एनआरएनए यूके अध्यक्ष गाहा आइसीसीविरुद्ध सर्वोच्च जाने 

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर एनआरएनए आइसीसीविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । 

आफू निर्वाचित अध्यक्ष हुँदाहुँदै एनआरएनए आइसिसीले पूर्वाग्रही ढंगबाट हटाइ अर्कैलाई अध्यक्ष बनाएपछि गाहामगरले अपचलन भएको ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स रकम तत्काल फिर्ता उच्च अदालतमा चुनौती दिएका थिए । तर हिजो उच्च अदालतले उनको रिट खारेज गरेपछि गाहामगर सर्वोच्च जाने भएका हुन् ।

‘नेपालको न्यायालय बिक्दैन भन्ने आशा लिएर म सर्वोच्च जान्छु’, गाहामगरले भने, ‘उच्च अदालतको पूर्ण पाठ आउन २० दिन जति लाग्ने रहेछ । त्यसपछि म सर्वोच्च अदालत जानेबारे मेरा कानूनविद्हरुसँग सल्लाह गरिसकेको छु ।’

एनआरएनए पदाधिकारीले पटक-पटक पेशी सारेपछि त्यहाँ चलखेल हुने आशंका आफूलाई पहिल्यै भइसकेको भन्दै अध्यक्ष गाहामगरले यो लडाईं नटुंगिएसम्म पछाडि नहट्ने बताए ।’म आफ्नै खर्चमा उच्च अदालत गएँ, अब सर्वोच्च जान्छु । तर भ्रष्ट एनआरएनका टिकेहरु संस्थाको पैसामा हालीमुहाली गरेका छन्’, उनले आक्रोश पोखे । 

गाहामगरले केही महिनाअघि गैरआवासीय नेपाली संघले आफूलाई गैरकानूनी रुपमा वर्खास्त गरेको भन्दै अध्यक्ष कुल आचार्य, रविना थापा, डा. बद्री केसी, महासचिवद्धय डा. केशव पौडेल, गौरीराज जोशी र गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई प्रतिवादी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

एनआरएनए केन्द्रकै आधिकारिताबारे मुद्दा विचाराधीन रहेकाले उसको निर्देशन आफूमात्र होइन, बेलायतका पञ्जीकृत सदस्यहरुले समेत नमान्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री