई थियो । तै पनि कार्यक्रम अवधिभर उनीहरु ‘रेशम’ र ‘तालको पानी’ आशगरेर चिच्याइरहेका देखिन्थे । गायक अमृतले भने रमाइला गीत सुनाउनका निम्ति अर्कोपटक फेरि जापान आउने आश्वासन दिएर टार्दै गए । नेपथ्यसँग नाच्न मनपराउने तन्नेरीहरु संभवत पहिलोपटक कन्सर्टमा ‘टाढा धेरै टाढा, उडेका रंगीन चरा’ र ‘आमा हुन असजिलो छ’ जस्ता गीतहरुमा पनि नाचेर चित्त बुझाइरहेका देखिन्थे ।
‘शोक परेको बेला कुनै ब्याण्डले दर्शक रुचीका गीतै गाउँदैनन् भन्ने थाहा थिएन,’ बा आमासँग जापान बस्दै आएकी दर्शक सुजा थापा भनिरहेकी थिइन्, ‘नेपथ्यले भने यहाँ त्यस्ता गीत गाउँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि हेर्न आएँ र चित्त बुझाएर गइरहेकी छु ।’ पछिल्लो समय जापानमा पढ्न आउने विद्यार्थीहरुको संख्या बढ्दो छ । कार्यक्रममा दर्शकहरुको उपस्थितीमा पनि त्यस्ता विद्यार्थीहरुकै बाहुल्य देखिन्थ्यो ।
‘नेपालमा त्यस्तो भइरहेको बेला यहाँ नेपथ्यले रमाइला गीत गाउन पनि हुँदैन थियो,’ सनसाइन सिटी कलेजका विद्यार्थी दिपेश अधिकारी भनिरहेका थिए, ‘यस्तो जटिल परिस्थितीमा पनि जुन रुपमा कार्यक्रम सम्पन्न भयो, हामी सबै सन्तुष्ट छौं ।’ अरुबेला नेपथ्यले कन्सर्टमा नगाएको तर उसका मनछुने गीतहरु सुन्ने मौका पनि थियो यो । जस्तो कि, ‘सरुमा रानीको आँसुको कसम’ । ‘यौटा चिट्ठी’, सगरमाथामा हिउँपहिरो जाँदा बनाइएको ‘छोटो गीत’, ‘पानी तिरतिरे’ हुँदै पछिल्लो अल्बममा समेटिएको एउटा हाक्पारे भाकाको गीत पनि अमृतले सुनाएका थिए ।
दुई घन्टा लामो कार्यक्रमको अन्त्यमा ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ गाउँदा हलभरि जताततै राष्ट्रिय झण्डा बोकेर उफ्रिरहेका दर्शक देखिन्थे । ‘दुःखको बेला हामीसँग बाँड्नका निम्ति दुःख मात्रै थियो,’ कार्यक्रम सम्पन्न भएपछि लहरै उभिएका कलाकार टोलीको माझमा बसेका अमृत दर्शकहरुतिर फर्किएर भनिरहेका थिए, ‘यसलाई मुलुक र नेपथ्यप्रतिको मायाका रुपमा लिएका छौं ।’
मुलुकलाई संकट परेको बेला संसारभरिका नेपाली एकजुट भइदिन कार्यक्रमभरि बारंबार आव्हान गरिएको थियो ।