रहेनन् अन्तिम ‘भिक्टोरिया क्रस’ विजेता गोरखा सैनिक

पाटन । बेलायतको अतिप्रतिष्ठित ‘भिक्टोरिया क्रस’ विजेता एक मात्र जीवित गोरखा सैनिक क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ ।
८७ वर्षीय लिम्बूको शनिबार बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उहाँका छोरा मोहन बेघा लिम्बूले जानकारी दिनुभयो ।
लिम्बू छ महिनादेखि बिरामी हुनुभएको थियो । झापास्थित बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना भएका लिम्बूको स्वास्थ्य अवस्था ठीक नभएपछि उहाँलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँको विगत तीन महिनादेखि मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।
लिम्बूको अन्त्येष्टी दमकमा गरिने उहाँका छोराले जानकारी दिनुभयो ।
दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उहाँलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकोप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो । उहाँ मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
काठमाडौँमा उहाँको शब नखिपोटस्थित घरमा राखी शुभेच्छुकहरुलाई श्रद्धाञ्जलि दिने मौका दिइने भएको छ । तत्पश्चात झापा लगिने छ ।
लिम्बूको श्रीमती र दुई छोरा रहेका छन् । उनका जेठा छोराको भने बेलायतमा केही वर्षअघि नै निधन भइसकेको छ ।
लिम्बूको निधनमा बेलायती दुताबास र ब्रिगेड अफ गोर्खाजले पनि समवेदना व्यक्त गरेको छ । साथै उनको शब झापा लैजान हेलिकोप्टर चार्टर गर्ने ब्यवस्था पनि गर्न चासो देखाएको छ । उनको उपचारका लागि एक नर्सको व्यवस्था पनि गोरखा वेल्फेयरले गरेको थियो ।
लिम्बूको मृत्युसँगै अब भिक्टोरिया क्रस पाउने गोरखाहरु सबै दिवंगत भएका छन् । विभिन्न विश्वयुद्ध र क्षेत्रीय युद्धमा गरी १३ जना गोरखाहरुले भिक्टोरिया क्रस पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री