बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले जानाजान संसदलाई ढाँटेको ठहर

बोरिस जोन्सन

लण्डन । बेलायतका तत्कालिन प्रधानमन्त्री बोरिस जोन्सनले बेलायती संसदलाई बदनियतपूर्वक ढाँटेको संसदीय समितिले ठहर गरेको छ ।

संसदीय समितिले बुधबार सार्वजनिक गरेको ३० हजार शब्दको प्रतिवेदनमा जोन्सनले संसद र संसदीय समितिलाई जानाजान गलत जानकारी दिएको निस्कर्ष निकालेको हो ।

जोन्सनलाई ९० दिन संसदबाट निलम्बन गर्न पनि समितिले सिफारिस गरेको छ तर जोन्सनले समितिको सो प्रतिवेदन पाएलगत्तै सांसद पदबाट राजिनामा दिइसकेका छन् ।

समितिले जोन्सनलाई पूर्व सांसदका हैसियतले वेष्टमिन्सटरमा पाउने प्रवेश नदिन पनि सिफारिस गरेको छ । समितिले जोन्सनले समितिलाई तर्साउन खोजेको र अमर्यादित हर्कत गरेको पनि आरोप लगाएको छ ।

जोन्सनले भने प्रतिवेदन जारी भएलगत्तै करिब १७०० शब्द लामो प्रेस विज्ञप्ति निकालेर प्रतिवेदन बिना सबुतको भएको र आफूलाई राजनीतिबाट हटाउने उद्देश्यप्रेरित भएको आरोप लगाएका छन् ।

जोन्सनले कोरोना महामारीका बेला देशभर लकडाउन जारी गरेर आफू भने आफ्नो कार्यालयमा पार्टी गरेको आरोप लागेको थियो । सो बारेमा वरिष्ठ निजामति कर्मचारीको छानविन समितिले उनलाई दोषी देखाएको थियो भने प्रहरीले जरिवाना पनि गरेको थियो ।

सो बारेमा संसदमा कुरा उठेपछि संसदले विभिन्न पार्टीका सांसद रहेको छानबिन समिति गठन गरेको थियो । सो समितिमा सत्तारुढ कन्जरभेटिभका चार, प्रतिपक्षी लेबोरका दुई र स्कटिश न्याशनालिष्ट पार्टीका एक सांसद छन् ।

सो समितिको सिफारिसमाथि अब संसदले निर्णय लिने छ । तथापि जोन्सनले राजिनामा दिइसकेको हुनाले बाँकी सिफारिसमाथि संसदले के गर्ने हो हेर्न बाँकी छ ।

जोन्सन र संसदबीच पहिलेदेखि नै टसल चल्दै आएको छ । ब्रेक्जिटका बारेमा संसदमा बहस चल्दा प्रक्रिया लामो भएको भन्दै उनले संसदनै निलम्बन समेत गरेका थिए तर त्यसलाई अदालतले उल्टाएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री