तमुधीँ युकेका पूर्व अध्यक्ष हितकाजी गुरुङद्वारा एनआरएन युकेको अध्यक्षमा उमेद्वारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकालको अध्यक्ष पदका लागि तमुधीँ युकेका निवर्तमान अध्यक्ष तथा समाजसेवी हितकाजी गुरुङले उमेद्वारी दिने घोषणा गरेका छन् ।

शनिबार १० जुनको साँझ अल्डरसटस्थित सुशी मोटोमा एक कार्यक्रमको आयोजना गरी उनले सो घोषणा गरेका हुन् ।
नेपाली समुदाय बेलायतमा छुट्टै पहिचान बनाउन सफल तमु धीँ युकेलाई नेतृत्व प्रदान गरिसकेका गुरुङले आफूले बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । उनले “बेलायतमा दुई वटा एनआरएन छ भन्ने भ्रम छ तर मैले सधैं एउटा देख्छु” भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरे । साथै, उनले एनआरएनए युकेको सदस्यता लिन समेत अनुरोध गर्दै जुलाई २२ का दिन आफूलाई साथ दिन अनुरोध गरे ।
अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष समेत रहेका समाजसेवी एवं उद्यमी पुरन गिरीको संयोजकत्वमा सम्पन्न उक्त घोषणासभामा एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, ग्रीनवीच वरो काउन्सिलका उपमेयर जीत रानाभाट, नागरिक समाजका अगुवा शेरबहादुर सुनार, एनआरएनए युकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, तमु धीँ युकेका अध्यक्ष हरि गुरुङ, सहारा युकेका अध्यक्ष लेप्टन कुसाङ्ग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडीले मञ्चबाट शुभकामना दिएका थिए ।

विभिन्न नेपाली संघसंस्थाका अध्यक्षहरु, आफन्तजन, साथीभाइहरुको समेत विशेष उपस्थिति रहेको उक्त सभामा सहभागी वक्ताहरुले हितकाजी गुरुङ एक स्पष्ट वक्ता, निडर, अन्यायका विरुद्ध लड्न सक्ने, बेलायतको एनआरएनलाई एक ढिक्का बनाएर लैजान सक्ने क्षमतावान र नेतृत्वदायी भूमिका खेल्ने सक्ने व्यक्ति भएको बताउँदै आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, कार्यक्रम संयोजक पुरन गिरीले हितकाजी गुरुङको बारेमा बोल्दै उपस्थितिका लागि सबैलाई धन्यवाद दिए ।
स्थानीय रस्मुर बरो काउन्सिलका काउन्सिलर समेत रहेका समाजसेवी जीव बेल्वासेले संचालन गरेको उक्त घोषणा सभामा समाजसेवी डा. विशाल गुरुङले एनआरएनएको अनलाईनमार्फत सदस्यता कसरी लिन सकिन्छ भन्ने बारे पावर पोइन्ट प्रिजेन्टेशन गरेका थिए ।
स्मरण रहोस् एनआरएनए युकेको आगामी निर्वाचन जुलाई २२ गते सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री