एनआरएनए युकेको नयाँ कार्यसमितिको लागि मनोनयन जुलाई १ मा

लन्डन। सुनिलबाबु खड्का अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ युकेको नयाँ नेतृत्व चयनका लागि जुलाई १ तारिखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेद्वारी दर्ता बिहान ९ बजे देखि दिउसो ३ बजेसम्म अनलाइनमार्फत गर्नुपर्ने छ। 

२३ जुनमा सार्वजनिक गरिएको मतदाता सूचीअनुसार एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि ४ हजार १ सय ८३ जना सदस्यले मतदानामा भाग लिन पाउने छन् । अन्तिम नामावली प्रकाशित भइसकेकाले अब उम्मेदवार मनोनयनको तयारीमा निर्वाचन समिति रहेको प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवी ढकालले जानकारी दिए ।

जुलाई २२ तारिखमा हुन लागेको निर्वाचनका लागि शनिबार जुलाई १ तारिखका दिन उम्मेदवारी दर्ताको समय तोकिएको छ । विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने प्रमुख निर्वाचन आयुक्त ढकालले बताए ।

उम्मेदवारको पहिलो नामावली जुलाई २ तारिख दिउँसो १ बजे प्रकाशित हुने छ भने उम्मेदवारीमाथिको दावी विरोध सोही दिन साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समय ४ जुलाईको १ बजेसम्मलाई तोकिएको छ भने सोही दिन साँझा ५ बजे उम्मेदवारको अन्तिम नावमाली प्रकाशन हुने छ ।

निर्वाचनको मतदान भने जुलाई २२मा बिहान मध्यरातदेखि साँझ ६ बजेसम्म्का लागि तोकिएको छ । मतदाताले अनलाइनमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी, कार्यसमितिमा उम्मेदवार बन्नका लागि निर्वाचन समितिले शुल्क पनि तय गरिसकेको छ । अध्यक्षका लागि १५ सय पाउन्ड निर्धारण गरिएको छ भने उपाध्यक्ष र महासचिवका उम्मेदवारले ११ सय पाउन्ड तिर्नुपर्ने छ । यसैगरी सचिव, कोषाध्यक्ष विभिन्न संयोजकहरुले ८५० पाउन्ड तिर्दा सहकोषाध्यक्षको उम्मेदवार बन्नेले भने ८ सय पाउन्ड तिर्नुपर्ने छ । यस्तै, सदस्य पदमा उम्मेदवार बन्नेले ४५० पाउन्ड तिर्नुपर्ने छ ।

ढकालको संयोजकत्वमा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एवम् पत्रकार विपिन निरौला सदस्य रहेको निर्वाचन समिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री