नेपाली संस्कृति र पहिचान जोगाउन आचार्य बालकृष्णको आग्रह

लन्डन । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन आग्रह गरेका छन् ।
नवौं विश्व योग दिवसको अवसरमा बिहीबार लन्डनको ह्यारोमा आयोजित समारोहलाई सम्बोधन गर्दै पतंजली योगपीठ ट्रष्टका महासचिव आचार्य बालकृष्णले संसारभरि जहाँ रहे पनि आफ्नो पहिचान जोगाउन क्रियाशील रहन आग्रह गरे ।
’बिरुवा उखेले पछि फेरी हुर्कन गाह्रो हुन्छ, प्रवाह टुट्यो भने फेरी जोडिंदैन, त्यसैले जहाँ रहे पनि आफ्नो पहिचान नबिर्सौं भनेर हाम्रो स्वाभिमान अभियान शुरु गरिएको हो,“ उनले भने । उनले जुनसुकै जातजाति, भाषाभाषी भए पनि सबै नेपालीलाई जोडेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए । आचार्य बालकृष्णले योगले शारीरिक र मानसिक रुपमा निरोगी बनाउने मात्रै नभै समाजमा शान्ति र सद्भाव बढाउने भएकाले नियमित रुपमा योग गर्न आग्रह पनि गरे ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो भाषा र संस्कृति जोगाउनु नै आफ्नो पहिचान जोगाउने मन्त्र भएको बताए । संसारभरिका नेपालीहरुलाई सामाजिक र सांस्कृतिक रुपमा जोड्ने हाम्रो स्वाभिमान ट्रष्टको अवधारणा सह्राहनीय रहेको बताउंदै राजदूत आचार्यले एक तपोभूमि, ज्ञान भूमि र ध्यान भूमिको रुपमा रहेको नेपाललाई आध्यात्मिक रुपमा अगाडि बढाउन योगको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए ।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले अहिले पूर्वीय सभ्यताको पुनर्जागरण हुन लागेको र यसमा पतंजली योगपीठ तथा आचार्य बालकृष्णको योगदान सह्राहनीय रहेको बताए । उनले यसबाट पूर्वीय सभ्यता अभ्यास गर्नेहरुलाई मात्रै नभएर पूरै मानव समुदायलाई फाइदा पुग्ने बताए । उनले नेपाली पहिचान र संस्कृति जोगाउन हाम्रो स्वाभिमान ट्रष्ट अरु क्रियाशील रहोस् भन्ने शुभकामना पनि दिए ।
गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले बिरामी भएर उपचार गर्नुभन्दा कसरी स्वस्थ रहने महत्वपूर्ण हुने बताए । ‘आज नेपाल र भारत मात्रै हैन, सारा संसारले योग गरिरहेको छ । ऋषिहरुले तपस्या गरेको पवित्र भूमि नेपाललाई योग र ध्यानको केन्द्र बनाउन सहकार्य गर्न उनले आग्रह पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री